कसरी पास गर्ने लोक सेवा आयोगको परीक्षा ?

धेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिस्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौँ युवायुवती ट्युसन, कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् ।

तर, लोकसेवामा नाम निकाल्न सानोतिनो तपस्या नै गर्नुपर्छ भन्छन् भुक्तभोगीहरू । नियमित अध्ययन, सफा अक्षर र ओजपूर्ण शब्द चयन, निरन्तरको मिहिनेतका साथमा धैर्य र आत्मबल पनि चाहिने उनीहरूको धारणा छ । लोकसेवा आयोगका परीक्षार्थीका लागि उपयोगी हुने गरी हामीले २०६९ सालको सहसचिवको परीक्षामा सर्वोत्कृष्ट भएका किरणराज शर्माको लोकसेवाको प्रवेश अनुभव र टिप्स समावेश गरेका छौँ स्

सरकारी सेवामा रहँदा प्रत्यक्ष रूपमा देश र जनताको सेवा गर्न पाइने उद्देश्यले म यो सेवामा प्रवेश गरेको हुँ । सार्वजनिक सरोकार, सार्वजनिक क्षेत्रमा सुधार गर्दा समस्त नागरिकको जीवनयापनमा सुधार आउने र आत्मसन्तुष्टि पाइने तथा तत्कालीन अवस्थाको इज्जत, मानप्रतिष्ठाले पनि यो सेवामा आउन प्रेरित गरेको थियो ।

२०४५ वैशाखमा राष्ट्रिय वाणिज्य बैंकको सहायक पदमा नाम निकालेँ । त्यहाँ दुई वर्ष काम गरेपछि म नेपाल राष्ट्र बैंकमा सहायककै रूपमा गएँ । त्यतिवेलासम्म मैले प्रथम श्रेणीमा एमबिए उत्तीर्ण गरिसकेको थिएँ । त्यसपछि भने मलाई निजामती सेवामा नै प्रवेश गर्ने इच्छा पलाएर आयो । ०५१ मा लेखा अधिकृतको परीक्षा दिएँ, उत्तीर्ण भएँ ।

लोकसेवाको परीक्षाको तयारी गर्दा दैनिकजसो कम्तीमा दुईदेखि चार घन्टा अध्ययन गर्थेँ । मैले ट्युसन वा कोचिङ कहिल्यै पढिनँ । दैनिकजसो नै आवश्यकताअनुसार अध्ययन गर्थेँ । खोजपूर्ण अध्ययन सामग्रीको संकलन गर्थेँ । निजामती सेवामा प्रवेश गर्नेहरूले सबैभन्दा पहिला सार्वजनिक सेवाप्रतिको स्पष्ट अवधारणा बनाउनुपर्छ । सार्वजनिक सेवालाई आत्मसात् गर्नुपर्छ । अनि मात्रै परीक्षाको तयारी थाल्नुपर्छ ।

मैले हरेक परीक्षा दिँदा दैनिकजसो नै दुईदेखि चार घन्टासम्म अध्ययन गर्थेँ । लेखा अधिकृत र उपसचिवभन्दा स्वाभाविक रूपमा नै सहसचिवका लागि बढी अध्ययन र तयारी गर्नुपर्‍यो । म ०५९ मा उपसचिव बन्दा पनि मैले धेरै नै मिहिनेत गरेको थिएँ । लेखा अधिकृतबाट प्रशासनको उपसचिवको परीक्षा दिनुपर्ने भएकाले पनि अलि बढी मिहिनेत गर्नुपरेको थियो ।

निरन्तर मिहिनेतको बलमा उपसचिवको आन्तरिक प्रतिस्पर्धामा पनि पहिलो नम्बरमा नाम निकाल्न सफल भएँ । उपसचिव हुँदा आकर्षक ठानिएका निकायमा जान कहिल्यै मरिहत्ते गरिनँ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगमा रहेर काम गरेँ । १० वर्ष उपसचिवको भूमिका निर्वाह गरेपछि २३ फागुन ०६९ मा मैले सहसचिवको आन्तरिक प्रतिस्पर्धामा पनि पहिलो नम्बरमै नाम निकाल्न सफल भएँ ।

सहसचिव परीक्षाका लागि पनि मैले अत्यन्तै बढी मिहिनेत गरेँ । यद्यपि, मैले सरकारी कामलाई भने कहिल्यै ‘ह्याम्पर’ गरिनँ । बिहान चार–सात बजेसम्म र बेलुकी एक घन्टा गरी दैनिक चार घन्टा अध्ययन गर्थेँ । आफ्ना समकालीन साथीहरूसँग कोर्समा आधारित रहेर अन्तरक्रिया पनि गर्थेँ ।

