नेपाली छोरी सपना बिबिसीको प्रभावशाली १ सय महिलाको सूचीमा

सामाजिक अभियन्ता सपना रोक्का मगर सन् २०१९ को प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छिन्। ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन विविसिले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पनि अटाएकी हुन्।

समाजमा प्रभाव छोड्न सफल महिलाहरुलाई बिबिसीले विभिन्न क्याटेगोरी तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो। जसमध्ये १०० प्रभावशाली महिलाको सूची सार्वजनिक गरिएकोमा नेपाली चेली सपना पनि परेकी हुन् । १८ बर्षे नेपाली छोरी सपनासँगै यो सूचीमा फिनल्याण्डकी प्रधानमन्त्रीदेखि अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस कोभिड विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

एक्सन फर सोसल चेञ्ज नामक सामाजिक संस्थामा आवद्ध रहि कलिलै उमेरमा वेवारिसे लाशहरुको व्यवस्थापन तथा वेवारिसे जीवन बाँचेकाहरुका लागि पुर्नजीवन दिने कर्ममा संस्थाका अध्यक्ष विनयजंग बस्नेतसँग हातेमालो गर्न थालेको दुई बर्ष दिन नबित्दै उनलाई बिबिसीले प्रतिभाशाली महिलाहरुको सूचीमा समावेश गरेको हो ।
सपनाले सो संस्थामा जोडिएको दुई बर्ष नबित्दै झण्डै तीन सय वटा वेवारिसे लाशलाई दागवत्ती दिएर अन्तिम संष्कार गरिसकेकी छिन् ।

यस्तो छ सपनाको विगत
१७ वर्षे किशोरीसँग के हुन्छ सपना ? ब्वाइफ्रेण्ड बनाउने । हाँस्ने, खेल्ने, जिस्कने र मस्ती गर्ने १ यही मस्तीका कारण जिन्दगीले दियो ठक्कर । र, त्यही ठक्करले युटर्न भयो जीवनको नक्सा ।
किशोरवयको लयमा अघि बढ्दासम्म परिचित थिइनन् दुःख, अभाव र तनावसँग । यी कुन चरीका नाम हुन्, पत्तै भएन । जसै बुबाआमाको प्यारो काख र लाडप्यारबाट अलिकति उछिट्टिएर अलि पर शहरमा पुगिन् । त्यही शहरले दियो चोट, सिकायो संघर्ष, चिनायो मान्छे । र, आज बदलिँदै छ पहिचान ।
नाम सपना राना मगर । जन्म म्याग्दीको मंगला गाउँमा । एसएलसी तहसम्मको शिक्षा पार गरिन् ०७३ सालमा गाउँकै महेन्द्र रत्न उच्चमाविबाट । मनभरि सपना र झोलाभरि भविष्य बोकेर ११ कक्षा पढ्न बेनी बजार झरिन् । पढ्नु थियो । केही बन्नु थियो । तर, के बन्ने टुंगो थिएन । बेनी बजार–सपनाका सपनाहरू थिए, हजार । तर, बेनी कहाँ थियो, मंगला गाउँजस्तो । अपरिचित ठाउँ, अपरिचित मान्छे । फरासिली स्वभावकी सपनालाई त्यो अपरिचित ठाउँलाई परिचित बनाउन र त्यहाँका अपरिचित अनुहारहरूसँग परिचय गर्न धेरै समय लागेन । धेरै साथी बने । मान्छे केही न केही कमजोरीसहित बनेको प्राणी । उनमा पनि कमजोरी थियो अरूको दुःख देख्नै नसक्ने । सहयोग गरिहाल्नुपर्ने । कतिपय साथीले आफ्नो दुःख देखाउँदा मैनझैं पग्लिहाल्थिन् र सहयोग गर्न आतुर बन्थिन् । तर, मान्छे बन्ने पनि साथैले हो अनि बिग्रने पनि । कक्षा ११ को अन्तिम दिनतिर पुग्दासम्म कलेज पढ्ने युवकसँग दोस्ती नजिकियो । मनको नेटवर्क जुध्दै जाँदा कतिखेर मनसँग मन साटियो भेउ नै पाइनन् । कच्चा उमेर के सही के गलत रु खुट्ट्याउन सकिनन् । मायाको डुंगा चढ्दै जाँदा त्यो ठाउँ सरेर बुटवल पुगिन् तिनै युवकसँग । तर, शरीरसँग मात्र नजिकिएका ती युवकसँग सम्बन्ध टिक्न सकेन । र, पुरानै ठाउँ बेनी फर्किइन्, उदास मन लिएर । जहाँ आँखा खोले पनि दुख्थ्यो, आँखा चिम्ले पनि दुख्थ्यो । पीडा र छटपटीमा बित्न थाले दिनहरू । समय कटाउनै मुस्किल हुन थाल्यो । निराशाको ग्राफ यसरी चुलिँदै थियो कि इहलीला नै समाप्त पारिदिऊँ झैं हुन थाल्यो ।
त्यही समय, साथी संगी, चिनजानकाहरूले बुबाआमा र आफन्तका कानमा अनेकथरी बुट्टा भरेर खबर सुनाए । भन्छन् नि सबसे बडा हें रोग क्या कहेंगे लोक । यस्तै भयो उनको जीवनमा पनि । सपना बिग्री भन्ने हल्लाले म्याग्दीको मंगला गाउँदेखि बेनी बजारसम्म तरंगित भयो । आफैँले जानी नजानी गरेका गल्तीका कारण शिर ठाडो पार्न सक्ने अवस्थामा थिइनन् उनी । समाजको टोकसो, लाञ्छना मुटुमा रोपिन्थ्यो तीखो तीरझैं । प्रतिदिन कमजोर हुँदै गइरहेकी थिइन् । मनको कुनामा डर थियो, अब म समाजबाट बहिष्कृत भएँ । यही पीडाले घोच्थ्यो तारन्तार ।

