बन्दीगृहकी आमा अर्थात इन्दिरा राना मगर

 

इन्दिरा राना मगर फाउण्डर प्रिजनर्स एसिस्टेन्स नेपाल

 

भनिन्छ नि हिलै हिलोको बीचमा नै सुन्दर कमलको फूल फूल्छ । उनका जीवनका पानाहरु पल्टाउदा,पूराना दिनहरु कोट्याउदा लाग्छ उनी पनि हिलोमा नै फूलेकी सुन्दर फूल हुन । अभाव र तनावका बीच हुर्किएकी हुन । जीवनमा धेरै कष्ट सहेकी इन्दिरा राना आज समाजिक कर्ममा दतचित्तपूर्वक होमिएकी छिन । उनको चर्चा छ समाजमा । यत्रतत्र सर्वत्र । उनको त्याग,तपस्या स्वदेशले चिनेन त के भयो ? विदेशीहरुले चिनेका छन र अन्तराष्टिय अवार्ड समेत हात पारिसकेकी छिन । ०७० सालमा बालबालिकाको क्षेत्रमा काम गरेवापत वल्र्ड चिल्ड्रेन अवार्ड हात पारेकी हुन । स्विडेनको महारानीको हातबाट १ लाख अमेरिकी डलरको पुरस्कार पाएर चर्चा कमाएकी रानामगरले उक्त पुरस्कार १ सय ८ देशका करिब ६० हजार विद्यालयले दिएको मतबाट प्राप्त गरेकी थिईन ।

बन्दीगृहको आमाको रुपमा ख्याती कमाएकी इन्दिरालाई पछ्याउदै हामी पुग्यौं उनको आश्रम लोलाङमा जहाँ २० बालबालिका आफैंसँग राखेर तिनको शिक्षा,दिक्षा र पालनपोषण गरिरहेकी छिन । तिनको छहारी बनेकी छिन । यी विशाल हृदयको आमालाई हामीले सोध्यौं तिनको बालापन

फ्ल्यासव्याक
फ्ल्यासव्याकमा पुगिन उनी । झापा जिल्लाको सालबारीको चारआलीको जन्म । त्यो समय थियो नै त्यस्तै बन्ध्याकरण गर्नुलाई पाप मानिन्थ्यो । सायद यसकै प्रतिफल हो दश छोरा,छोरी लगालग जन्मिए । इन्दिराले सुनाईन हामी चार जना अहिले पनि छौं । बाँकी ६ जना बिते । झापाको चारआली जहाँ उनको टाउको लुकाउने छानो थियो । त्यहाँका छिमेकीहरु थिए सतार, बोटेहरु । दश सन्तान भएको परिवारमा हुर्किएकी इन्दिराको बाल्यकाल अभावै अभावका बीचमा बित्यो । बिहान खाए बेलुका के खाँऊ ? बेलुका खाए विहान के खाँऊ ? हात मुख जोड्ने समस्याले सदैव खेद्थ्यो उनको बुवा आमालाई । फाट्टफुट्ट सरकारी स्कूलहरु थिए तर तिनताक छोरीले पढ्ने अवसर कहाँबाट पाउनु ?

