नौ स्थानमा इन्धन भण्डारण गरिने

img

नेपाल आयल निगमले तीन महिनासम्मका लागि पेट्रोलियम पदार्थ मौज्दात राख्न पुग्ने गरी नौ स्थानमा इन्धन भण्डारण गृह (डिपो) निर्माण गर्ने भएको छ । निगमले प्रादेशिक संरचनाअनुसार झापा, चितवन, भैरहवा, धादिङ, सर्लाही, दाङ र धनगढीमा ठूलो क्षमताका भण्डारण गृह निर्माण गर्न प्रक्रिया अघि बढाएको हो । यस बाहेक सुदूरपश्चिमको चौरजहारी र तनहुँमा समेत अतिरिक्त भण्डारण गृह निर्माण गर्न लागिएको छ ।

निगमका प्रबन्ध निर्देशक गोपाल खड्काका अनुसार नौवटै स्थानमा निर्माण हुन लागेको भण्डारण गृहको कुल इन्धन (पेट्रोल, डिजेल र मट्टीतेल) मौज्दात गर्न सक्ने क्षमता चार लाख किलोलिटर (४० करोड लिटर) हुनेछ । प्रत्येक भण्डारण गृहको क्षमता करिब ५० हजार लिटर हुनेछ ।

‘नौ स्थानमा भण्डारण गृह निर्माण भएपछि कम्तीमा तीन महिना (९० दिन) लाई इन्धन पुग्ने क्षमता हामीसँग हुन्छ । यो भण्डारण गृह निर्माण भएपछि हडताल, नाकाबन्दी र सडक अवरुद्ध भएर इन्धन आपूर्ति नभए पनि नेपाली उपभोक्तालाई तीन महिनासम्म इन्धनको कुनै अभाव हुँदैन,’ प्रबन्ध निर्देशक खड्काले भने, ‘हाल हामीसँग १० स्थानमा करिब १७ दिनलाई पुग्ने गरी ७१ हजार पाँच सय ५८ किलोलिटर (सात करोड १५ लाख ५८ हजार लिटर) क्षमताको मात्रै भण्डारण गृह छ ।’ निगमसँग हाल पेट्रोल पाँच हजार एक सय ३५, डिजेल ४१ हजार ६ सय १०, मट्टीतेल १६ हजार तीन सय १४ र हवाई इन्धन (एटीएफ) आठ हजार चार सय ९९ किलोलिटर मौज्दात गर्ने क्षमता छ ।

वर्तमान भण्डारण क्षमताबाट डिजेल १५ दिन र पेट्रोल तीन दिनको माग मात्र पूरा गर्दै आएको छ । अहिले काठमाडौं, अमलेखगन्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढी र दिपायलमा भण्डारण गृह छन् । उनका अनुसार पहिलो चरणमा झापा, चितवन, भैरहवा र धादिङमा भण्डारण गृह निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । झापा, चितवनी, भैरहवा र धादिङमामा भण्डारण गृह निर्माण गर्न जग्गा खरिद गर्न निगमले टेन्डरसमेत आह्वान गरिसकेको छ ।

मंसिर र पुस महिनामा निगमले जग्गा खरिदसम्बन्धी टेन्डर आह्वान गरेको हो । निगमका कार्यबाहक नायव प्रबन्ध निर्देशक नागेन्द्र साहका अनुसार भण्डारण गृह निर्माणका लागि तराई क्षेत्रको हकमा २० बिघा र पहाडी क्षेत्रका लागि तीन सय रोपनी जग्गा निगमले खरिद गर्न लागेको छ ।

निगमले राजमार्गदेखि तीन किलोमिटर क्षेत्रभित्रपर्ने पेट्रोलियम ऊर्जाबाट सञ्चालन हुने उद्योग, बाक्लो बस्ती, सार्वजनिक पाटीपौवा नजिकै नभएको तर दोहोरो भारी सवारीसाधन चल्न सक्ने सार्वजनिक सहायक मार्ग नजिकको जग्गा खरिद गर्न टेन्डर आह्वान गरेको छ । जग्गा खरिद प्रक्रिया अघि बढेसँगै निगमले भण्डारण गृहको भौतिक पूर्वाधार निर्माण गर्न डिजाइन तयारपार्ने कन्सलटेन्सीसमेत नियुक्त गरिसकेको छ । ‘भण्डारण गृह निर्माणलाई निकै तीव्रता दिएका छौं’, साहले भने ।

मुलुकभरको माग धान्नसक्ने भण्डारण गृहको क्षमता विस्तार नहुँदा समय समयमा भारतले लगाउने नाकाबन्दी र बन्दहडतालका कारण आम उपभोक्ता इन्धनको अभावमा सास्ती व्यहोर्न बाध्य छन् । पछिल्लोपटक भारतले विभिन्न वहानामा २०७२ असोजदेखि फागुनसम्म गरी करिब ६ महिने नाकाबन्दी गरेको थियो । नाकाबन्दीको नाममा भारतले नेपाललाई इन्धन आपूर्तिमा अवरोध सिर्जना गरेको थियो । यसअघि २०४५ सालमा पनि भारतले १८ महिने नाकाबन्दी लगाएको थियो ।

धादिङमा ग्यास भण्डार गृह

खाना पकाउने ग्यास (एलपीजी) को समस्या सामाधान गर्न निगमले पहिलो चरणमा धादिङमा ग्यासको भण्डार गृह निर्माण गर्ने प्रक्रियालाई अघि बढाएको छ । निगमले तत्कालका लागि धादिङमा १५ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह निर्माण गर्न लागेको हो । ‘ग्यासको भण्डारण गृह निर्माण गर्नका लागि जग्गा खोज्ने काम सुरु गरिसकेका छौं’, निगमका प्रबन्ध निर्देशक खड्काले भने ।

निगमले मुलुकभरका पाँच स्थानमा ३५ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । यसअनुसार १० मेट्रिक टन क्षमताको जनकपुरको महेन्द्रनगरमा, १५ हजार मेट्रिक टन क्षमताको धादिङमा र मेची-कोसी, पश्चिम र र सुदूर पश्चिमको कुनै एक स्थानमा पाँच हजार मेट्रिक टनको भण्डारण गृह निर्माण गरिनेछ ।

निगमसँग हालसम्म ग्यास भण्डारण गर्ने भण्डारगृह छैन । नेपालमा सञ्चालनमा रहेका नीजि क्षेत्रका ५५ वटा बोटलिङ प्लान्टसँग गरी ६ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह छ । यो भण्डार गृहसँग मुलुकभरको मागलाई पाँच दिनसम्म मात्र पुग्ने क्षमता छ ।अन्नपुर्णपाेस्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here