सात महिनादेखि दैनिक सात सयको भोक मेटाउदै आएकी महान आमा अर्थात इन्दिरा

 

असोज ३, संविधान दिवसको दिन प्रहरीले फोन गरेर भन्यो, ‘आज खुलामञ्चमा खाना नखुवाइदिनुहोस् । त्यहाँ भिआइपीहरू आउनुहुन्छ ।’ प्रहरीले आग्रह गर्दै थपे, ‘माथिबाट यस्तै आदेश छ, आज खाना खुवाउन निषेध छ ।’ भीआइपीहरू कहाँ आउनु हुने रहेछ भनेर बुझ्न साइकल चढेर सिटी राउण्ड गर्न निस्किएँ ।
त्यहाँ लामाहरूले पप र बिस्कुट खुवाइरहेका थिए । हातमा प्लेट लिएर बसेका धेरैको प्लेट हेलिकप्टरको हावाले उडायो । खान लाइन लागेर बसेका जनतालाई टुँडिखेलबाट खेदाइयो । हामीले खाना दिने ठाउँमा ठुल्ठूला सरकारी बस रोकिए । हामीले त एउटा कुनामा दिने न हो ! प्याकेट उहाँहरूले घर–घरमा गएर खानुहुन्छ ।


यसरी खाना खुवाउँदा मलाई जहाँ पनि स्थानीयले दुःख दिए । ठीक छ सरकारको आदेश किन नमान्ने भनेर मैले त्यहाँका मान्छेलाई लैनचौरमा खाना बाँड्ने भएँ । त्यहाँ पनि स्थानीयले दुःख दिए । सरस्वती क्याम्पस, अस्कल क्याम्पसका विद्यार्थीले यस्ता खाते, ट्यापेलाई भात खुवाएर तैंले केचाहिँ सेवा गरिस् भनी मुखमुखै लागे र खेद्न आए । मैले पनि उत्तर दिएँ, ‘आज ठुल्ठूला नेताहरू यही अस्कल क्याम्पसले उत्पादन गरेको छ । तिमीहरू पनि भोलि नेता हुने होला । जनतालाई तिरस्कार गर्छौ भने तिमीहरू कस्तो खालको नेता बन्ने हो ?


संविधान दिवसको दिन मान्छेहरू ओहोरदोहोर गरिरहेकै छन् । बस चलिरहेकै छ । यसले केही असर नगर्ने, भोका मान्छे रत्नपार्कमा भेला हुँदाचाहिँ भीआइपीलाई डिस्टर्ब हुने ? भोका मान्छे जनता होइनन् ? अहिलेको सत्तामा छन् सर्वहारा बर्गको हितमा लडेकाहरू । भोका नांगाको मुक्तिका लागि लडेकाहरू ।
चैत ११ गतेदेखि लकडाउन शुरु भयो । लगत्तै जेलका बन्दी र तिनका आश्रितलाई खाना खुवाएँ । लकडाउन शुरु भएको एक सातापछि सडकमा भएकाहरूलाई पनि तातो र ताजा खाना दिन थालें । शुरुमा ठमेल सञ्चकोषअगाडिका २० जना सडक बच्चालाई दिएँ । एक हप्तापछि सय पुग्यो । अहिले सडकमा रहेका सात सयभन्दा बढीलाई दैनिक खुवाइरहेको छु ।
३१ वर्षदेखि जेलमा रहेका बालबालिकाको हकहितमा काम गर्दै आएको हुँ । मान्छे मात्र एकै ठाउँमा थुपारेर भएन । तमासा देखाउने, रिस्क मोल्ने काम गर्नु भएन । प्रोपोगण्डा गर्नु पनि छैन । आँखा नदेख्ने, गर्भवतीलाई खुला मञ्चमा नआउनु नै भनेको छु । खुलामञ्चमा एउटा ग्रुपलाई खुवाउँछु । बिरामी छन् भने आफन्तलाई प्याकेट पठाउँदै छु । विष्णुमतीको किनार, सोह्रखुट्टेलगायत स्थानमा खाना दिन्छु । जहिले पनि १० देखि ११ वटा ठुल्ठूला कुकरमा भात पकाउँछु ।
यो क्रम चलिरहेकै थियो ।