अभाव र तनाव

दाजुहरु स्कूल पढ्न जान्थें,हामी (छोरीहरु) सतारहरुसंगै दिनभर माछा मार्न जान्थ्यौं र खेल्ने गर्दथ्यौं । आफ्ना बालापनका निराश र उराठ लाग्दो दिनहरु सम्झदै छिन उनी । आफ्ना दाजु,भाईहरुहरुले पढेको देख्दा उनको मनमा पनि रहर जाग्थ्यो दाजुहरुले झैं स्कूल गएर पढ्ने तर ती रहर र आकाक्षाहरु मनकै कुनामा सीमित रहन्थे । दाजुहरुले सिन्काले धुलोमा क, ख लेखेको देख्दा उनमा पनि दाजुहरुले झैं पढ्ने रहर जाग्थ्यो । तर ती रहरहरु मनकै कुनामा सीमित रहन्थे ।समयक्रम यसरी चल्दै गयो कि उनको जेठो दाजु शिक्षक बनें । त्यो समयमा उनका दाजुका साथीहरु इन्दिराका घरमा आँउथें । र प्रश्न गर्दथे तिमीलाई पढ्न आँउछ ? जवाफमा टाउको हल्लाउथिन । जुन समय उनको दैनिकी मेलापात,घाँस दाउरामा बित्दथ्यो ।
तर मनको कुनामा थियो पढ्ने रहर । आफ्ना रहर पूरा गर्न उनी आफ्ना दाजुसँग ट्यूसन पढ्न आएका विद्यार्थीहरुलाई पढाएको पाठ सुन्थिन,लुकेर । दाजुले उनका विद्यार्थीहरुलाई पढाएको पाठ उनी कन्ठस्थ पार्दथिइन । यद्यपि तिनताक उनलाई आफू गरिब त्यसमा पनि महिला हुनुको हिनताबोधले ग्रष्त पार्दथ्यो । लाग्थ्यो यही दुई कारणले मैले पढ्न पाइन ।

एकैपटक पाँच कक्षामा
समयले कोल्टो फेर्यो वा उनको नियतीले । एकदिन उनको घरमा त्यही विद्यालयका हेडमास्टर आउनु भयो । तिनै हेडमास्र्टर उनका लागि मनोकामना पूरा गरिदिने देवता बनेर । इन्दिराको अध्ययन प्रतिको उच्च लगाव थियो । त्यो सम्भावनालाई तिनै गुरुले पकडिहाले । प्रश्न तेर्साए विद्यालय किन नगएको ? उनी मौन रहिन । मानसपटलमा धुमिल भइसकेका ती पलहरु फेरि एक पटक स्मरण गर्दैछिन इन्दिरा , त्यो मीठो पल चाहेर पनि बिर्सन सक्दिनन् उनी । ती प्राचार्यले उनलाई मेरो देश नेपाल एसियामा पर्दछ भनेर लेख्न लगाए । कहिल्यै विद्यालय नगएकी उनले यो शव्द लेखेर लेखाइदिईन । प्राचार्यले तीनछक खाए । केही हिसाब गर्न दिए त्यसलाई पनि सहज ढंगले मिलाइदिईन इन्दिराले । इन्दिरामा अध्ययनप्रतिको भोक देखेपछि उनै प्राचार्यको सक्रियतामा एकैपटक उनी साथीहरुसँगै पढ्ने गरी कक्षा ५ मा भर्ना भईन ।
पढ्न त थालिन । तर लगाउने गतिलो कपडा थिएन । उनको कपडा देखेर साथीहरु खिसिटिउरी गर्दथे । साथीहरु जति खिसी गर्दथे उनी झन धेरै इख पाल्दथिईन । भन्छन नि, विष नभएको सर्प र ईख नभएको मान्छे काम छैन । साथीहरुको खिसीका वावजुत पनि उनले आफ्नो मेहनतलाई झनै बढाईन र सदैव प्रथम हुने छात्रलाई ३ नम्बरले जितेर उनी प्रथम बनिन । अभाव र चुनौतीका बीच अध्ययनलाई जारी राखिन । आफ्नो पढ्ने इच्छालाई साकार पार्नका लागि उनी मारवाडीका बच्चाहरुलाई पढाएर खर्च जुटाउथिन । शनिवार तथा सार्वजानिक बिदाको दिन मेलापात जान्थिन । यस्तै रितले इन्दिराले एसएलसी उत्र्तीण गरिन । इन्टर लेभलमा उनी साइन्स लिएर अध्ययन गर्न चाहन्थिन तर समस्या थियो उही पैसाको । आइकम अध्ययन गर्नका लागि उनी दमक क्याम्पस पुगिन ।
आफ्नो पढाई साकार पार्न उनी त्यहाँ अर्काको घरमा घास काट्ने, दाउरा काट्ने, सुगुरलाइ चारो हाल्ने लगायतका काम गर्दै आइकम उत्र्तीण गरिन । र इलाममा पुगेर विद्यार्थीहरु पढाउने काम पाइन । त्यतिखेर इलाममा एमाले,काँग्रेसको बलियो पकड थियो । इन्दिरा कुनै दलको झोले थिईनन । बास यहिँ एउटा कारण उनको जागिर गयो । दुख सुख गरी बिकम दोस्रो वर्षको परीक्षा दिएर उनी काठमाण्डौ आइन ।
युर्टन
त्यसैले भनिन्छ,जिन्दगी नियममा होइन संयोगमा चल्दछ । हो,यही संयोगवश उनको भेट राजधानीमा चर्चित साहित्यकार पारिजातसँग भयो । इन्दिरा आज जे छिन र जे हुन त्यो सबै पारिजातकै देन हो । आज पनि उनी आफूमा पारिजातकै हिडिरहेको देख्छिन । यो काठमाडौं खाल्डोमा पनि मनकारीहरु भेटिए । तिनैमध्यका एक मनकारी साथीले उनलाई सिलाइ कम्पनीमा काम लगाइदिए । त्यहाँ उनी लुगामा टाँक लगाउने, आइरन लगाउने काम गर्दथिईन । कमाई दैनिक बीस रुपैया । उनी विकल्पको खोजीमा थिईन । एक दिन कुनै पत्रिकामा बर्गीकृत डिस्प्लेमा आँखा पुगे । त्यहाँ अमृत बोर्डिङ स्कुलमा कामदार माग गरिएको थियो । त्यही विज्ञापनलाई पछ्याउदै उनी अमृत वोर्डिङ स्कुल पुगिन र दरखास्त हालिन । भाग्य नै भनौं उनले त्यहाँ काम गर्ने अवसर पाइन ।

