असल कर्म र लक्ष्य प्राप्तिको लागि अष्टशक्तिको धारणा

मानिस त्यस्तो प्राणी हो, जसले गरेका कर्मले मानव समाज र प्राणी जगत नै प्रभावित हुन्छ । उसका सकारात्मक कार्यले संसार सुन्दर बन्छ भने उसैले गर्ने नकारात्मक कार्यले संसार ध्वस्त पनि हुन सक्छ । मानिससँग विध्वंसात्मक र सृजनात्मक दुवै शक्ति हुन्छ । जो मानिस असल संस्कार, असल रहनसहन, राम्रो खानपान, असल साथीसंगति, असल शिक्षादीक्षा र असल सामाजिक वातावरणमा हुर्केको हुन्छ, उसको सिर्जनशीलता पनि पक्का असल नै हुन्छ । जो मानिस खराब वातावरणमा हुर्केको हुन्छ, खराब मानिसको संगत गर्छ, खराब स्कूलिंग प्राप्त गर्छ, खानपान र चिन्तन खराब गर्न थाल्छ, ऊ विध्वंसात्मक रहन्छ ।
संसारलाई शान्त, सुन्दर, सुखी र सम्पन्न बनाउन सबैले असल कर्म गर्नु पर्दछ । असल र सकारात्मक कर्मका प्राप्ति पनि धेरै नै सकारात्मक हुन्छन् । मानव सभ्यतालाई नियाल्ने हो भने जब मानिसले दुःख देख्न थाल्यो र अशान्ति महसुस गर्न थाल्यो । त्यसपछि उसले दुःख हटाउने र शान्ति प्राप्त गर्ने उपायको खोजी गर्न थाल्यो । दुःख हटाउने उपाय खोज्न पहिले–पहिले ठूला–ठूला तपस्वी ऋषिमुनिहरु आएर तपस्या गरेको र ज्ञान प्राप्त गरी शास्त्रहरुको रचना गरेको कुराहरु सुन्न पाइन्छ । त्यसपछि करिब अढाइ हजार वर्ष पहिलेदेखिको इतिहासलाई केलाउने हो भने यो अवधिमा मानिसहरुले सुख र शान्तिका धेरै मार्गहरुको खोजी गरे । केही व्यक्तिहरुले त यसको लागि धेरै ठूलो त्याग र तपस्या पनि गरे । बुद्धले त गृह, राजकाज र परिवार नै त्यागे । जेसिस क्राइष्ट क्रुसमा चढ्न तयार भए । महावीर, इब्राहिम, गुरु नानक आदिले पनि ठूलो त्याग र तपस्या गरे– मानिसहरुको सुखको बाटो खोज्नको लागि । उनीहरुले गरेको त्याग र तपस्याको परिणाम स्वरुप उनीहरुले ज्ञान पनि प्राप्त गरे । आ–आफूले प्राप्त गरेको ज्ञानको आधारमा अरुलाई सुख र शान्ति प्राप्त गर्ने उपायहरु बताए । उनीहरुका अनुयायीहरु पनि आए र आ–आफ्ना धर्मको स्थापना गरे । जसको कारण बुद्ध धर्म, क्रिस्चियन धर्म, जैनधर्म, इस्लाम धर्म, शिख धर्म आदि धर्महरुको विकास भयो । दुःखको कारण खोजी गरी त्यसको निदान गर्न धर्महरुको स्थापना गरिएको हो ।
