“कोरोनालाई हाउँगुजी बढी बनाइयो”

डा. लोचन कार्की, अध्यक्ष, नेपाल चिकित्सक संघ

भोजपुरबाट विराटनगर झरेको एउटा सामान्य खेती–किसानी गर्ने परिवारका सदस्य थिए, डा.लोचन कार्की । विराटनगरबाट क्याम्पस पढ्न काठमाडौं टेक्दासम्म डाक्टर बनेर सानै उमेरमा नाम कमाउँछु भन्ने त सोचेकै थिएनन् । घट्टकुलोको डेरामा स्टोपमा दम दिँदै भात पकाएर पढेको त्यो संघर्षको जीवन र आज ४० वर्षकै उमेरमा देशभरिका निजी चिकित्सकहरुको संगठनमा अध्यक्ष हुने दिनका बीच संघर्षको ठूलो कथा बुनेका मान्छे हुन् उनी । अहिले देश कोरोना भाइरसको महामारीमा छ । यस्तो विषम परिस्थितिमा त्यो भाइरसको शिकार स्वयं स्वास्थ्यकर्मीहरु नै भइरहेका छन् । सँगसँगै विरामीको उपचारमा पनि उनीहरु नै तल्लिन छन् । यस्तो बेला डा.लोचन होम क्वारिन्टिनमा बस्न पाएका छैनन्, चिकित्सकहरुको हितका लागि डटेर मैदानतिरै भेटिन्छन् ।

० कोरोनाविरुद्ध एक भएर लड्नुपर्ने समयछ, तर कपिय व्यक्ति र संस्था चिकित्सकसँग भिड्दैछन् नि !
– यो दुःखद् र निन्दनीय कुरा हो ।चिकित्सिक, स्वास्थ्यकर्मीहरु आफ्नो जीवनलाई दाउमा राखेर घर, परिवार, दिन, रात, भोक–प्यास नभनी काममा लागेका छन् । सबै मानिस घरमा सुरक्षित भएर बसिरहँदा उनीहरु फ्रन्टलाइनमा खटिएका छन् । आफूलाई संक्रमण हुनसक्छ भन्ने थाहा हुँदाहुँदै सिमित स्रोत, साधनमा काम गरिरहेका छन् । अहिले सबै ठाउँमा होइन्, धेरै समुदायका व्यक्तिहरुले चिकित्सक र स्वास्थकर्मीहरुलाई उच्च सम्मान पनि गरिरहेका छन् । तर, केही स्थानमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि जुन दुव्र्यवहार भइरहेको छ, त्यसले मनोबल घटाउने काममात्र गर्छ । हामी कसको लागि लडिरहेका छौं ? उहाँहरुकै लागि होइन ? भोलि उहाँहरु संक्रमित भएमा अस्पताल, चिकित्सक र स्वास्थ्यकर्मी त उहाँहरुलाई पनि चाहिन्छ । फेरि यो रोग जसलाई पनि लाग्नसक्छ । विश्व स्वास्थ्य संगठनले समेत कोरोना अझैं दुई वर्षसम्म जानसक्छ भन्ने आंकलन गरिरहेको छ । रोग भनेको अपराध होइन । धेरै रोगहरु आए, गए । अझै आउँछन्, जान्छन् । कोरोना लागेका सबै विरामी अस्पताल भर्ना हुने पनि होइन् । ८५ प्रतिशतलाई आफैं ठीक हुन्छ । १५ प्रतिशतमात्र अस्पताल भर्ना हुने हुन् । शून्य दशमलव ५ प्रतिशतको मात्र मृत्युदर छ । तर, कोरोनालाई ठूलो हाउँगुजी बनाइयो ।
० डाक्टरमाथि नै भौतिक आक्रमण हुने कुरालाई के भन्नुहुन्छ ?