आफ्ना आश्रमका बालबालिकासँग रमाँउदै इन्दिरा

लगाउने गतिलो चप्पल थिएन । न त गतिलो कपडा । फाटेको चप्पल र कपडा लगाएर उनी स्कुल जान्थिन । त्यही क्रममा एकदिन उनलाई पारिजातले आफ्नो कार्यकक्षमा बोलाइन । मेरो लवाइ सबै सोध्नुभयो । नेपाली साहित्यको अमूल्य रत्न पारिजातले उनको लवाई खवाई सबै याद गरिरहेको रहेछिन । त्यो समय पारिजात एमनेष्टी इन्टरनेशनलमा कार्यरत थिईन । अध्यक्ष ऋषिकेश शाह थिए,उपाध्यक्ष थिईन पारिजात । उनै पारिजातले इन्दिरालाई सो संस्थाको सदस्य बनाइदिईन । मानव अधिकारको क्षेत्रमा काम गर्दै आएको एमनेष्टीको सदस्य बनेपछि इन्दिरा पनि जेलहरु जान थालिन । र,त्यहाँको रिपोर्टिङ गर्दथिईन । राजनीतिक आधारमा जेल परेका बन्दीहरुलाई क श्रेणीको खानेकुरा दिइन्थ्यो भने राजनीतिक पहुँच नभएकालाई ख श्रेणी अर्थात सडे,गलेका खानेकुरा दिइन्थ्यो । त्यो देख्दा उनको मन चस्स हुन्थ्यो । अझैं जेलमा आमासँगै बन्दी बनेका नावालक बच्चाहरु देख्दा उनको मन पोल्दथ्यो ।सोही क्रममा उनले विराटनगर, चितवनको जेलहरुमा भ्रमण गरिन । त्यहाँका अवोध बालबालिका देखेपछि उनको मनमा लाग्यो अब म यी अबोध वालवालिकाहरुका लागि काम गर्दछु । सायद पारिजातसँग भेट नभएको हुँदो हो त आज उनलाई यो क्षेत्रमा देख्न पाँइदैनथ्यो ।
शोक र शक्ति 
पारिजातसँग लामो समयको उठबस थियो । पारिजात पनि इन्दिरालाई धेरै माया गर्दथिईन । तर समयक्रमसँगै पारिजातको देह त्याग भयो । जुन समय इन्दिरा धरै भावुक र मर्माहत बनिन । त्यो समय महिलाले लाश बोक्नु हुँदैन भन्ने गरिन्थ्यो उनी पारिजातको लाश बोकिन । त्यो तस्विर त्यतिखेर राष्टिय दैनिकहरुमा छापिए । र मनमनै त्यसै दिन प्रण पनि गरिन पारिजातकै बाटो पछ्याउने ।

