दसैंको आर्शिवादको रहस्य

नेपालीहरुको महानपर्व विजयादशमीको दिन दिइने संस्कृतका श्लोकहरु प्रतिकात्मक रुपमा पौराणिक पात्रहरुलाई आदर्श पात्र मानेर दिइएको आशिर्वादहरु हुन् । आशीर्वाद दिने व्यक्तिले स्पष्टसँग उच्चाहरण गर्ने हो भने सामान्य रुपले पौराणिक पात्रहरुको बारेमा जानकारी भएका व्यक्तिलाई यो श्लोक त्यति कठिन छैन । तर, यसले बोकेको भाव भने निकै ठूलो मान्न सकिन्छ ।

यसरी संस्कृत अध्ययन नगरेकाहरुले दिईने आशीर्वाद अर्थ धेरैलाई जनकारी नहुँदा धेरैले अशुद्ध समेत उच्चाहरण गर्नसक्ने विषयलाई केन्द्रीत गर्दै हामीले तल दसैंमा सर्वव्यापी रुपमा प्रयोग हुने आशीर्वादको श्लोक र अर्थ प्रस्तुत गरेका छौ।

श्लोक

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे।।

अर्थ

आयु द्रोण सुते – द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घ आयु होस् ।

६४ कलाका जानकार अश्वत्थामा अष्ट चिरञ्जीवीमध्येका एक हुन् । उनको जस्तै आयु होस् भन्ने प्रतिकात्मक अर्थले सार्थक र चिर आयुको कामना यो पहिलो श्लोकमा गरिएको छ ।

श्रेयं दशरथे – दशरथ राजाको जस्तो मान सम्मान फैलिइ रहोस् ।

दशरथ राजा अयोध्याका एक सूर्यवंशी राजा एवं भगवान श्रीरामका पिता थिए । आफ्नो यश र कीर्तिका कारण पूरा पृथ्वीमा चर्चित रहेकोले उनको श्रेयलाई आदर्शको रुपमा मान्ने गरिन्छ ।

शत्रु क्षेयं राधवे – शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस् ।

ऐश्वर्यं नहुषे – नहुष राजाको जस्तो ऐश्वर्य बनिरहोस् ।

नहुष पृथ्वी र स्वर्ग दुवैको एकैचोटि भोग गर्ने अवसर पाएका राजा हुन् । पौराणिक कहानी अनुसार भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भए । ब्रह्माजीबाट अत्रि, अत्रिबाट चन्द्रमा, चन्द्रमाबाट बुध र बुधबाट पुरूरवाको जन्म भयो । पुरूरवाबाट आयु, आयुबाट राजा नहुषको जन्म भएको थियो । पृथ्वीको भोग गरिरहेका नहुष वृत्तासुरको वधका कारण इन्द्रले ब्रह्महत्याको दोष हटाउन कैलाशमा तपस्या गर्न गएको बेलामा स्वर्गको समेत राजा भएका थिए ।

गतिश्च पवने – हावाको जस्तो तीब्र गति होस् ।

मानं च दुर्योधने – दुर्योधनको जस्तो मान प्रतिष्ठा होस् ।

दुर्योधन महाभारतका एक अभिमानी पात्र हुन् ।

शौर्य‌ं शान्त नभे – आकाश जस्तो शान्त र पराक्रमी होस् ।

बलं हलधरे – बलरामको जस्तो बल होस्।

बलभद्र या बलराम श्री कृष्णका सौतेनी दाइ थिए। जो रोहिणीको गर्भबाट उत्पन्न भएका थिए । बलराम, हलधर, हलायुध, संकर्षण आदि अनेक नामले यिनलाई चिन्न सकिन्छ ।

सत्यं च कुन्तीसुते – कुन्ती पुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्।

युधिस्ठिर महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका जेठा भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनलाई सत्य, निस्ठा तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ ।