जाने कहाँ टुंगो थिएन । घर फर्केर जान सक्ने अवस्था रहेन । आफन्तको सहारा खोजेर जान पनि सकिनन् । अन्ततः एक सम्पन्न बाबुआमाको छोरी नचाहेरै सडकमा झरिन् । सडकलाई नै आश्रय बनाइन् । सडक बालबालिकाहरूसँगै आश्रय लिएर दिन कटाउन थालिन् । तर, त्यो सडकमा पनि लामो समय टिक्न सकिनन् । निराशाको चरमचुलीमै डुबुल्की मारिरहेको बेलामा अलिकति मनमा हिम्मत भरिन् र म्याग्दी फर्किइन् । मनमा डर थियो अब बुबा–आमाले अस्वीकार गर्छन् । तर, त्यो त मनको डर मात्र रहेछ । आखिर बुबाआमाको मन न हो । उनलाई देखेपछि पग्लिहाल्यो हिउँझैं । केही गाली त खाइन् । ती युवकसँग पाएको चोटलाई शक्तिमा बदलेर देखाउनु थियो । केही गर्नु थियो । केही बन्नु थियो । घरमा रहँदा बुबाआमाको निस्वार्थ माया प्रेमले आत्मविश्वास बढ्दै गयो । आमाको मन जितिन् र यसपटक म्याग्दीबाट पोखरातिर हान्निइन् बाँकी अध्ययन पूरा गर्न । त्यहाँ ग्यालेक्सी कलेज भर्ना भइन् । यसपटक मन बरालिन दिइनन् । हकारिन् आफ्नै मनलाई । बरु मिहिनेत दोब्बर पारिन् । अध्ययनमै एकाग्र बन्न थालिन् र १२ कक्षा उत्तीर्ण गरिन्, राम्रो अंक ल्याएर । एक मन त थियो यहाँ बसेर केही हुन्न । भाषा अध्ययन गरुँ र उडुँ विदेशतिर ।
फेरि युर्टन लियो जिन्दगीले । आमाको सल्लाह मानेर पोखराबाट राजधानी खाल्डो भित्रिइन् । पोखरामा रहँदै विनयजंग बस्नेत ९बेवारिस लाश पोल्ने व्यक्ति० बारे सुनेकी थिइन् । सोध्दै खोज्दै एक दिन पुगिन् विनयजंगको महालक्ष्मी नगरपालिकास्थित चाँगाथली निवासमा । श्रीमती र छोरीले छाडेर गएका, बुबा आमा दुवै बितेका विनय संसारमा एक्ला छन् । बेवारिसेका लाश पोल्नैका लागि बुबाआमाद्वारा आर्जित पुख्र्यौली घर बैंकमा राखेर ऋण लिएका छन् । त्यही पैसाले बेवारिस लाशको दाहसंस्कार गर्छन् । एउटा लाश पोल्न मात्र झण्डै १० हजार खर्च हुन्छ । यो ६ वर्षको दौरान विनयले २७५ लाशको सदगद् गरिसकेका छन् ।