– हामीले पनि जनतालाई राम्रोसँग बुझाउन सकेनौं भन्छु । ‘हामी’ भन्नुको मतलब सरकार वा संघ संस्थाले यथेष्ठ जनचेतना जागृत गराउन सकेनौं । यसलाई हाउँगुजी बनाइयो । संक्रमित व्यक्तिभन्दा ६ फिट पर रहने र माक्स लगाउने गर्नुपर्छ । कोरोना आफैं उफ्रेर, आएर सर्दैन भन्ने कुरा बुझाउन सकिएन । यति मात्र कुरा बुझाउन सकिएको भए ओल्लो घरमा बसेको छिमेकीले पल्लो घरमा बसेका व्यक्तिलाई किन ढुंगा हान्नुपथ्र्यो ? जबकी, सेल्फ आइसोलेसनमा एउटै घरमा एउटै कोठामा बसेको मान्छे अरुलाई नसारी ठीक भएर निस्किरहेका उदाहरण प्रशस्तै छन् ।
राज्यले पनि यस्ता मति भएका मान्छेलाई कारवाही गरिदिए भने अरु डराउँथे होलान् । अहिले संक्रमण ऐन लागु भएको छ । त्यसलाई टेकेर कारवाही गर्न सकिएन । र, अर्काे पाटोचाहिँ पहिलेको जस्तो समाज रहेन् । पहिला गुहार माग्दा सहयोग गर्ने सय जना निस्किन्थे । तर, अहिले छरछिमेकलाई एउटा फ्ल्याट वा कोठामा बस्नेले अर्काे फ्ल्याट वा कोठामा बस्नेलाई नचिन्ने अवस्था छ । मानिसहरुमा सामाजिकपना घट्दै गएको हो कि भन्ने देखाउँछ । कोभिडले हाम्रो सामाजिक आत्मीयतालाई जगाउने बेला आएको छ । यो आतंकित हुने वा बनाउने रोग होइन, सचेत र संयमित भएर परास्त गर्नुपर्ने रोग हो भन्ने कुरामात्रै मान्छेहरुको कानमा भर्नुपर्ने छ । यत्ति नहुँदा संक्रमित र स्वास्थ्यकर्मीहरुमाथि गरिने व्यवहार अचम्मलाग्दो भइरहेको छ ।
० मतलब, यो जति हो, त्योभन्दा ठूलो हाउँगुजी चलाइयो ?
– मानौँ, तपाई र मेरो घर जोडिएको छ । म कोरोना संक्रमित हुँदैमा तपाईंलाई कोरोना सर्दैन । यो कुरा बुझाउनु प¥यो । के गर्ने, के नगर्ने ? संक्रमित भएको खण्डमा के गर्ने ? यस्ता कुरामा सतर्कताका कुराहरु बुझाउनु प¥यो । यसलाई नकरात्मक रुपमा लिन भएन ।
० कोभिड १९ मा चिकित्सकप्रति सर्वसाधरण र सरकार दुबैतर्फबाट दुव्र्यवहार भयो भनिँदैछ । वास्तविकता के हो ?
– सरकारबाटै दुव्र्यवहार त म भन्दिनँ, तर जति मनोबल बढाउनुपर्ने हो, त्यस्तो भएन । चिकित्सकसँगै आज भेन्टिलेटर, बेड, आइसोलेसन थप गर्नुपर्छ भनेर लड्नुपर्ने बेला आएको छ । स्वास्थ्यकर्मी भएनन् भने भेन्टिलेटर, आइसियु आफैं चल्दैन । अहिले झण्डै दुई सय बढी चिकित्सक र ६ सय भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । उनीहरुलाई सरकारले राम्रोसँग हेरेको, उद्धार, उपचार गरेको छैन । अर्कातिर, खटिएका चिकित्सक, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनेतिर सरकारको पहल छैन । भोलि विषम परिस्थिति आउनसक्छ । हामीसँग सिमित जनशक्ति छ । स्वास्थ्यकर्मीको मनोबल बढाइएन भने विदेश पलायन होलान् वा विकल्प खोज्लान् । फ्रण्टलाइनमा काम गर्ने साथीहरुलाई उच्च मनोबलका साथ काम गर्नै वातावरण बनाउनुपर्दछ ।
० नीजि चिकित्सक र सरकारी चिकित्सकबीच पनि विभेद छ भन्ने आवाज सुनिन्छ । कुरा के हो ?
– हामी चिकित्सक हौं । कोहीले नीजिबाट त कोही सरकारीबाट सेवा दिइरहेका छौं । यसमा सबैलाई अचानोमा हालिरहनुपर्छ जस्तो लाग्दैन् । नीजि संघसंस्थाहरुको आफ्नो समस्या होलान् । त्यो समस्या राज्यले बुझिदिनुपर्ला । यो साझा समस्या वा भाइरसको विरुद्ध लड्न सम्पूर्ण व्यक्ति, संघसस्था एक ठाउँमा उभिनुपर्छ । निजी भनेर हेय गर्ने होइन । निजी र सरकारीको आफ्नो लडाइँ होला । हामी चिकित्सक घरबाट उपचार गर्नका लागि निस्किएका छौं । कोभिड देखिएका वा नदेखिएका दुबै प्रकारको विरामीको उपचार गरेका छौं । हामी सरकारी भए पनि निजी भए पनि विरामीप्रति बफादार हुन्छौं ।
० संक्रमण व्यवस्थापनमा सरकारी तदरुकतालाई के भन्नुहुन्छ ?
