साहित्यकार मोदनाथ प्रश्रितले पद्मश्री साधना सम्मान नलिने निर्णय सार्वजनिक गरेका छन्। सोमबार उनले एक विज्ञप्ति जारी गर्दै आफूलाई दिइएको सम्मान नलिने जनाएका हुन्।
आइतबार खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको ुपद्मश्री साधना सम्मानु साहित्यकार मोदनाथ प्रश्रितलाई दिने निर्णय गरेको थियो। उक्त पुरस्कारको घोषणालगत्तै सामाजिक सञ्जालमा मोदनाथ प्रश्रितलाई सम्मान गर्ने कुरा विवादित बनेको थियो।
शारदा भुसालले आफ्नो आत्मकथा ‘धरातल’मा राजनीतिज्ञ तथा लेखक प्रश्रितले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन्। यही कारण देखाउँदै सामाजिक सञ्जालमा यौनशोषणको आरोप लागेका प्रश्रितलाई सम्मान गर्न लागिएको भन्दै आलोचना भएको थियो। प्रश्रितले भने यो आरोप खण्डन गर्दै आएका छन्।
उक्त पुस्तकमा भुसालले किशोरी अवस्थामा आफू प्रश्रितबाट यौन हिंसामा परेको र बलात्कृत भएको दाबी गरेकी छिन। पुस्तकमा भुसालले २०४७ सालमा प्रश्रितले आफूलाई पढाइदिन्छु भनेर काठमाडौं ल्याएको र काठमाडौंमा आफूमाथि यौन हिंसा गरेको आरोप लगाएकी छिन।
प्रश्रितले पुरस्कार पाउने खबर सार्वजनिक भएपछि भुसालले आफू छानाबाट खसेको जस्तै अनुभूति भएको प्रतिक्रिया दिएकी छिन। ‘आज विहानै विश्वासिलो व्यक्तिको ट्याग आयो मैले हेरें अनि छागाँबाट खस्या जस्तो भए। एकछिन रन्थनिएँ। निकै दुखी भए,’ उनले लेखेकी छिन्, ‘बलात्कारीलाइ पद्ममश्री साहित्य सम्मान पुरस्कार त्यो पनि जीवा लामिछाने अध्यक्ष भएको संस्था बाट ? मलाइ विश्वास लागि रहेको थिएन।’
भुसालले यौन हिंसा गरेको व्यक्तिलाई पुरस्कृत गर्नुले त्यस किसिमको व्यवहार गर्नेलाई थप बल पुग्ने बताइन। जानकारी नहुँदासम्मको अवस्था अर्कै थियो। तर जानकारी भएर पनि यौनहिंसा गर्ने व्यक्तिहरुलाई सम्मान गर्नुअघि जीवा लामिछाने जस्तो प्रतिष्ठित व्यक्तिले सोच्नुपर्ने थियो,’ उनले भनिन्, ‘गलत कार्यलाई प्रश्रय गर्ने, सम्मान दिने कार्यले पीडितलाई ठूलो अन्याय हुन्छ। यसले सामाजिक न्याय, पढेलेखेका व्यक्तिहरुमाथि नै प्रश्न चिन्ह लगाएको छ।’