सामाजिक कर्मको भोक

इन्दिरा यो बीचमा आफैं सामाजिक कर्ममा होमिसकेको थिईन । युनिसेफसँगको सहकार्यमा बच्चाहरुलाई पढाइदिने लगायतका विषयमा छलफल जारी थियो । सम्झन्छिन त्यतिखेर युनिसेफमा मार्क ओना थिईन डाइरेक्टर उनी जापानी नागरिक । बच्चाहरुलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा उनी पटक पटक भेटघाट गर्दथिईन । तर अग्रेजीमा अलि कमजोर थिईन इन्दिरा । त्यही रहँदा उने अग्रेजी भाषा पनि सिकिन । जीवनका झण्डै दश १० वर्ष एउटै संस्थामा रहेर काम गरिन । उनको सामाजिक काम प्रतिको लगावले चर्चा पाँउदै थियो । विभिन्न संस्थाले उनको सामाजिक कर्मबारे डकुमेन्टी समेत बनाउन थाले । सो डकुमेन्टी बिबीसीले समेत बनायो ।
पिए नेपालको जन्म
एउटा निर्दोष बच्चा विनाकसुर सजाय भोगिरहेको उ विनाकारण जेलको चिसो खाइरहेको होस । यस्तो देख्दा कसको मन नरोला ? कसको मनलाई चोट नपुराउला ? हो २५ वर्ष अगाडि यस्तै घटनाले मन छोएको थियो इन्दिरा राना मगरको । वाल्यअवस्था निकै कठिनरुपमा गुजारेकी इन्दिरालाई भित्रै देखि बालबालिकाको पक्षमा केही गरौँ भन्ने थियो । विना सम्झौता समाज सेवामा लाग्ने उनको इच्छा थियो । पहिलो पटक एउटा अधिकारकर्मीको रुपमा जेल पुगेकी इन्दिरालाई त्यहाँ भित्र रहेका निर्दोष बालबालिकाको अवस्था देखेपछि समाजसेवाले नयाँ रुप लियो । त्यही चोटले जन्मियो प्रिजनर्स एसिस्टेन्स (पिए) नेपाल सन २००० मा । गरिबी अशिक्षाका कारण बालबालिकाहरु अपराधिक कार्यमा लाग्ने गरेको कुरा बुझेपछि उनले बालबालिकाहरुको लागि आवासगृह समेत सञ्चालन गरेकी छन् । पिए नेपालले अहिले नौ वटा चिल्ड्रेन होम सञ्चालन गरिरहेको छ । त्यस्तै जेलमा रहेका बालबालिकाहरुलाई लक्षित गरी दुई वटा विद्यालय सञ्चालन गरेको छ संस्थाले । लोलाङमा २० जना र पिए साँखु चिल्डेन होममा एक सय जना बालबालिका राखेर तिनको शिक्षा,दिक्षा र पालन पोषण गरिरहेकी छिन ।

