सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्ला केही महिना यता जब विवाद बढ्दै जान्छ, नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग हुन थाल्छ । उनले कम्तिमा पनि एक पदबाट राजीनामा दिनु पर्ने माग उनकै पार्टीका नेताहरुले उठाउने गरेका छन् ।
बुधबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पहिलो तहका चार जना नेता प्रधानमन्त्री भइसकेकाले अब वामदेवको पालो भएको बताएका हुन् । पहिलो तहमा प्रधानमन्त्री अोली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल रहेका छन् ।
‘म त्याग गर्न तयार छु, भनेकै छु । मलाई अध्यक्ष र प्रधानमन्त्री पदमा टाँसिइरहन लोभ पनि छैन । मैले छाड्छु,’ स्थायी कमिटीका एक सदस्यका अनुसार ओलीको भनाइ थियो, ‘मेरा लागि पद महत्वपूर्ण छैन । तर, त्यसपछि को हुने हो ? हामीमध्ये धेरै प्रधानमन्त्री भइसकेका छौँ । अब नभएकालाई दिऊँ न त । यही साइडमा उपाध्यक्ष वामदेव कमरेड हुनुहुन्छ । चुनाव गरेर हुन्छ कि कसरी हुन्छ, उहाँलाई बनाउँदा पनि भयो ।’ तर, उनले आफ्नो प्रस्तावबारे थप प्रस्ट भने पारेनन् ।