सैनिक गुप्तचरी नौलो र अनौठो विषय होइनः सैनिक प्रवक्ता पौडेल

नेपाली सेनाले गुप्तचरी संयन्त्र विस्तार गर्नु राष्ट्रिय सुरक्षाका दृष्टिले आवश्यक र महत्वपूर्ण काम भएको बताएको छ ।सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रभावकारी सूचना संयन्त्र भएमा राष्ट्रिय सुरक्षामाथिको खतराहरुको आकलन गर्न र त्यसअनुसारको पूर्वतयारी गर्न सकिने बताए ।

शुक्रबार न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले सैनिक गुप्तचरीको विषय सेनाको नियमित काम भएको बताए । ‘सैनिक गुप्तचरी (मेलिटिरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो, अनौठो विषय होइन । प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा गर्ने विषय नै हो’ उनले भने ।
सेनाको भूमिका भनेको राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा आफ्नो भूमिका निर्वाह गर्ने हो जुने संविधानमा स्पष्ट छ, उनले भने । सही र सामयिक सूचना र प्रभावकारी सूचना संयन्त्रको व्यापकता र विशेषताले नै खतराहरूको आंकलन गर्न सैनिक सङ्गठनहरूलाई मद्दत पुग्ने पनि उनले प्रष्ट्याए । दुरगामी प्रकृतिका सुरक्षा चुनौतीहरूलाई मध्यनजर राखेर सूचना संकलन गर्ने कार्य सेनाले गर्दै आएको पनि बताउँदै भने, ‘यदी त्यसमा कमजोरी हुन पुग्यो भने मुलुकले नै क्षति व्यहोर्ने हुनाले सेना सधै सचेत छ ।’
राज्य संयन्त्रभित्र सूचना सङ्कलन गर्ने भिन्दै निकाय रहेकाले किन सेना यसमा अग्रसर बनेको जिज्ञासामा उनी भन्छन्, ‘सबै सङ्गठनको आफ्नो आफ्नो संवैधानिक दायित्व छ र उनीहरूको कार्यको प्रकृति फरक फरक छ ।’ विभिन्न सुरक्षा निकायका अथवा विभिन्‍न सूचना सङ्कलन गर्ने संयन्त्रहरूबीच समन्वय रहन्छ तर सेनाको फरक शैलीको सुचना संयन्त्र छ । जसका कारण सही र सामयिक सूचना अन्तत्वगत्वा सरकारले नै प्राप्त गर्दै आएको छ । सैन्य दृष्टिकोण र सैनिक आवश्यकता पूर्ति गर्नका लागि सङ्कलन गर्ने सूचनाहरू राज्यको दैनिक अथवा नियमित कार्यप्रक्रियाहरूमा आवश्यक नपर्ने पनि बताए । दिर्घकालिन रुपमा उत्पन्न हुन सक्ने सुरक्षा सम्बन्धी खतराहरूलाई मात्र सेनाले सूचना लिने उनले बताए ।

‘सबैले बुझ्‍न पर्ने विषय हो अहिलेको विश्व परिवेशमा सूचना सङ्कलनको महत्वपूर्ण भूमिका हुन्छ । सूचना सङ्कलन सैनिक दृष्टिकोणले मात्रै सिमित रहेको छैन,’ उनले भने, ‘आजभोलि आर्थिक सूचना सङ्कलन पनि एउटा महत्वपूर्ण राष्ट्रिय सुरक्षाको पाटो बनेको छ । सूचना सङ्कलनको प्रक्रियामा ओपन सोर्स इन्टेलिजेन्स अत्याधिक मात्रामा प्रयोग हुन्छ । त्यसको मतलब हामी सबैजना व्यक्तिहरू सूचनाको स्रोत हुनसक्छौं । तर त्यसको अर्थ सबै जना सेनाको लागि अथवा अमुक संस्था विशेषको लागि इन्फर्मर हुन भन्‍ने बुझाई गलत हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here