अहिले आएर धर्मका नैतिक मूल्य–मान्यता, अनुशासन, आचरण, नीति–नियमबारे पनि आ–आफ्नै ढंगले व्याख्या गरी चल्न थालिएको छ । धर्म संस्थापकहरुले देखाएको मार्ग भन्दा फरक चलेर हरेक धर्मलाई विभाजन गरी विभिन्न पन्थ र सम्प्रदायमा परिणत गरिएको छ । एउटै धर्मका मानिसहरु पनि एक आपसमा मनमुटाव राख्दै आपसमा लडेको देखिन्छ । धर्म संस्थापकहरुले जो सपना देखेका थिए, त्यो पूरा भएको पाइन्न । सबैमा दम्भ, अहंकार र असहिष्णुताले घर गरेको छ । मानिसमा सहनशक्तिको अभाव भएर नै द्वन्द्व हुने हो । द्वन्द्व नै अशान्ति र दुःखको कारण हो ।
मानवजातिको वास्तविक सुख, शान्ति र आनन्द प्राप्तिको लागि त हामी प्रत्येक मानिसले अष्ट शक्तिको धारण गर्नु पर्दछ । ती हुन्– सहन गर्ने शक्ति, समाउने वा समाहित गर्ने शक्ति, पारख गर्ने शक्ति, निर्णय लिने शक्ति, सामना गर्ने शक्ति, सहयोग गर्ने शक्ति, विस्तारितलाई संकुचन गर्ने शक्ति र समेट्ने शक्ति । जीवन सुखी बनाउन र असल जीवन जिउने कलाको विकासको लागि हामीले यी शक्तिहरुको धारण गर्नु जरुरी छ ।
पहिलो शक्ति– सहन सक्ने शक्ति । यस शक्तिको कमी हामी धेरैमा देखिन्छ । अलिकति कसैले केही नराम्रो भन्यो, ग¥यो भने हामी प्रतिवाद गर्छाैं, आगो भएर हात हाल्न जान्छौं । इँटाको जवाफ ढुंगाले भने जस्तो । यसले झगडा, द्वन्द्व र हिंसा बढाएको धेरै देखिन्छ । तर महान ज्ञानी मानिसहरु अथवा महात्माहरु त्यसो गर्दैनन् । कसैले गल्ती गरे या दुःख दिएपनि सहने गर्दछन् । आपूmलाई गाली दिने, अपमान गर्ने र दुःख दिने सबैलाई क्षमा दिने गर्दछन् । सबै महान पुरुषहरुमा यो गुण हुन्छ । बुद्ध, गान्धी आदि यसका उदाहरण हुन् । सहनशक्तिको कुरा गर्दा प्रकृतिबाट पनि सिक्न सकिन्छ । उदाहरणको रुपमा केटाकेटीले बाटोमा आँपको वृक्ष देखे र ढुंगाले हाने भने त्यसको सट्टामा उक्त वृक्षले मीठो फल दिने गर्दछ । हामीले पनि कसैले गाली दिन्छ भने गालीको सट्टा अमृत वाणी बर्साउन जान्नु पर्छ । आमाहरुको व्यवहार हेरौं । बच्चाहरुले जति नै सताएपनि र विराम गरेर दुःख दिएपनि आमाले सबै कुरा सहने गर्दछिन् । किनकि उनको बच्चाप्रति अत्यन्न ठूलो प्यार रहेको हुन्छ । प्यारभरा मनले सबैकुरा सहनगर्ने शक्ति उनलाई दिन्छ । हामीले पनि सबै मानिसलाई प्यारपूर्वक हेर्ने ग¥यौं भने सानातिना घच्चापच्चा सबै सहन गर्न सक्दछौं । क्षमादान महादान हो भन्ने बुझेर व्यवहार गर्न सक्छौं ।
दोस्रो– समाउने शक्ति । सबै कुरालाई हामीले समाउन सक्यौं र जस्तो परिस्थितिमा पनि अनुकूलित हुन सक्यौं भने त्यो नै महानता हो र विशालता पनि । उदाहरणको लागि समुन्द्र विशाल यस कारणले छ कि उसले जताततैबाट आउने नदीहरुलाई समाउन सक्ने क्षमता राख्दछ । नदीहरुले बोकेर ल्याएका सबै फोहोर तथा कचराहरुलाई पनि तिरस्कार गर्दैन । बरु त्यो सबैलाई पिंधमा समाई राखेर आफू निश्चल र निर्मल रहने गर्दछ । यो शक्तिले हामीलाई जस्तोसुकै परिस्थितिमा पनि विनाहलचल रहन सहयोग गर्दछ । जसरी उर्लंदो बाढी बेकेर आउने नदीलाई पनि समुन्द्रले आफूमा समाहित गरेर शान्त बनाइदिन्छ ।
