सरकार विरुद्ध काँग्रेसको विरोध प्रदर्शन मनाङमा

नेपाली काँग्रेसले हिजो सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ ।
देशव्यापी विरोध प्रदर्शन गरेको काँग्रेसले बेजोडको शक्ति प्रर्दशन गरेको दावी गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । नेपाली कांग्रेस पार्टीले सञ्चालन गरेको देशब्यापी विरोध प्रदर्शन मनाङमा पनि सम्पन्न गरिएको छ । नेपाली कांग्रेस मनाङका सभापति पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको निर्देशनमा जिल्ला सदरमुकाम चामेमा उक्त कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न गरिएको हो ।
हजारौंका संख्यामा सडकमा निस्कीएका काँग्रेस नेता तथा कार्यकर्ताहरूले सरकारका बिरुद्ध प्रदर्शन गरेका छन् । उनीहरुले नेपाली काँग्रेसको झण्डा बोकेर सरकार बिरोधी नाराहरू लगाएको समाजसेवी तथा यती होटलका सञ्चालक विनोद गुरुङले जानकारी दिएका ।
वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रबृत्ति विरुद्ध जिल्लामा ब्यापक जनमत समेट्न सकिएको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिएका छन् । उनले भने ‘एक्कासौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाट देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने नेपाली कांग्रेस पार्टीको बुझाई छ । आजको प्रदर्शनमा देखिएको जन सहभगिताले यहि कुरा पुष्टि गरेको छ ।’ नेकांको सो विरोध प्रदर्शन कार्यक्रममा जिल्लाका समर्थकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here