पूर्वमुख्यसचिव तथा सचिवहरूसँग छलफल गरी आवश्यक ‘फिडब्याक’ लिन्थेँ । केही नयाँ विषय पाउनासाथ टिपोट गरिहाल्थेँ । नोट बनाउनुभन्दा पनि कोर्ससँग सम्बन्धित हरेक विषय अध्ययन गर्ने क्रममा टिपोट गर्थेँ । टिपोट गरेका विषयलाई स्मरण गर्ने, पढ्ने र अभ्यास गर्थेँ । हरेक कोर्सको बारेमा आफैं अवधारणा बनाउँथेँ र विश्लेषण गर्थेँ ।

परीक्षामा सहभागी हुनुपूर्व केही महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ । सिलेबसअनुसारको नोट र सदैव सुधारका लागि थप सामग्रीको रुचिपूर्ण अध्ययन आवश्यक पर्छ । इन्टरनेट, विभिन्न पत्रपत्रिकाको अध्ययन, कोचिङ सेन्टरहरू, साथीहरूसँगको अन्तरक्रियालाई निरन्तरता दिनुपर्छ । यसका साथै प्रशासनिक क्षेत्रका सम्बन्धित प्रकाशन, पुस्तक र लेखरचनाको अध्ययन गर्नुपर्छ । त्यसैगरी नेपाल सरकारबाट भइरहेका प्रयास, अध्ययन प्रतिवेदनहरू, सुधारका विषयहरू र नीतिहरूको विश्लेषणात्मक अध्ययन गर्नुपर्छ ।

दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध, मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाई पढाइको वातावरण अनुकूल बनाउनुपर्छ । त्यसैगरी पढ्ने–लेख्ने, केही समय सम्झन प्रयास गर्ने गरी स्मरण शक्तिलाई तेज बनाउनुपर्छ । परीक्षामा लेख्दा राम्रो र प्रस्ट अक्षर तथा छोटो र ओजपूर्ण शब्द चयन गर्नुपर्छ । आवश्यकताअनुसार समसामयिक उदाहरणसहित प्रश्नले मागेको जवाफ दिनुपर्छ ।

मैले सकेसम्म इमानदारितापूर्वक काम गरिरहेको छु । काम ठग्न हुँदैन भन्ने लाग्छ । यो सेवाक्षेत्रमा काम गर्न सके आत्मसन्तुष्टि हुन्छ । असाधारण बिदा, वैदेशिक भ्रमणलगायतका अवसर छन् । यद्यपि, निजामती सेवाभित्र केही विकृति पनि छन् । सेवाभाव, पद्धतिबद्ध सोच र निष्पक्ष भावनामा केही कमी आएको देखिन्छ ।
निजामति सेवामा कस्तो स्कोप छ ?

पछिल्लो समयमा सबैको आकर्षणको केन्द्र भनेकै सरकारी सेवा हो । सरकारी सेवामा पनि महत्वपूर्ण सेवाका रुपमा निजामति सेवा नै हो ।

निजामति सेवामा सेवाको सुरक्षा छ । जनतासँग प्रत्यक्ष सम्पर्कमा गएर सेवा प्रवाह गर्न सकिन्छ । अर्को कुरा सरकारी सेवा भनेको सरकारको काम कारबाही, सरकारको पदीय दायित्व र जिम्मेवारीमा रहेर समाजसेवा गर्ने हो ।

यसलाई जति सक्यो आफूले राम्रो काम गर्न सकियो भन आफ्नो पनि स्कोप छ र जनताले हेर्ने दृष्टिकोण पनि राम्रो हुन्छ । एउटा सेवाको सुरक्षा, एउटा वृद्धिको सम्भावना र अर्को आर्थिक रुपमा पनि सामाजिक सुरक्षाका हिसाबले पनि अवकाशपछि पनि ग्यारेन्टी भएकाले सरकारी सेवामा पनि आकर्षण छ । त्यसमा सबैभन्दा महत्वपूर्ण निजामति सेवा हो ।

निजामित सेवामा प्रवेश गरेको व्यक्तिले आफूलाई नैतिकवान, समर्पित र पेशाप्रतिको व्यवसायिक रुपमा अगाडि बढ्न सक्यो भने त्यो व्यक्ति सफल हुन्छ । र, यसमा स्कोप पनि छ ।

आमूल सुधारको आवश्यकता बढेर गएको छ ।

सफलताका लागि टिप्स

१. अध्ययन सामग्रीको खोजबिन गर्ने,

२. पाठ्यक्रमअनुरूप र सोसँग सम्बन्धित अध्ययन सामग्री जुटाउने,

३. राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग, विभिन्न संसदीय समितिका प्रतिवेदन, प्रशासन सुधारका प्रतिवेदन संकलन गरी अध्ययन गर्न थाल्ने,