आफ्ना आश्रमका बच्चाको सरसफाईमा इन्दिरा

त्यहाँ तीन वटा होम सञ्चालनमा छन । यस्का अलवा ११ वटा स्थानमा उनले संस्था खोलेर वालवालिकाहरुका लागि शिक्षा दिक्षा दिइरहेकी छिन । नारायणस्थान कुमारी होममा १२,माला होममा १७,भक्तपुरमा युथ होम १६जना,पाल्पा,पाँचथर,इलाम फिक्कलमा मदर अर्थ होममा ८ जना,झापामा सस्टेनेबल चिल्डेन होम १० बालबालिका राखेर तिनका शिक्षा दिक्षा र पालनपोषण गरिरहेकी छिन ।
उनको संस्थाले पाँच सय जना बालबालिकालाई आश्रममै राखेर र अन्य गृहस्थीमैं रहेका २ सय बालबालिकाहरुको पालन पोषण र शिक्षा दिक्षा गरिरहेकी छिन ।
सायद जीवनमा पारिजातसँग सत्संग नभएको भए इन्दिराको जीवनमा यसरी परिवर्तन पनि नहुँदो हो । उनी पनि स्वीर्काछिन यो तथ्य । पारिजातसँगको सत्सगमा रहँदा इन्दिारले विभिन्न जेलको भ्रमण गर्ने मौका पाइन । त्यहाँ रहँदा पाम नामक संस्थामा काम गरिन । त्यो त्यही समय थियो उक्त संस्थाको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा विवाद चुलिएको थियो । हालसालै आन्तरिक राजस्व विभागको निलम्बित महानिर्देशक चुडामणी शर्मा त्यतिबेला जेलर थिए । जेलभित्रका बालबालिकाका लागि काम गर्दै आएकी इन्दिरालाई जेल भित्र जान समेत दिएनन् । तर जेल भित्र बस्नेले उनलाई प्रवेश दिनुपर्ने भनेर आन्दोलन नै चलाए । पाम नामक संस्थाको विवाद छताछुल्ल भएसँगै उनी पामबाट छुटिन र आफैंले चिल्ड्रेन नेपाल अर्थात पीए नेपाल नामक संस्थाको स्थापना गरिन ः २०५७ सालमा ।
इन्दिराको पहिचान र परिचय नै बनिसकेको थियो कि जेलमा परेका व्यक्तिहरुका लागि काम गर्ने महिलाको रुपमा । यही बीचमा नेपालमा रहेका एनजीओहरुको बारेमा अध्ययन गर्नका लागि केही दातृ निकायहरु नेपालमा सक्रिय रहेछन ।
मनकारीहरु
तिनैमध्यको समूहले जेलमा परेकाहरुका लागि काम गरिरहेको पायो इन्दिरा रानालाई । यो रिपोर्ट डेनिस दुतावाससम्म पुग्यो । र, डेनिस दुतावासले जेलमा रहेका महिलाको हितमा काम गर्नका लागि भन्दै उनैलाई चयन गर्यो । यस पछाडि जेलमा रहेका महिलाहरुलाई सिलाइ,बुनाई सम्बन्धी तालिम दिने, शिक्षा सम्बन्धी तालिम, महिलालाइ आवश्यक पर्ने सामाग्रीहरुको पसल संचालन गर्ने कामहरु सुरु भयो । बीचमा उनी सेन्टिनेन नामक संस्थामा आवद्ध थिईन । त्यहाँ भ्रष्टचारको मुद्धा चुलियो । उनी सो संस्था छाडेर निस्किइन । त्यो संस्थाको जिम्बेवारी समेत उनकै काँधमा आइलाग्यो । सो संस्थामा त्यतिबेला एक सय ५० बालबालिकाहरु थिए । र इन्दिरा नेपाल प्रमुख तोकिइन । सन ००५ मा मैले विश्वव्यापी रुपमा अशोका फेलो भन्ने अमेरिकामा रहेको संस्थाले वितरण गर्ने अवार्ड पाइन । यसको रकम ३ वर्षको लागी मासिक रुपमा ३०० डलरको दरले रकम आउन थाल्यो । यो रकम प्राप्त गरेपछि उनलाई काम गर्न केही सहज भयो । त्यही रकमले पाल्पामा जग्गा किने । अशोका फेलो पाँउदासम्म उनी लैनचौरमा एउटा फ्लाट भाडामा लिएर कार्यलय सञ्चालन गर्दै आएकी थिईन । मनमा लाग्थ्यो, हाम्रै सस्थाको एउटा जग्गा भइदिए हुन्थ्यो । अशोका फेलो प्राप्त भए पछि नै हो सन् ००६ मा साखुमा ३ लाख ५० हजार प्रति रोपनीका दरले ७ रोपनी जग्गा ४ जनाका सहयोगमा खरिद गरिन ।


