संक्रमण बढेपछि कडाइ

विराटनगर क्षेत्रमा कोरोना संक्रमण बढेपछि प्रहरीले भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्नेमाथि पुनः कडाइ शुरू गरेको छ । सात महिनादेखि मूल नाका जोगबनी बन्द भए पनि आसपासका छोटी नाका हुँदै भारतवाट आउने क्रम रोकिएको छैन ।

नाका सिलको अवज्ञा गरेको भन्दै प्रहरीले आइतबार विराटनगरको स्लामपुर र दरैया चोरी नाकाबाट नेपाल भित्रिएका ४७ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै नेपाली हुन् । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने तयारी गरिएको बताए । पक्राउ परेकाहरूले विभिन्न सामान बोकेकाले उनीहरू जोगबनी बजार पुगेर फर्किएको अनुमान गरिएको छ ।

खड्काका अनुसार जिल्लाका अन्य चोर नाकाको तुलनामा जोगबनी आसपासका चोरी नाका हुँदै भारतबाट व्यक्ति भित्रिने क्रम पछिल्लो समय बढ्दो छ ।

चोरी नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेकै कारण विराटनगरमा कोरोना संक्रमण दर बढेको अनुमान प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको छ । त्यसैले नाकामा कडाइ गरिएको उनको भनाइ छ । भारतसँग ६० किलोमिटर सिमाना जोडिएको मोरङमा जोगबनी मूल नाकासहित मायागन्ज, रंगेली, डाइनिया, डोरिया, चुनीबारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाट गरी नौ वटा छोटी भन्सार नाका छन् ।

प्रदेश सरकारको तथ्यांकअनुसार हाल मोरङमा सक्रिय संक्रमित ५ हजार १० जना छन् । हालसम्म ९ हजार ८ सय ९२ जनालाई पोजिटिभ देखा परेकामा ४ हजार ७ सय ८५ जना निको भइसकेका छन् । घरमै बसेका संक्रमितको संख्या ४ हजार ४ सय ६४ र आइसोलेसनमा ५ सय ४६ जना छन् । हालसम्म मोरङ १ सय १ जनाको मृत्यु भइसकेको छ । कान्तिपुर दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here