रंगेहात पक्राउ भए चार जना बलात्कारी 

गएराती ११ बजेतीर सिरहाको लहान बजारबाट एक महिलालाई अपहरण गरी स्कार्पियो गाडीमा लग्दै बलात्कार गर्ने चार जनालाई प्रहरीले  त्रियुगा नगरपालिकाको लालपताबाट  रंगेहात पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेका ती अभियुक्तहरुमा लहान नगरपालिका–७ बस्ने २४ वर्षीय अमित गुप्ता, सोही स्थान बस्ने २५ वर्षीय सन्देश गुप्ता, २५ वर्षीय विवेक साह र सिरहाको मिर्चैया बस्ने २६ वर्षीय नितेशकुमार साह रहेका छन् । गएराति ११ बजेको समयमा लहान बजारमा आँप बेच्ने ३५ वर्षीया एक महिलालाई चारैजनाले अपहरण गरेर गाडीमै बलात्कार गर्दै उदयपुरको त्रियुगा नगरपालिका ल्याउँदै गर्दा पक्राउ गरेको जिप्रका प्रमुख नवराज भट्टले जनाएका छन । बा१४च ६८१७ नंको स्कार्पियो गाडीमा ती महिलालाई निःवस्त्र अवस्थामा ल्याउँदै गरेका बेला प्रहरी चौकी लालपता उदयपुरका गस्ती प्रहरीले उनीहरुले रंगेहात पक्राउ गरेको प्रहरी प्रमुख भट्टले बताए । घटनालगत्तै जिप्रकाबाट घटनास्थलमा पुगेको थप प्रहरीले गाडी, अपराधी र पीडित महिलालाई नियन्त्रणमा लिएको थियो । जिप्रकाले आज पत्रकार सम्मेलन आयोजना गरेर घटनाका बारेमा जानकारी दिएको हो । पीडित महिलाले आफू लहान बजारको आँप व्यापारी भएको, राति खाना खान डेरामा जान लाग्दा चारजना पुरुषले बाटो छेकेर जबर्जस्ती गाडीमा चढाएको र मुखमा पट्टी बाँधिदिएर सबैले पालैपालो बलात्कार गरेको जनाएकी छन । स्वास्थ्य जाँच गराएर अहिले उनलाई महिला प्रहरी एकाइमा सुरक्षित राखिएको छ । उनको स्वास्थ्य अवस्थामा अहिले सुधार भइरहेको पनि प्रहरीले बताएको छ ।  पक्राउ गरिएका चार जनाविरुद्ध आजै जिल्ला अदालतमा म्याद थप गरी अपहरण तथा बलात्कारसम्बन्धी मुद्दा दर्ता गर्ने प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here