राजेश हमाल विवादमा, हिन्दू समर्थकले जलाए हमालको पुत्ला, मौनतामा अल्झिए

नेपाली फिल्मका चर्चित अभिनेता राजेश हमालले सञ्चालन गर्दै आएको ‘जातको प्रश्न’ नामक कार्यक्रम विवादमा तानिएको छ । क्रिश्चियनको लगानीमा हिन्दूत्वमाथि प्रहार भएको भन्दै हिन्दू समर्थकहरुले सोमवार अभिनेता हमालको पुत्ला (फोटो) दहन गरेका छन् । राष्ट्रिय एकता अभियानको अगुवाईमा काठमाडौंको भिमसेन गोलामा हिन्दू समर्थकहरुले हमालको पुत्ला जलाएका हुन् ।

नेपाली समाजमा वर्षौंदेखि जरा गाँडेर बसेको जातीय विभेद र छुवाछुत अन्त्यका लागि समता फाउण्डेसनले कान्तिपुर टेलिभिजनबाट प्रशारण गर्दै आएको कार्यक्रम ‘जातका प्रश्न’ मा ‘क्रिश्चियन एड नेपाल’ को लगानी छ । क्रिस्चियनको लगानीमा निर्माण भएको कार्यक्रममा हिन्दुहरुलाई बदनाम गर्ने काम भएको भन्दै हिन्दू समर्थकहरुले हमालको विरोध गरेका हुन् ।

८० प्रतिशतभन्दा बढी हिन्दूहरुको बसोबास रहेको नेपालमा उनीहरुलाई नै बदनाम गर्ने गरी सुरु भएको कार्यक्रम तत्काल बन्द गर्नुपर्ने हिन्दू समर्थकहरुको माग रहेको छ । हमाललाई उनका शुभचिन्तकहरुले ‘पहिले बुझेर मात्र कार्यक्रम चलाउनुपर्थ्यो’ भन्दै कमेन्ट गरेको देखिन्छ ।

हिन्दू धर्मावलम्बीहरुलाई बदनाम गर्ने उद्देश्यले ‘जातको प्रश्न’ निर्माण गरेको भन्दै विरोध हुन थालेपछि समता फाउन्डेसनले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिङ्ग, क्षेत्रप्रति पूर्वाग्रह राखिएको छैन ।’

चलचित्रमा उनी अक्सर जुझारु भूमिकामा देखिए । गरिब, निमुखाहरुको पक्षमा उभिएर उनले शोषक र शासकहरुको सातोपुत्लो खाइरहे । झुपडीमा हुर्किएर, ढिंडो गुन्द्रुक खाएर, कछाड–भोटो लगाएर, हलो जोतेर इमान र सत्यको रक्षा गरिरहे । ५० को दशकमा यस्तै अनस्क्रिन छवी बनाएका राजेश हमाललाई आज एउटा वयस्क जमात श्रद्धापूर्वक ‘महानायक’ भन्न रुचाउँछन् ।

चलचित्रमा उनले जसरी ‘नायकत्व’ प्रदर्शन गरेर श्रद्धा कमाए, वास्तविक जीवनमा भने उनको निम्ति यो ‘दुर्लभ’ रह्यो । न उनी बेथिती बिरुद्ध बोल्छन्, न सत्यको पक्षमा लड्छन्, न जन–जागरणको राँको सल्काउँछन् । सामाजिक सरोकारको विषयहरुमा उनी बोल्दैनन् ।

जरुरी छैन, सिनेमाका नायकले वास्तविक जीवनमा पनि त्यस्तै नायकत्व देखाउनुपर्छ । यद्यपि ‘सेलिब्रेटी’ हुनुको नाताले उनको सामाजिक योगदान र भूमिकामाथि प्रश्न उठाउनु नाजयज मानिदैन । किनभने सेलिब्रेटीसँग त्यो सामथ्र्य हुन्छ, जसले ठूलो जमातलाई कुनैपनि कुरामा सहमत गराउन सक्छ । समाजलाई सत्य र सही मार्गदर्शन दिन सक्छ । समाजमा सधै आशा, उत्साह जगाइरहन सक्छ । चाहे जन–जागरणका निम्ति होस् वा खबरदारीका लागि आफ्नो उपस्थिती देखाइरहन सक्छन् । तर, समाजसँग यति अभिन्न रुपमा जोडिनु राजेश हमालका निम्ति अपबाद भइदियो ।

न नावालक सम्झना कामीहरुको बलत्कार र हत्या बिरुद्ध विमर्श गर्छन्, न दशैंको मुखमा रोजगारी खोज्दै भारत फर्किने मजदुरहरुको पक्षमा वाकलत गर्छन् । न कुलमान घिसिङ जस्ता कर्मयोगीको निरन्तरताको लागि पैरवी गर्छन्, न डा. केसी जस्ता सदाचारीहरुको मुद्दामाथि सरकारको ध्यानाकर्षण गराउँछन् । यस्तो लाग्छ, उनलाई जन(सरोकारका यावत् विषयहरुले कतिपनि विथोल्दैन, पिरोल्दैन, घोच्दैन, स्पर्श गर्दैन ।

एकातिर समाजलाई बलात्कार, हत्या, हिंसा, अत्याचारले थिलथिलो बनाउँदैछ, अर्कोतिर राज्यलाई भ्रष्टचार, बेथितीले उजाड बनाउँदैछ । यी कुराले हरेक नेपालीको हृदय काँपेको छ, रगतको चाप बढेको छ । उनीहरु कहिले अपराधी खोजी माग्दै सडक प्रदर्शन गरिरहेका छन्, कहिले भोका पेटहरुलाई रत्नपार्कमा भोजन गराइरहेका छन्, कहिले राज्यमाथि खबरदारी गरिरहेका छन् । तर, यी कुराहरुमा राजेश हमाल सधै पर्दा पछाडि नै बसिरहे, चुपचाप ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here