म कुनै पार्टीमा आबद्ध भइनँ । तर, निर्मल लामालाई नजिकबाट चिन्थें । उहाँसँग आउने प्रचण्ड, बाबुरामले मलाई राम्रैसँग चिन्नुहुन्छ । धर्मशिला चापागाई, अञ्जना विशंखे, नारायण विशंखेलाई चिया बनाएर खुवाएको छु । सुरेश आलेमगर, सत्या पहाडीलाई जेलभित्र भेटेको छु । धर्मशिला चापागाईंले जेलभित्र आफ्नो बच्चाले भात खान पाइनँ भन्दा कुटी–कुटी सुताएको ती दिनहरू बिर्सिउँला त ?
न कंग्रेस, न एमाले, न त माओवादी, न अरू कुनै दल ! मैले कसैसँग चोचोमोचो गरेको छैन । केही फाइदा लिएको छैन । मेरो लडाइँ भनेको मान्छेको गाँस, बास र कपासका लागि हो । यी चिज मानवीय अधिकार हुन् ।
प्रश्न छ, सर्वहारा वर्गको हितका लागि के गर्नुभयो ? आफू गद्दीमा बसेर भोका नांगालाई लखेट्ने ? मान्छे सिधै सडकमा आएका छैनन् । कतिलाई घरबाट निकालिदिएको छ । कोहीको काठमाडौंमा घर छ । घरले मात्र त खान दिँदैन । घर भएका केही खाना खान लाइन लाग्छन् । डेरामा बस्नेहरू जसको काम खोसिएको छ । धेरै टुरिष्ट गाइडहरू, रेष्टुराँमा काम गर्ने, सेक्स वर्कर, थर्ड जेण्डरहरू सडकमा आएका छन् । विदेशी पनि छन् । चाइनिज, इटालियन, फ्रेञ्चहरूले खाइरहेका छन् । फिलिपिन्सको एक जना छ । उसको ब्वाई फ्रेण्ड नेपाली नै ! ऊचाहिँ खाना लिन आउँदैन । वाइफले मेरो ब्वाईफ्रेण्डका लागि भनेर खाना लैजान्छिन् । आउने, लाइन बस्नेहरूलाई खाना दिन्छु । एक जनालाई खाना खुवाउँदा झण्डै ३२ रुपैयाँ खर्च हुँदो रहेछ । यसमा अहिले धेरै मनकारीहरू मिसिनुभएको छ । धेरथोर सहयोग गरिरहनुभएको छ । कसैले बर्थडे, कसैले सोह्र श्राद्धको नाममा जसले जे सक्छन् सहयोग गरेका छन् । बाबुकाजी श्रेष्ठले ५० हजार, राजु श्रेष्ठले १० बोरा चामल र दाल, तेल सहयोग गर्नुभयो । यही बीचमा हातेमालो गर्न आइपुग्नुभएका दिलभूषण पाठक, शिखा प्रसाईंहरूले १ लाख ४० हजार सहयोग गर्नुभएको छ । नाम नभन्नू भनेर तीन जनाले दुई दुई लाख सहयोग दिनुभएको छ । नेपालीले यसरी सहयोग गर्नुभएको यो पहिलो पटक हो ।
मैले आफ्नो ठाउँमा मरेर काम गरिरहेको छु । हरेक सडकको मान्छेले मलाई चिन्छ । मेरै हातले पकाएको स्वादका कारण हरेक मान्छेले आमा भनेर सम्बोधन गर्छन् । धेरैले खाना बाँडेका छन् तर मैले एक दिन पनि टुटाएको छैन । एक दिन पनि राम्रोसँग सुतेको छैन । सडकमा बस्ने भन्दैमा कुहिएको, सडे/गलेको खाना लगेर दिएको छैन । आफ्नो गाँस काटेर खुवाइरहेको छु ।


काठमाडौं मात्र होइन, झापा, सप्तरीलगायत जिल्लाका सडकमा पुगेकाहरूलाई पनि मेरो संस्थाले खाना खुवाइरहेको छ । ७० जना स्टाफ छन् । कोरोना कहरमा उनीहरूलाई नियमित तलब दिएर राखेको छु । गरिबको चाहिँ कसले पिसिआर टेष्ट गरिदिने ? त्यसको व्यवस्था खोइ ? गरिबहरू अस्पताल जाँदा भर्ना नलिने अवस्था छ । ती हरेक कुरा देख्दा कति पीडा हुन्छ, मलाई मात्र थाहा छ । अहिले नेपालभर १७ वटा चिल्डे«न्स होममा ५ सय बच्चा आश्रित छन् । मेरो कोखबाट बच्चा नजिन्मए पनि यी सबै मेरा आफ्नै बच्चा हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here