त्यहाँ उनले मन्तव्य राख्दा बाज्रिलबाट ५०० डलर पठायो । ड्याप र नाफा भन्ने संस्थाले सहयोगको हात बढायो । सिसिएस इटालीले पनि दश लाख सहयोग गर्यो । यसरी सहयोग रकम जुटेपछि साखुमा भवन निर्माण भएको छ । पछिल्लो चरणमा अढाइ रोपनी जग्गा थपिएको छ । यसरी इन्दिराले अहिले विभिन्न ११ वटा चिल्ड्रेन होममा सक्रिय रुपमा काम गरिरहेकी छिन । फिकलमा मात्रै छ चिल्ड्रेन होम छन । इन्दिरा दुखेसो पोख्छिन चिल्डेन होम हेरिदिने मानिस पाउन कठिन छ ।
भगवानले भन्छन तँ आँट म पुर्याउछु । दिनप्रतिदिन इन्दिराको सहयोगीहरु थपिदै छन । देखावटी होइन बास्तविक समाजसेवा गर्ने इन्दिरालाई झापाको खुदुनाबारीका एक दिलदारले २ बिगाह जग्गा किनिदिएकी छिन । उक्त जग्गामा उत्पादन भएको धानले यहाँको बालबालिका सबैलाई खानका लागि अनाज पुग्छ । अहिले झापाको नमुना विद्यालयको रुपमा अगाडि बढ्दै छ ।
पीडा
जब जीवनका धेरै कालखण्ड आफैंसँग बसेर हुर्किएका र बालबच्चा ठूलो भएपछि आफ्नै परिवारसंग जान्छन् । त्यतिबेला इन्दिराको मुटु चुडिए झैं हुन्छ । इन्दिराको अनुभव छ,थोरै मात्रामा वालबच्चाहरु परिवार विहिन छन । त्यस्ता वालबच्चाहरुलाई उनकै थर राखेर नागरिकता लिने गरेकी छिन । कतिपय बच्चाहरु भारतीय मूलका छन । कतिपय बालबालिकाहरु ठूलो भए पछि उल्टै इन्दिरालाई थर्काछन । केहीले अरुको उक्साहटमा लागेर इन्दिरा विरुद्धै वालकल्याणमा मुद्धा समेत हालेको पनि थिए । तर सत्य डग्दैन,झूठ टिक्दैन भनेझैं इन्दिरामाथि झूठो मुद्धा हाल्नेहरु आफैं झूठो साबित भए ।
भावी योजना
आज जेलमा परेकाहरुका समाजिक कर्म गर्ने महिलाको रुपमा सुपरिचित छिन इन्दिरा । उनका जीवनको सिंगो अनुभवले भन्छ जेलका लागि काम गर्नु सबैभन्दा बढी चूनौतीपूर्ण छ । विभिन्न झूठा आरोप र लाच्छनाहरु लाग्ने गर्दछन । तर यस्ता उल्छनबाट उनी बिचलित हुन्नन । त्यसलाई सामना गर्दै काम गर्नुपर्छ । यस प्रकारका चुनौतीहरुलाई चिर्दै उनी उनी निरन्तर र अविचलित ढंगले काम गरिरहेकी छिन । जस्तासुकै बाधा र अड्चनहरुसँग जुधिरहेकी छिन । नेपालको पहिलो माउन्टेन वाइकर्स समेत रहेकी इन्दिराले अगाडि आफ्नो आगामी योजना प्रष्ट पार्दै भन्छिन जसरी हुन्छ बालबच्चाको उज्ववल भविष्य निर्माण गर्न सहयोग गर्ने हो । बालबालिकाहरुलाई पारिवारिक वातावरणमा हुर्काउन आफू सदैव कटिवद्ध रहने इन्दिरा सुनाँउछिन ः ‘मेरो घर भनेकै यही बच्चाहरु हुन,यी बच्चाहरु भनेकै मेरो घर हुन ।’
यी महान मनकारी आमालाई हृदय देखि नै हाम्रो पनि स्यालुट !

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here