तेस्रो– पारख गर्ने शक्ति । यो शक्तिले हामीलाई के सत्य हो ? के असत्य हो ? के राम्रो हो ? के नराम्रो हो ? वा कुन असली ? कुन नक्कली ? कुन ठीक, कुन बेठीक ? कस्ताको संगत गर्ने ? कस्ताको नगर्ने ? भनी छुट्याउन सहयोग गर्दछ । बाहिरी आँखाले राम्रा देखेका सबै कुरा असली नहुन सक्दछन् । राम्ररी ठम्याउनको लागि त अन्तरचक्षुले हेर्ने गर्नु पर्दछ । अनिमात्र हामीले धोका खानु पर्दैन । जसरी राजहाँसले पानीमा मिसिको दूधलाई पनि छानेर पानीलाई छाडिदिन्छ र दूधमात्र लिने गर्दछ । त्यसरी नै हामीले पनि पारख गर्ने क्षमताको विकास गरी खान हुने वस्तु र खान नहुने वस्तु, गर्न हुने संगत र गर्न नहुने संगत, असल कुरा र खराब कुरा छुट्याउन सक्यौं भने गर्न हुने र गर्न नहुने कामको पारख गर्न सक्यौं भने जीवनको यात्रामा कहिल्यै धोका खानु पर्दैन ।
चौथो– निर्णय गर्ने शक्ति । हाम्रा अगाडि जीन्दगी जिउने धेरै खालका अवसरहरु विकल्पका रुपमा हुन्छन् । कुनै सामान्य मानिसले अपनाउने खालका हुन्छन् । कुनै विशिष्ट मानिसहरुले अपनाउने खालका हुन्छन् । कुनै अति विशिष्ट मानिसहरुले अपनाउने खालका हुन्छन् । जीवनमा धेरै चुनौती पनि आउँछन् । तर चुनौतीहरुले नै अवसरको ढोका खोलिदिएका पनि हुन्छन् । यस्तो परिस्थितिमा हामीभित्रको निर्णय शक्तिलाई प्रयोग गर्न सक्नु पर्दछ । हतार नगरी, सोच विचारका साथ, सही समय र सही कुराको लागि लिएको निर्णयले सफलतामा पु¥याउँछ । गलत निर्णयले जीवनभर पश्चाताप गराइरहन्छ ।
पाँचांै– सामना गर्ने शक्ति । हामीले कहिले सामना गर्नु पर्दछ त कहिले सहन गर्नु पर्दछ । विपत्तिहरु आइपर्दा सामना गर्नु पर्दछ । व्यक्तिसँगको व्यवहारमा भने सहन गर्नु राम्रो हुन्छ । कसैले केही भन्यो अथवा केही बिगारिदियो भन्दैमा सामना गर्ने कुराले अरु समस्या निम्त्याउँछ । विपत्तिमा सहन गर्ने होइन सामना गर्दै अगाडि बढ्नु पर्दछ । कुनै नजिकको आफन्तको मृत्यु हुन पनि सक्दछ । धनजनको ठूलो क्षतिपनि हुन सक्छ । त्यतिखेर सामना गर्नेे शक्तिले परिस्थितिको सामना गर्दै आफूलाई सम्हाल्दै अगाडि बढ्न सक्नु पर्दछ ।
