अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल यही २० भदौंबाट सकिँदैछ । तर प्रधानमन्त्री केपी शर्मा ओलीले उनैलाई निरन्तरता दिने तयारी गर्दैछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अर्थमन्त्री डा युवराज खतिवडाको कामबाट पूर्ण सन्तुष्ट रहेको बताएका छन् ।
एक टेलिभिजन अन्तरवार्ताको क्रममा अर्थमन्त्रीलाई नै निरन्तरता दिनु हुन्छ कि अर्को व्यक्तिलाई अर्थमन्त्रीको रुपमा भित्र्याउनु हुन्छ भन्ने प्रश्नमा ओलीले जवाफ दिए भदौ २० गते आउन अब केही दिन मात्रै बाँकी छ, २÷४ दिन पख्नुस् न, केही दिनभित्रमै थाहा पाइहाल्नु हुन्छ नि ।
प्रधानमन्त्रीले लिएको ५ वर्षे योजना र लक्ष्य प्राप्त गर्न भइरहेका मन्त्रीबाट काम गराउँदा सहज हुन्छ कि नयाँ व्यक्तिलाई जिम्मेवारी दिनु उपयुक्त हुन्छ भन्ने विषयमा आफूले गम्भीर अध्ययन गरिरहेको उनको भनाइ छ ।
‘युवराज खतिवडालाई नै निरन्तरता दिदा राम्रो हुन्छ कि, नयाँ व्यक्तिलाई जिम्मेवारी दिदा राम्रो हुन्छ कि भन्ने कुराको समीक्षा हुन्छ, युवराज खतिवडाले भन्दा अर्को व्यक्तिले राम्रो काम गर्छ भन्ने लाग्यो भने अर्को व्यक्तिलाई जिम्मेवारी दिन सकिने प्रधानमन्त्री ओलीको भनाई छ ।
प्रधानमन्त्री ओलीले ‘आवश्यक्ताअनुसार मन्त्रिमण्डल हेरफेर र पुनःगठन हुन सक्ने र यी कुरालाई अन्यथा लिन नहुने बताए । यद्यपि उनले मुख्यमन्त्रीहरूलाई नचलाउने बताएका छन् । उनले अबको डेढ वर्षपछि स्थानीय तहको निर्वाचन हुने भन्दै त्यसपछि आउने नयाँ नेतृत्व मुख्यमन्त्री बन्ने बताए । अब डेढ वर्षपछि हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुपर्छ’, उनले भने, ‘त्यस अगाडि मुख्यमन्त्रीको केही हुँदैन ।’