भौतिक उछिनपाछिनकाबीच आइलागेको कोरोना महामारी र सङ्क्रमण जोखिम नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण विश्व हैरानी बेहोर्न बाध्य छ । यो जैविक वस्तुबाट सिर्जना भएको उदध्वंसनबाट नेपाल जस्ता नातागती मुलुक पनि अछुत रहेन् । कोरोना नामक जैविक कसौंडीमा नेपालको पर्यटन क्षेत्र पनि पर्यो । जसका कारण देशको अर्थतन्त्र गाँठो परेर आयो । विश्वकै उत्कृष्ट पर्यटन केन्द्र नेपाललाई सो जैविक समस्याले झनै निर्बलियो बनायो । पर्यटन क्षेत्रमा परेका मुख्य जटिलता तथा समस्यालाई केलाउँदा , कोरोनाको घैटोमा बिर्को लगाउन नेपाल सरकारले अघिल्लो बर्षको चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दिको घोषणा गर्यो । कोरोनाको दाँत झार्न पटुत्व प्रदर्सन गरेको नेपालले त्योभन्दा अगाडि नै अन्तर्राष्ट्रिय उडानमा पूर्ण रोक लगाएपछि पर्यटन व्यवसाय अचल मात्र रहेन पतनको दिशातिर उन्मुख बन्यो ।
सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने र विश्वभरबाट २० लाख भन्दा बढी पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको नेपाल सरकारले वर्षको सुरुदेखि नै वैश्विक महामारीको तनावका कारण ठुलो क्षति बेहोर्नुपर्यो । पर्यटन देशको अर्थतन्त्र उकास्ने ठूलो क्षेत्र हो । वायुसेवा, होटल , यातायात र रेष्टुराँजस्ता क्षेत्रहरुसँग समेत जोडिएको पर्यटनलाई कक्रक्क बनाउने तवरले देशमा लकडाउन गरियो । राष्ट्रिय आय तथा जनमानससँग अन्तरसम्बन्ध राख्ने यी क्षेत्रमा परेको असरको सुक्ष्म अध्ययन गर्दा देशको एक खर्ब भन्दा बढी आम्दानी गुमिसकेको छ । पदयात्रामा १५ अरब नोक्सान भएको छ । नेपालमा फस्टाउँदै गएको पर्यटन क्षेत्रले साढे चार लाख मानिसलाई प्रत्यक्ष रोजगारी प्रदान गरेको थियोे साथै साढे तीन लाख भन्दा बढीलाई मौसमी रोजगारी समेत प्रदान गरेको थियो । अप्रत्यक्ष रूपमा पर्यटन क्षेत्रमा ११ लाख मानिस आश्रित रहेका थिए । लामो समयदेखि देशको पर्यटन क्षेत्र ओरालो लाग्दा यी सबैले समान समस्या भोग्न बाध्य भएका छन् ।
पर्यटन उद्योग तथा व्यवसायसँग सम्बन्धित नितिगत तथा अवस्थागत समस्याहरुको हल गर्न स्थापित गैरसरकारी सरकारी संस्था ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल(टान) पनि योजना अनुरूप काम गर्न असफल भएको स्वीकार गर्छ । टानका अध्यक्ष खुम सुवेदी भन्छन् , हामीले जे- जति योजना तय गरेका थियौं कोरोनाको कारणले गर्दा योजना सफल गराउन सकेनौं । महामारीको कारण उब्जिएको जटिल अवस्थामा हामीले मजदुर र न्यून आय भएका व्यवसायीहरुलाई कसरी बँचाउन सक्छौं भनेर सोचमग्न भैराख्यौं सुवेदी थप्छन् । टानले साना व्यवसायीहरुलाइउ लोन लिएको भरमा स्थिर बनाइराखेको छ । पुरानो अवस्थामा र्फकन पर्यटन व्यवसायीहरुलाई कम्तिमा पनि डेढ-दुई बर्ष लाग्ने छ । पर्यटन क्षेत्रसँग आवद्ध व्यवसायीहरूको समस्यालाई ध्यानमा राख्दै सरकारले ५ प्रतिशत लोन दिने घोषणा समेत गरेको छ र अधिकांस व्यवसायीहरूले महामारी अन्त्यसँगै त्यही लोनको भरमा अडिनु पर्ने छ । मजदुर वर्गको हकमा भने नेपाल पर्यटन बोर्डमा रहेको टिम्स कोषमा भएको रकमले पर्यटन मजदुरलाई स्थिर रूपमा अडाउनको लागि विभिन्न गतिविधी सञ्चालन गरिरहेका छन् । तर, हालसम्म पनि महामारी साम्य हुने अवस्था भने देखिएको छैन ।
हालसालै सरकारले ल्याएको मौद्रिक नीतिले पर्यटन उद्यमीहरुको मुद्दा तथा कायम रहेको केहि समस्याहरुलाई सम्बोधन गरेको छ । मौद्रिक नीतिमार्फत ऋणको साँवा र किस्ता तिर्ने समय थपेकोमा पर्यटन व्यवसायीले यो निर्णयलाई स्वागत गरेका छन् । सरकारले ल्याएको मौद्रिक नीतिमा पर्यटन क्षेत्रलाई अति प्रभावित क्षेत्रको संज्ञा दिदै ऋणको साँवा र किस्ता तिर्ने समय एक वर्ष भन्दा बढी थपेको छ । कोरोनाको कारण थला परेको पर्यटन क्षेत्र र यसले पुनर्जीवन प्राप्त गर्न समय लाग्ने पर्यटन क्षेत्र लगायतका अति प्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि एक वर्षक समयसीमा थपिएको छ र पछि पनि आवश्यकता अनुसार थप समय प्रदान गर्न सक्ने व्यवस्था मौद्रिक नीतिमा मिलाइएको छ ।
अहिलेको अवस्थामा सबैले तत्काल कर्जा तिर्न सक्ने अवस्था छैन । सरकारले कर्जाको लागि थप नौ महिना समयावधि बढाइदिँदा अधिकांस व्यवसायीहरुमा सहजता महसुस भएको छ ।