छैटौं– सहयोगको शक्ति । सहयोगी मानिसको जताततै प्रशंसा पनि हुन्छ । भनिन्छ सहयोग दिनु र लिनु देवताहरुको गुण हो भने सहयोग नदिने र नलिने असुरहरुको गुण हो । हामीले पनि सहयोग दिने र लिने गर्नु राम्रो हुन्छ । सबैको सहयोगको अंगुलीबाट दुःखको ठूलो पहाडलाई पनि हटाउन सकिन्छ । समाज परिवर्तन र दुःखको निवारणको लागि सबैले सहयोगको शक्तिआँफूमाधारणा गर्ने अभ्यास गर्नु आवश्यक छ ।
सातौं– विस्तारको संकीर्ण गर्ने शक्ति । हामी कर्महरु गर्नको लागि इन्द्रियहरुको सहयोग लिएर गर्ने गर्दछौं । काम पर्दा यिनीहरुको प्रयोग गर्ने हो नभए यथास्थितिमा काबुमा राख्ने हो । इन्द्रियहरुलाई काबुमा नराख्दा हामीलाई नै धोका हुन्छ । जसरी कछुवाले आफ्ना अंगहरुलाई काम पर्दा फैलाएर बाहिर निकाल्छ र काम सकिएपछि सानो बनाएर खोलभित्र राखेर बस्दछ । यसबाट ऊ आफू सुरक्षित हुन्छ । हामीले पनि हाम्रा इन्द्रियहरुलाई नियन्त्रणमा लिने शक्ति धारणा गर्न सके इन्द्रियहरुले दिन सक्ने धोकाबाट बच्न सकिन्छ । इन्द्रियको दास बन्ने हैन यिनीहरुलाई नै दास बनाउने शक्ति धारण गर्न सके जीवन सफल रहन्छ ।
आठौं– समेट्ने शक्ति । जसरी हामी कुनै स्थानको यात्रामा जाने सोच बनाउँछौं, त्यतिखेर के लैजाने र के नलैजाने भनेर सामानहरुको सूची तयार गरी झोलामा राख्ने गर्दछौं । हामी हाम्रो केहीदिनको यात्रामा हाम्रा सबै वस्तु त बोकेर जान्नौं नि । जे–जे कामका छन्, तिनीहरुलाई झोलामा समेट्छौं । अरु कुरा छाडिदिन्छौं । हामीले हाम्रो जीवनरुपी यात्रामा पनि धेरै कुराहरु समेटेर काम छैन । सबैले आफ्नो लक्षअनुसार जीवनको यात्रा तय गरेका हुन्छौं । यात्रामा काम लाग्ने वस्तु, विचार, शिक्षा, गुण र अनुभवहरु मात्र लिएर अगाडि बढियो भने लक्ष प्राप्त गर्न सक्छौं । साथी पनि धेरै हुन सक्छन् । गुरुहरु पनि धेरै बन्छन् । तर असल साथी र गुरुहरुको साथ लिएमात्र गन्तव्यमा पुग्न सकिन्छ । नत्र भड्खालोमा परिने डर हुन्छ । कसैले दिएका गाली, कसैले गरेको अपमान, कसैप्रतिको द्वेष, रिस, राग, इष्र्याको पोको बोकेर जीवनको यात्रा राम्ररी पूरा हुन सक्दैन । त्यसैले नचाहिने वस्तुहरुलाई छाँटेर जस्तै स्नेह, प्रेम, दया, करुणा जस्ता आवश्यक वस्तुहरु मात्र समेटेर यात्रा गरे जीवन सुन्दर बन्दछ र केही प्राप्ति पनि मिल्दछ ।
यी सबै शक्तिहरु कसैले दिन सक्दैन । किनेर पनि पाइने होइन । त्यसको लागि योग, ध्यान, अध्ययन र मनन्बाट मात्र प्राप्त हुन्छ । योगहरु मध्य पनि राजयोग यसको लागि उत्तम माध्यम हो । यसको अभ्यसमा लाग्न सके सबैको जीवन सुखमय हुनेछ र यो संसार सुन्दर बन्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here