बिदामा जिल्ला नछाड्न सीडीओ र सुरक्षा निकाय प्रमुखलाई गृहको निर्देशन

गृह मन्त्रालयले नजिकिँदो दसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने निष्कर्ष निकालेको छ।

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिंदै गृहले यसपटक चाडपर्व बिदामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकाय प्रमुखलाई जिल्ला नछाड्नसमेत निर्देशन दिइसकेको छ।

“निकट रहेको बडादसैं, तिहार, छठ, नेपाल सम्वत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्न जाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दसैं बिदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपचायहरू अवलम्बन गर्नरगराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ,” गृहद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ।

कोभिड-१९ को संक्रमण नेपालमा तिव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौति थपिएको भन्दै मन्त्रालयले यस्तो निर्देशन गरेको हो। चाडपर्वमा मानिसहरूको आवतजावत बढ्ने हुँदा संक्रमण थप बढ्न सक्ने जोखिम रहेको मन्त्रालयको आँकलन छ। यसका साथै मन्त्रालयले आम नागरिकमा पनि आफू भएकै स्थानमा दसैँ मनाउन आग्रह गरेको छ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पनि पालना गर्न मन्त्रालयको अनुरोध छ।

यस्तै चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई लागू गरिएको समेत मन्त्रालयले बताएको छ। झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन गर्न नदिने मन्त्रालयको भनाइ छ। कालो बजारी नियन्त्रण गर्न बजार अनुगमन गर्न समेत मातहतका निकायमा निर्देशन भइसकेको मन्त्रालयले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here