बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि आन्तरिक राजस्व विभागले कारबाही प्रक्रिया अघि बढाएको छ ।

खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर विद्यमान ऐन र मापदण्डविपरीत उत्पादन गरी बिक्री गरेको भन्दै कारबाहीका लागि चौतर्फी दबाब आएपछि अहिले आन्तरिक राजस्व विभाग कारबाही गर्न अघि बढेको हो । अहिले विभागलाई चेकजाँच विना स्वीकृति दिएको र सरकारी निकायकै कर्मचारीको मिलेमतोमा गुणस्तरहीन बियर उत्पादन गरी महँगोमा बिक्री गर्दै आएको आरोपसमेत लगाइएको छ । गोर्खा ब्रुअरीद्वारा उत्पादित यस्ता बियर मापदण्डविपरीत र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने खालको भएपछि अहिले विभागले यस्ता बियर बजारमा पठाउन र बिक्री वितरण गर्न समेत रोक लगाएको छ ।

विभागले वर्गीकरणमार्फत हाल यस्ता बियरलाई ‘लोकल रक्सी’ को सूचीमा राखेको छ । सरकारी निकायकै केही कर्मचारीको मिलेमतोमा गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी धन्दा सञ्चालन गर्दै आएको र सो कम्पनीमाथि व्यापक अनुसन्धान हुनुपर्ने सम्बन्धित सरोकारवालाको माग छ । यस्ता बियरमा जौको मात्रा ५० प्रतिशत हुनैपर्ने प्रावधान छ । तर, गोर्खा ब्रुअरीले बियरमा जौको सट्टा कमसल खालको कनिका प्रयोग गरी महँगोमा बिक्री गर्दै उपभोक्तालाई ठगिरहेको पाइएको छ ।

गोर्खा ब्रुअरीले उत्पादन गरेको बियर गुणस्तरहीन भएकाले त्यस्ता बियरको प्रयोगले मावन स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको दाबी छ ।

गोर्खा ब्रुअरीले गुणस्तरहीन बियर उत्पादन गरेर सर्वसाधारणलाई झुक्याउने काम गरेको छ । यो उसको ठूलो बदमासी भएको भन्दै अहिले आम उपभोक्ताले सरकारी निकाय यस सम्बन्धमा कडा रूपले प्रस्तुत हुनुपर्ने दबाब दिइरहेका छन् । गोर्खा ब्रुअरीमाथि लागेको आरोपका सम्बन्धमा धेरै पटक सो कम्पनीमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । उसले अहिले कानुनी रूपमा बच्न आफूले अनेक बहानाबाजी गरिरहेको छ ।

लकडाउनका बेला अनुुगमन नहुने र दसैं–तिहारको समयमा अकुुत नाफा कमाउन कम्पनीले मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै आएको उपभोक्ता अधिकारकर्मीको दाबी छ ।

अन्तःशुल्क लाग्ने मदिरा, चुरोट एवं सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्रवालाले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा छ । गोर्खा ब्रुअरीको बदमासी पछि आन्तरिक राजस्व विभागले एक साता कम्पनी नै बन्द गराएर अध्ययन गरे पनि अझै कारबाही नभएको आम उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको गुनासो छ ।

आन्तरिक राजस्व विभागले गोर्खा ब्रुअरीको उत्पादनमा माल्टभन्दा कनिकाको मात्रा बढी भएको विषयमा अहिले भन्सार विभागसँग मिलेर अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाएको छ । जसका कारण गोर्खाद्वारा उत्पादित करिब ४ लाख ३७ हजार बक्स बियर कम्पनीकै गोदाममा थन्किएको छ । आन्तरिक राजस्व विभागले कुनै पनि हालतमा गोर्खा ब्रुअरीले सरकारलाई बुझाउनुपर्ने जरिमाना नतिरेसम्म बिक्री वितरणका लागि पठाउन नदिने बताउँदै आएको छ ।

अनुसन्धानको क्रममा मापदण्डविपरीत उत्पादन भएको भेटिएपछि विभागले कमसल खालको दर्जामा पर्ने गरी नयाँ अन्तःशुल्क निर्धारण गरिदिएको थियो । आन्तरिक राजस्व ऐनले जौबाट बनेको बियरमा अहिले प्रतिलिटर अन्तःशुल्क १ सय ६५ रुपैयाँ निर्धारण गरेको छ ।

गोर्खा ब्रुअरीले जौबाट बनेको बियर भन्दै प्रतिलिटर १६५ रुपैयाँ नै तिर्न खोजेपछि आन्तरिक राजस्व विभाग कडा कारबाहीमा उत्रेको हो । मापदण्ड विपरीत उत्पादन भएको पाइएपछि कारबाहीस्वरूप ४ सय ३० रुपैयाँ कायम गरिएको विभागले जनाएको छ । माल्ट ५० प्रतिशत भन्दा कम भएपछि ऐनअनुसार प्रतिलिटर ४ सय ३० रुपैयाँ तिर्नुुपर्ने विभागले जनाएको छ ।

विभागले गोर्खा ब्रुअरीका केही ब्रान्डमा देखिएको गुणस्तरसम्बन्धी कमजोरीबारे कडा कारबाही हुने बताएको छ । हाल अनुसन्धान कार्य जारी रहेको विभागको भनाइ छ ।

बियरको रेसिपीमा ५० प्रतिशतभन्दा बढी कनिका भेटिएपछि विभागले बियरको अन्तःशुल्क नभई अन्य सरहको अन्तःशुल्क तिर्न गोर्खा ब्रुअरीलाई निर्देशन समेत दिएको छ । विभागले प्रशोधित जौको मात्र बढी हुनुपर्नेमा लोकल रक्सी बनाउने शैलीमा कनिकाको मात्रा बढी प्रयोग गरेको भन्दै यसलाई बियरको मान्यता समेत नदिएको दाबी गरेको छ । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here