शिक्षा सम्बन्धि ३१ बुदे आकस्मिक कार्ययोजना सार्वजनिक

शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । असोजको दोस्रो साताभित्र पढाउनु अघिको सबै योजना तयार गर्न आकस्मिक कार्ययोजना सार्वजनिक गरेको हो ।

विद्यालय शिक्षा सम्बन्धि ३१ बुदे आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजनाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित अभिभावक, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरु सबैले आफ्नो दायित्व निर्वाह गर्ने गरी एकीकृत ढङगको प्रयास गराउने बताए । मन्त्रिपरिषद्को यही असोज १ गतेको निर्णयबाट यो कार्ययोजना स्वीकृत भएको हो ।

कोभिड १९ को जोखिमका कारण अवरुद्ध विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु हुन नसकेको अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई व्यवस्थित गर्दै बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सृजना गर्न मन्त्रालयले यसअघि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी यही असोज १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो ।

कार्ययोजनाले वसाइ स्थानान्तरण भएका विद्यार्थीको तथ्याङक सङकलन, सबै बालालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकको उपस्थितिलाई तत्काल गरिहाल्नु पर्ने कार्यको रुपमा जोड दिएको छ ।

यस्तै शैक्षिकसत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास, नमूना स्वाध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको छ । कार्ययोजनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा विद्यालयका शिक्षक विद्यार्थीबीच नियमित एवम् प्रभावकारी सिकाइ सम्पर्क कायम गराउने प्रयोजनका लागि नेपाल टेलिकम सहित अन्य दुर सञ्चार सेवा प्रदायक संस्थाहरुवाट मोवाइल सेवाको आबद्धता गर्ने विषय पनि समेटेको छ । नेपाल दूर सञ्चार प्राधिकरणले यस विषयमा आवश्यक सहजीकरण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here