– सरकारले आफ्नो ठाउँबाट गरिरहेको छ । तर, यतिले पुग्दैन । सशक्त रुपमा जानुपर्छ । परीक्षणको दायरा अझै बढाउनुपर्छ । परीक्षणको दायरा बढेसँगै संक्रमितहरुको संख्या बढ्छ । अस्पताल, अक्सिप्लाण्ट, जनशक्तिहरु बढाउनुपर्छ । धेरै चिज गर्न बाँकी छ । सरकारले गर्दै नगरेको त भन्दिनँ, तर धेरै चिज गर्न बाँकी छ । यति र यो ढंगको गराईले मात्र पुग्ने अवस्था छैन ।
० अब कति संक्रमित थपिए भने नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जाला ?
– हिजोका संक्रमित लक्षण विनाका थिए । उपचार पनि सजिलो थियो । लकडाउन खुलेसँगै बाहिरबाट मान्छेहरु घर–घरमा पुगे । अहिले लक्षणसहितका संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमितको संख्या दोब्बर हुने समय झनै घटिरहेको छ । संक्रमण समाजमा फैलिएको अवस्था छ । लक्षण भएका संक्रमितहरु यही ढंगबाट थपिँदै गए भने भोलि अस्पतालले नथेग्ने अवस्था आउँछ । काठमाडौंमा जम्मा ५ सय भेण्टिलेटरसहितको आइसियु छ । एकैपटक एक हजार मानिस संक्रमित भए भने काठमाडौं नियन्त्रणबाहिर जान्छ । हामीले लकडाउन गरिरहेको समयमा त्यो व्यवस्थापन गर्न सकेनौं ।
० नेपालमा अमेरिका वा इटालीको जस्तो स्थिति आउँछ?
– हामी नेपाली त्यति धेरै अनुशासित छैनौँ । अहिले त जहाँको जनता धेरै अनुशासित भए, त्यहाँ मात्रै रोक्न सकिएको छ । चीनमा सरकारले बाध्य भएर पनि जनतालाई अनुशासित बनायो । कोरिया, ताइवान, हङकङ र जापानमा पनि नियन्त्रणमै छ । तर, अमेरिका, इटाली लगायतका युरोपेली देशमा कोरोना फैलिनुको कारण हो– त्यहाँका जनता अनुशासित भएनन् । लकडाउन भनेपछि त सबैले मान्नुप¥यो नि † यहाँ त एक दुई घण्टा क्वारेन्टाइनमा बस्यो, अल्छी लाग्यो, छ्याङ खान निस्क्यो । मान्छेलाई कुटेर, भित्ता फोडेर पनि क्वारेन्टाइनबाट भागेका छन् । राज्यले आमी–पुलिस के लगाएर हुन्छ, जनतालाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ ।
अर्कातिर, विदेशबाट आएका मानिस कहाँ छन् ? खोज्नुप¥यो । तिनलाई कहाँ राख्ने ? संरचना तयार गर्नुप¥यो । एकातिर सरकारले परीक्षण गरेर संक्रमित को हो छुट्टयाउन सकेको छैन । अर्कातिर जनता अनुशासित भइदिएका छैनन् । त्यसैले अवस्था सोचेजस्तो छैन ।
० लकडाउन र निषेधाज्ञामात्र कोरोना रोकथाम नियन्त्रणको अचुक औषधि हो ? वा अरु केही विकल्प पनि छन् ?
– लकडाउन भनेको संक्रमितको संख्या बढ्दै गएपछि त्यो ग्राफलाई कम गर्न र त्यो समयमा आवश्यक पूर्वाधारका तयारीहरु निर्माण गर्न गरिने विधि हो । सधैँ लकडाउन गरेर साध्य हुँदैन । लकडाउनको समयमा सरकारले स्रोत–साधन बढाउनेतर्फ ध्यान दिनुपर्छ । सरकारको टिका–टिप्पणी मात्र गरेर हुँदैन । गर्ने काम त गरिरहेको छ, तर यतिले मात्र पर्याप्त हुँदैन ।
० क्वारेन्टिन र आइसोलेसनमा बसेका मानिसले ज्यान गुमाइरहेका छन् । यसमा चिकित्सकहरुको लापरवाही हो भन्ने एकथरि मानिस छन् । के भन्नुहुन्छ तिनलाई ?