राज्यले गर्नुपर्ने काम विनय एक्लै गरिरहेछन् आफ्नो पुर्ख्यौली घर बन्धकी राखेर । थाहा छैन विनयलाई पनि आज वा भोलि नै बैंकले त्यो घर कर्लप्प पार्छ । हो, त्यही घरमा आश्रय लिन पुगिन् सपना । जतिखेर विनय आफैं दुव्र्यसनमा थिए त्यही समय हो उनले श्रीमती र छोरीको प्यार गुमाएको । छोरी उमेरकी र छोरीजस्तै सपना अहिले विनयसँग हातेमालो गर्न आइपुगेकी छन् । सपनाले एक दिन विनयसँग प्रस्ताव गरिन्, म पनि तपाईंजस्तै काम गर्छु । विनयले इन्कार गरिरहे । भन्छन् नि राजहठ, नारीहठ, बालहठको अघि कसैको केही जोर चल्दैन । विनयले हारे र जितिन् सपनाले । यो ५ महिनाको अवधिमा सपनाका आफ्नै कलिला हातहरूले ३८ बेवारिस शवलाई दागबत्ती दिइसकेका छन् । घरबाट ब्याचलर तहको शिक्षा लिन राजधानी झरेकी सपनाको सपना मात्र होइन, गन्तव्य पनि बदलिएको छ ।

जीवनमा कहिले सोच्दै नसोचेको ठाउँमा आइपुगेकी छन् उनी । अपरिचितका शवमा दागबत्ती दिँदादिँदै जिन्दगीको अर्थ खोज्दै छिन् । विनय अहिलेसम्म एक्ला थिए यो यात्रामा । उनले बेवारिस शवमा दागबत्ती दिएको हेर्ने रमितेको भीडमा उनीसँगै यो मिसनमा हेलिन आइपुगेकी छन् सपना । अब विनयलाई कुनै चिन्ता छैन आफ्नो सेखपछि यो अभियान अस्ताउने हो कि भन्ने रु यो अभियान अहिले २३ जिल्लामा फैलिसकेको छ । र, उनीसँग छोरी छिन् सपना । आफ्नै कोखबाट नजिन्मिएर के भो रु रगतको नाताभन्दा भावनाको नाता गाढा भन्छन् । त्यही भावनाको भेलसँगै विनयसँग एउटै अभियानमा सहभागी हुँदै छिन् सपना । उनले लकडाउन अवधिभर कोही नभएका र सडकमा खान नपाएर छटपटिएका सयौं भोकालाई दुई छाकै तातो र ताजा खाना खुवाइन् । सडक मानवमुक्त बनाउँछौं भनेर काठमाडौं महानगरबाट करोडौं रकम चप्काउने गोविन्द टण्डनहरूको संस्था यो अवधिमा सडकमा कतै देखिएन । तर, उनीहरू ऋणै गरेर भए पनि बेवारिसलाई खुवाउन पियाउने अभियानमा सक्रिय रहे । आखिर समय नै त हो बलवान । यो अभियानमा होमिएपछि सपनालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन भएको छ । कुनै समय उनलाई हेय र घृणाको दृष्टिले हेर्ने म्याग्दीको मंगला गाउँका मान्छेहरू । जसै एक्सन फर सोसल चेञ्जको यो अभियानलाई लिएर उनी गाउँ पुगिन्, हाइहाइको पात्र बनिन् । प्रफुल्ल मनसहित राजधानी फर्किएर पूर्ववत् क्रममा सक्रिय छिन् सपना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here