धुर्मुस भन्छन : केपी ओलीले त्यो दिन नराम्रोसँग झुक्काए

सिताराम कट्टेल ‘धुर्मुस’

मैले ईन्द्र भण्डारीलाई भनेको थिएँ, ‘आज अध्यक्षले कुन ड्रेस लगाएर हिंड्नु हुन्छ, खबर पाउँ है ।’ दिनभरी कुरें तर कुनै सम्पर्क भएन । साँझ प्रज्ञा भवनमा पुग्दा मनोज दाईले भन्नु भयो, ‘खै, प्रकासले पनि खबर गरेनन् यार ।’ प्रकास अर्थात् प्रचण्डपुत्र प्रकास दहाल । उनलाईपनि ड्रेस कोडको बारेमा सुटुक्क सोधिएको थियो, जवाफ आएनछ ।
आज सिस्नुपानी नेपालको हास्यब्यंग्य देउसी । हामीे तयारीका लागि श्रृंगार कोठातर्फ लाग्यौं । कार्यक्रममा म केपी ओली र मनोज गजुरेल दाजु प्रचण्डको क्यारिकेचर गर्दै थियौं । दर्शकको रुपमा ओली–प्रचण्ड पनि आउने कुरा थियो । पात्र स्वयम् दर्शक बन्ने भएपछि श्रृंगार, पोशाक, आवाजमा झन् मेहेनत गर्नु पर्ने भयो । नेताद्धयको आजको ड्रेस कोडको बारेमा अग्रिम जानकारी लिन खोज्यौं । उहाँहरुका नीजि सचिबहरुले ‘जानकारी दिउँला’ भनेका थिए तर धोका दिए !

दर्शकहरु आउने क्रम चल्दै थियो । हामी आफ्नो तयारीमा थियौं । मैले केपी ओलीले प्राय: लगाउने खैरो कोट, सेतो दौरा-सुरुवाल, कालो टोपी लगाएँ । मनोज दाजु प्रचण्डले लगाउने कालो पेण्ट, सेतो सर्ट, कालै कोट सहित तयार हुनु भयो । ओलीको नीजि सचिबको रुपमा अभियन्ता हेमराज कार्कीलाई जुँगा लगाई दिएर दुरुस्तै बनायौं । प्रचण्ड पुत्र प्रकासको रुपमा खगेन्द्र कार्कीलाई तयार गऱ्यौं । पाठशाला स्कुलका कल्याण कार्की र धनबहादुर कार्कीलाई बडिगार्डका बनाएर मञ्चमा जान रेडी भयौं । आधा घण्टा बाँकी थियो । हलमा केपी-प्रचण्डको आगमन भएको जानकारी आयो ।

 

पर्दाको दाहिने पट्टिबाट मैंले चिहाएर केपी ओलीलाई नियालें, ला, बुढाले त बिताए, अर्कै कपडा पो लाएछन् ! टोपी पनि अर्कै खालको छ !कोटको रंगपनि भिन्नै छ ! स्विटरपनि रातो लगाएछन !  त्यसमाथी आजैचाहीं सर्ट-पैन्ट लगाएछन् ! मनोज दाजु अर्को कुनाबाट हतारिंदै आउनु भयो, ‘प्रचण्डको कोट, पैण्ट, सर्ट केही पनि मिल्दैन, दुबैले रुद्राक्षको मालापनि लगाएका छन् यार !’ संबन्धित पात्र त्यहीं हुनु र उनिहरुको र हाम्रो गेटअप नमिल्नु भनेको क्यारिकेचर असफल हुनु थियो । जम्मा २० मिनेटमा हामीले केही गर्नै पर्दथ्यो ।

 

‘जस्को भेटिन्छ, त्यस्को माग्ने । दिएनन् भने जसरी पनि लिने, पछि क्षमा मागौंला’ भन्दै मनोज दाजु एकातिर दौडिनु भयो । म अर्कोतिर लागें । एकछिनपछि हेमराज कार्कीले ओलीसँग मिल्ने कोट खोजेर ल्याए तर रातो स्विटर कतै भेटिएन ! शो शुरु हुने बेला भयो, स्विटरको छैन ! मेकअप म्यान अमृत मरहठ्ठा दौडंदै आए ।  ज्याकेटको चेन खोल्दै भने, ‘अहो, कस्तो गर्मी भएको !’ मेरो आँखा उनको रातो गन्जीमा पऱ्यो जुन ओलीको स्विटर रुपमा प्रयोग गर्न सकिन्थ्यो । मैलें तान्दै भनें, ‘खै मलाई देउ, शितल हुन्छ ।’ उद्घोषक सरोज घिमिरेले पालो आउन लाग्यो भनेर संकेत गरे, मनोज दाजुको अत्तोपत्तो छैन ।

एकजना अपरिचित रिसाउँदै आए, ‘के हो यो जर्बजस्ती ?’ ‘के भयो काका ?’ मैंले सोधें । ‘उहाँले मेरो कोट लिएर हिंड्नु भयो ।’ एक स्वयम् सेवकले प्रचण्ड सुहाउँदो कोट एकछिन माग्दा नदिएपनि टिपेर हिंडेछन् । हामीले हाम्रो बाध्यात्मक अवस्थाको बारेमा संझाएपछि उनि हाँस्दै फर्किंए, ‘ए, त्यसो भए नक्कली प्रचण्डजीलाई उपहार नै भयो ।’

 

एकछिन पछि मनोज दाजु दुईवटा रुद्राक्षका माला लिएर झुल्किनु भयो । दुबैले माला लगायौं । फेरी पर्दाभित्रबाट हलमा चियायौं । ओली प्रचण्डलाई पुन: नियाल्यौं , आफुलाई हेऱ्यौं । ड्रेसकोड अघिकोभन्दा धेरै हदसम्म मिलेजस्तो लाग्यो । मनोज दाजुले भन्नु भयो, ‘६० प्रतिशत मिल्यो भने त्यसलाई सफल क्यारिकेचर मान्नु पर्छ ।’

यसरी हाम्रा साना दु:खले आर्ज्याको यो प्रहसन तपाईंले यति धेरै मन पराई दिनु भयो कि युट्युबको गजुरियल च्यानलमा मात्रै ३० लाखभन्दा बढिले हेरी सक्नु भएछ । अन्त्य च्यानलमा पनि कति हो कति ! फेसबुक, मोबाईलबाट झन् धेरै शेयर गर्नु भएको छ । संभवत: सबैभन्दा धेरै हेरिएको प्रहसन हुनसक्छ ! यो अपार मायाकालागि हाम्रो तर्फबाट धेरै धेरै धन्यवाद । तपाईंको मुहार र मन हँसाउने हाम्रो अभियान जारी रहनेछ……।

Baju3nErVWw

* गजुरियल डट कम बाट 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here