४. बिबिसी नेपाली सेवालगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचार च्यानल सुन्ने, हेर्ने । महत्त्वपूर्ण घटनाक्रमको टिपोट गर्ने ।

५. सम्बन्धित विषयका विद्वानहरूको लेख तथा अन्तर्वार्ता पढ्ने, टिपोट गर्ने,

६. अगाडिका परीक्षामा उत्तीर्ण भएकासँग छलफल गर्ने ।

७. परीक्षा हुनुभन्दा कम्तीमा ६ महिना अघिदेखि नियमित तयारी गर्ने,

८. पत्रपत्रिकाहरूमा प्रकाशित सम्बन्धित विषयको टिपोट गर्ने,

९. इन्टरनेटमा पाठ्यक्रमअनुसारको विषयको अध्ययन गर्ने, टिपोट गर्ने ।

१०. पाठ्यक्रमअनुसारको नोटकापी बनाएर अलग–अलग विषय संग्रह गर्ने बानी बसाल्ने,

११. उत्प्रेरित हुने, मनोबल कम गराउने गरी नसोच्ने, सकारात्मक सोच राख्ने,

१२. बिहान दुई घन्टा (४–६ बजेसम्म) दिनहुँ पढ्ने । त्यस्तै साँझ पनि दुई घन्टा पढ्ने ।

१३. एक घन्टा दैनिक रूपमा पढेका कुराहरू लेख्ने र सम्झन कोसिस गर्ने,

१४. कुर्सीमा बसेर टेबुलमा पढ्ने बानी बसाल्ने,

१५. एकाग्रताको विकास गर्ने,

१६. पढ्दाखेरि प्रत्येक एक घन्टामा १० मिनेटजति ब्रेक लिने

१७. दैनिक पढ्दा एउटै विषय मात्रै नपढी २–३ वटा क्षेत्र तथा विषय पढ्ने,

१८. ऐनामा हेरी विश्लेषण गर्ने बानी बसाल्ने,

१९. ठूलो नोट, मझौला नोट र संक्षिप्त नोट बनाउने,

२०. लेख्दै पढ्ने,

२१. मिल्ने, खुल्ने र जान्ने साथीसँग सहकार्य गर्ने

२२. शुद्द र राम्रा अक्षरमा छोटो वाक्यमा लेख्ने,

२३. अवधारणा, सिद्धान्त, अभ्यासजस्ता विषयमा जानकारी राख्ने,

२४. प्रश्नले सोधेको मात्र उत्तर राख्ने,

२५. सम्बन्धित विषयवस्तुप्रति निश्चित अवधारणा राख्ने,

२६. दैनिक शान्त जीवन, निश्चित आम्दानीबाट चल्ने प्रबन्ध गर्ने,

२७. मैत्रीपूर्ण र हर्षपूर्ण पारिवारिक वातावरण बनाउने,

२८. सीप सिक्ने चाँजोपाँजो मिलाउने,

२९. धैर्य राख्ने, निरन्तर लगाब राख्ने,

३०. आत्मविश्वास कायम गर्ने,

३१. स्मरण शक्तिलाई तेज बनाउने उपायहरू अवलम्बन गर्ने,

३२. लेख्दा तथा अन्तर्वार्ता दिँदा ओजपूर्ण शब्दचयन गर्ने,

३३. समसामयिक उदाहरणसहित सटीक जवाफ दिने,

३४. मस्तसँग निदाउने बानी बसाई फ्रेस हुन प्रयास गर्ने ।

अन्तर्वार्ता फेस गर्दा के गर्ने ?

१. अन्तर्वार्तामा पेस हुँदा मिलेको ड्रेस लगाई भलाद्मी र चम्किलो अनुहारसहित पेस हुने, निरन्तर आई कन्ट्याक्ट गर्ने,

२. शिष्टतापूर्वक जवाफ दिने,

३. विश्लेषणयुक्त पुष्टि र एकरूपतालाई ध्यान दिने,

४. अवस्था र परिस्थितिअनुसार जवाफ दिने,

५. प्रश्नलाई आफूले जानेको क्षेत्रमा लैजान प्रयत्न गर्ने,

६. जानकारी भए पनि व्याख्यात्मकभन्दा छोटो, पुग्ने र सकारात्मक दिशातर्फ मोड्ने,

७. अन्तर्वार्ता फेस गर्दा हात नहल्लाउने, खुट्टा नहल्लाउने र प्रस्टसँग बोल्ने,

८. मध्यम आवाज र सिर्जनात्मक उत्तर दिने र

९. नआत्तिने, शान्तपूर्वक स्पष्ट जवाफ दिन प्रयत्न गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here