घान्द्रुकमा मंसिर पहिलो हप्तासम्म पर्यटकलाई प्रवेश निषेध

कास्कीको सुन्दर पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकहरुलाई प्रवेश निषेध गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै पर्यटन व्यवस्थापन समिति घान्द्रुकले मंसिरको पहिलो हप्तासम्म पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय गरेको हो ।

पर्यटन व्यवस्थापन समिति घान्द्रुकका अध्यक्ष किसम गुरूङले आगामी मंसिर पहिलो हप्तासम्म आन्तरिक र बाह्य सबै पर्यटकहरुलाई प्रवेश नगराउने निर्णय भएको जानकारी दिए । उनका अनुसार सो अबधिसम्म सबै होटल र लजहरू पनि बन्द रहने छन् ।
‘हामी मावली, ससुराली पनि टीका थाप्न नजाने,’ समितिका अध्यक्ष किसम गुरुङले भने, ‘भान्जाभान्जी, छोरीज्वाइँ कसैलाई पनि नआउन भनिएको छ ।’ बिरामी र अन्य अत्यावश्यक कामबाहेक पोखरासमेत नजाने बैठकको निर्णय छ । अध्यक्ष गुरुङका अनुसार समितिको निर्णयलाई घान्द्रुकका सबै टोलमा पुगेर जानकारी गराउने अभियान थालिसकिएको छ । बिहीबारमात्रै दुई टोलमा यो अभियान सकिएको छ । ‘घान्द्रुकमा अहिलेसम्म कोरोना छैन,’ उनले भने, ‘बाहिरी व्यक्ति (आफन्त र इष्टमित्रसमेत) लाई प्रवेश दिइयो भने फैलने डर भयो । त्यसैले रोक लगाउन यस्तो निर्णय गरेका हौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here