– अनि, विदेशतिर चिकित्सकले पनि ज्यान गुमाएका छन् । हाम्रो देशमा पनि चिकित्सकहरु धेरै संक्रमित भइरहेका छन् भन्ने कुराचाहिँ कसले गरिदने ? आज संसारभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ देखि ४ प्रतिशत हाराहारी छन्, तर नेपालमा तिनै चिकित्सक, स्वास्थ्यकर्मी खटिएकै कारण मृत्युदर शून्य दशमलव ५ प्रतिशत मात्र छ । नेपालका चिकित्सक स्वास्थ्यकर्मीले आफ्नो ज्यान दाउमा राखेर, दिनरात नभनी नखटिएको भए बेलायत, यूरोपजस्तो ३ देखि ४ प्रतिशत संक्रमितहरु मरिरहेका छन् भने नेपालजस्तो देशमा त ७ प्रतिशतभन्दा बढी मरिरहेका हुन्थे होला नि † आज रोगसँग को लडिरहेका छन् ? नेपालका स्वास्थ्यकर्मीलाई जनताले सलाम गर्नुपर्छ कि, उनीहरुको कारणले मानिसको मृत्युदर अरु देशको तुलनामा एकदमै कम छ । अनुशासनको कुरा गर्नुहुन्छ भने हामी नेपालीजस्तो लापरवाह कोही छैनौँ । तर, रोग फैलिँदा नेपालका स्वास्थ्यकर्मी जसरी सबथोक त्यागेर डटेका छन्, त्यसकारणले हाम्रो दुर्भाग्यको दिन त्यति नै रोकिँदै रोकिँदै आएको छ । यो कुरा त सबैले बुझिदिनुप¥यो नि !
० उपचार गर्दा गर्दै विरामीको मृत्यु भएको खण्डमा डक्टरलाई कारवाही गर्ने ऐन आयो । तपाईहरुले नयाँ मुलुकी संहितामा संशोधनको माग गर्दै आउनुभएको थियो । माग पूरा भयो ?
– डाक्टर उपचारमा तल्लिन हुन्छ, विरामी तलमाथि पर्नासाथ पुसिलले डाक्टरलाई हत्कडी लगाइदिने– मुलुकी संहिताले यस्तो कल्पना गरेको थियो । उपचार गर्दा औषधीको रियाक्सन भयो भने पनि डाक्टरलाई पुलिसले समात्न सक्ने कानुन थियो । त्यस्तो कानुन आउँदा कुनचाहिँ चिकित्सकलाई काम गर्न मन लाग्छ ? के ती कानुन बनाउनेहरुलाई भोलि अस्पताल र चिकित्सक चाहिँदैन ? यस्तो हुँदा डाक्टरहरुले पेशा नै परिवर्तन गर्नुपर्ने, लसुन–प्याज बेचेर गुजारा चलाउनुपर्ने स्थिति आएको थियो । हामी नेपालीको नियमित स्वास्थ्य जाँच गर्ने बानी हुँदैन । बाहिरै औषधि खाने र केही नलागेपछि अन्तिम अवस्थामा अस्पताल जाने चलन छ । त्यसपछि निको भएन भने चिकित्सकलाई दोष दिने चलन पनि छ । दुई सय शुल्क लिएर जाँच गर्नुपर्ने अनि सानो गल्ती हुने बित्तिकै जेल जानुपर्ने अवस्था भयो भने कुनै चिकित्सकले उपचारका लागि जोखिम लिन चाहँदैनन् । त्यसैले, मुकुकी ऐन संशोधनका लागि चिकित्सक संघको सक्रियतामा नेपालभर आन्दोलन पनि भयो । हामीले अन्दोलन गरिसकेपछि मुलुकी ऐनमा परिर्वतन भएको छ । अहिले मुलुकी ऐनमा भएको संशोधन भनेको उपचारका क्रममा कुनै घटना भयो भने त्यसको शुरुमा छानविन गर्ने । त्यसमा नेपाल मेडिकल काउन्सिलले चिकित्सकले ठिक गरेको छ कि छैन भनेर हेर्ने गर्छ । हाम्रो लामो समयको संघर्षपछि मुलुकी ऐनमा परिवर्तन आएको छ । कुनै पनि घटना हुँदा नेपाल मेडिकल काउन्सिलको संयोजकत्वमा विभिन्न सरोकारवाला प्रतिनिधि राखेर छानविन गरिसकेपछि दोषि पाइएको खण्डमा मात्र कानुनी प्रक्रिया अगाडि बढाउने भन्ने कुरा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here