लोक सेवा आयोगले कोरोनाका कारण रोकिएका परीक्षाहरु कात्तिकबाट पुनः सञ्चालन गर्ने भएको छ। आयोगले प्रथम चरणको लिखित परीक्षा सञ्चालन भइसके पनि दोस्रो चरणको रोकिएका परीक्षा पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
आयोगले सोमबार सूचना जारी गर्दै कात्तिक १६ देखि हुने भनिएका सम्पूर्ण लिखित परीक्षाका कार्यक्रम कात्तिक ३ गतेको निर्णय बमोजिम अर्को सूचना प्रकाशित नभएसम्मका लागि हाललाई स्थगित गरेको व्यहोरा जानकारी गराएको छ ।
कोरोनाभाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगले जनाएको छ।
यसअघि आयोगले कोरोना संक्रमण भएका उम्मेदवारलाई लिखित परीक्षा सहभागी हुन नपाउने गरी निर्देशिका जारी गरेको थियो। उक्त निर्देशिका उजुरी परेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिँदै संक्रमितलाई पनि परीक्षामा सहभागी गराउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो। गत चैतमा हुनु पर्ने राजपत्रांकित तृतीय श्रेणीको लगायत लिखित परीक्षा हुन बाँकी छ।