विज्ञानं विदुरे – विदुरको जस्तो विज्ञान होस् ।

विदुर कौरव र पाण्डवका काका र धृतराष्ट्र एवं पाण्डुका भाइ थिए। तिनको जन्म एक दासीको गर्भदेखि भएको थियो। विदुरलाई धर्मराजको अवतार पनि मानिन्छ ।

कृतिश्च नारायणे( नारायणको जस्तो कृति होस् ।

भगवान नारायणको अवतारै अवतारका कारण उनी भगवानहरुमध्ये पनि कीर्तिमय भगवान मानिन्छन् ।

वडा दशैंका दिन घरका मूलि अर्थात जेठो सदस्यको हातबाट बाँकी सदस्यले टिका ग्रहण गर्दछन् । त्यसपछि टिका थाप्न आएका आफन्त, पाहुना, कुटुम्ब तथा इस्टमित्रहरुलाई क्रमैसंग टिका लगाईदिने र आफू पनि मान्नुपर्ने मान्यजन् कुटुम्बकहाँ गएर टिका थाप्ने चलन रहेको छ । मान्यजन सहित चेलिबेटी, ज्वाँईचेलालाई गच्छे अनुसारको दक्षिणा दिइन्छ । दशैंको टिका थाप्न टाढाटाढा रहेका विछोडिएका घर परिवारका सदस्य र आफन्तहरु घरमा भेला हुने हुँदा यस चाडलाई भेटघाट र मिलनको सुखद् अवसरका रुपमा पनि लिइन्छ । विदेशमा रहेकाहरू समेत दशैंमा मान्यजनका हातबाट टिका थाप्न घर पुग्दछन् । दशैंको मर्म भनेकै मान्यजनप्रतिको श्रद्धा र आत्मियताको सम्मान पनि हो । दशैंमा केहि नहुनेले पनि भरसक नयाँ लुगा लगाउने र जोहो गरेरै भएपनि मिठो मसिनो खाने चलन छ । दशैंका बेला रातो टिका लगाएर टाउको र कानमा पहेंला जमरा सिउरिएर हिंड्ने मानिसको भिड साँच्चै रमाइलो देखिन्छ । नेपाल बहुजाती बहुभाषीको देश भएकोले यहाँ ठाउँ अनुसार फरक(फरक रुपमा चाडवाडहरु मनाईन्छन् । केहि मिल्दाजुल्दा र केहि फरक संस्कारका साथ चाडवाड मनाइन्छन् । नेपाली परम्परामा दशैंको टीका दशमी तिथीदेखि पूर्णिमासम्म पाँच दिन लगाइन्छ । यसको कारणचैं टाढा रहेका आफन्तहरुले समेत टिका लगाउने अवसर पाउन भन्ने हो । तर पश्चिमी नेपालमा भने विजया दशमीको टिका दशमीका दिनमात्रै लगाउने प्रचलन रहेको छ ।

आज विजयको प्रतिक स्वरुप घरमा राखिएका खड्गहरु निकालेर प्रदर्शन गरिन्छ । काठमाडौं उपत्यकामा पचली भैरव र अस्टमात्रिकाको नृत्य देखाइन्छ । विजया दशमीका दिन टिका र जमराले फुलपातीमा लगाईएको रोटे पिङ र लिङ्गे पिङको पूजा गरेपछि मात्रै खेलिन्छ । दशैंमा हरेक हिन्दु धर्मावलम्बीहरुको सवैभन्दा ठुलो चाड भएकाले घर छोडी जहाँ जुन अवस्थामा रहेको भएपनि घर फर्किने चलन रहेको छ । यसैगरी नेपाल सहित भारतमा पनि दशैं मनाईंदै आएको छ । पश्चिम बंगालमा दशैंमा दुर्गा पूजा गर्दै विशेष रुपमा मनाइन्छ । दुर्गा भवानीलाई भव्य सुशोभित पण्डालहरुमा सजाइन्छ । विजया दशमीका दिन पूजाको आयोजना गरि प्रसाद वितरण गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here