‘ सत्वगुणी उज्यालोका  माली सनातन भागवत रत्न पण्डित श्री  दिवाकर प्रसाद भण्डारी र प्रकाशयुक्त मनोहर गोकर्ण ‘

जीवनको लामो समयदेखि नियन्ता ईश्वर र नियंत्रित जीवहरुसँग सम्बन्धित शाश्वत मौलिक सत्यको प्राकट्य कर्मका  गतिशील नेतृत्व हुन् ‘सनातन भागवत रत्न पण्डित श्री  दिवाकर प्रसाद भण्डारी । ईश्वर-बिज्ञानको चर्चा , जीवहरुको वैधानिक स्वरुप , अपरा प्रकृति र पराप्रकृतिको वास्तविकता र चिरन्तन  समयको विस्तारमा अनवरत सक्रिय व्यक्ति अध्यात्मिक जगतका दार्शनिक एवं सत्वगुणी उज्यालोका माली सनातन भागवत रत्न पण्डित श्री भण्डारीको शुभ जन्म वि.सं. २०२८ साल असार १२ गते , पिता पण्डित श्री भिम प्रसाद भण्डारी र माता श्री स्व. देवी भण्डारीको छैठौं अर्थात कान्छो सुपुत्रको रूपमा अष्टमूर्ति (पृथ्वी, जल, वायु, तेज, आकाश, सूर्य , चन्द्र , यजमान ) भगवान महादेवको स्वरुप भेटिने अत्यन्तै मनोहर , माङ्गलिक स्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा( गोकर्णेश्वर नगरपालिका वडा नम्बर – २, ( साबिक- नयाँपाटी गाविस वडा नम्बर ९ पाखाथोक) भएको हो । सानै उमेरदेखि अध्यात्मिक चिन्तन र मौलिक संस्कृतिको अध्ययन गर्ने प्राकृतिक  गुण र विशेषता बोकेका सनातन भागवत रत्न पण्डित श्री भण्डारीका पिता लोकलाई सत्सङ्गबारे प्रवचन दिनुहुन्थ्यो र अध्यात्मिक मार्गमा हिँड्न सुझाव दिनुहुन्थ्यो । पिताको अध्यात्मिक स्वभाव र आस्थाको प्रभाव ‘सनातन भागवत रत्न पण्डित श्री  भण्डारीमा बाल्यकालको कलिलो उमेरमा नै पर्यो ।

भगवानका समिपमा पुग्न र आफूमा परमात्माको उपस्तिथि गराउन वैदिक दर्शन र साहित्यको समेत गहिरो अध्ययन गरेका भण्डारीको बाल्यकाल अरुभन्दा पृथक रह्यो । ब्राह्मण घराना र समुदायमा जन्मिएकाले नियमित सत्सङ्ग हुन्थ्यो । गुरुहरु आउनुहुन्थ्यो , पिता धर्मकर्म प्रतीको अधिक  आस्थावान हुनुहुन्थ्यो र त्यही घरानाको प्रभाव मेरो मनमा र मस्तिष्कमा पनि पर्यो सनातन भागवत रत्न पण्डित श्री भण्डारी सुनाउनुहुन्छ ।
पढाइमा उत्कृष्ट , स्वभावमा अध्ययनशिल , मेधाबी छात्रको रूपमा चिनिएका सनातन भागवत रत्न पण्डित श्री भण्डारीले प्राथमिक तहको शिक्षा सहयोगी माद्यामिक विद्यालय गोगर्णबाट हासिल गर्नुभयो तेस्तै माध्यामिक तहको शिक्षा तथा एसएलसी  जुद्धोदय पब्लिक हाइ स्कुलबाट वि.सं.  २०४३ सालमा एसएलसी परिक्षा उत्तीर्ण गर्नुभयो । छन्दकविता कथ्न पनि सिपालु सनातन भागवत रत्न पण्डित श्री भण्डारीले कक्षा ८ मा  अध्ययन गर्नेक्रममा श्रीमद्भागवत  गीताको सार सङक्षेप अध्ययन  गर्नुभयो । कक्षा ५ मा पढ्दादेखि नै वेदको अध्ययन गुरु सोमनाथ भण्डारीसँग सुरु गर्नुभएका उनले  प्राचीनकालिन गुरुकुल शिक्षा बिधि मार्फत नै वेदको अध्ययन पूरा गरि वैदिक दर्शनको अनमोल ज्ञान् हासिल  गर्नुभयो  ।

वेदान्त दर्शनका ज्ञाता, साहित्यका अनमोल रत्न सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद भण्डारीले गुरु अवधुत( सांसारिक जीवनभन्दा परको जीवन व्यतीत गर्ने व्यक्ति ) श्यामप्रसाद पौडेलसँग कक्षा ९ मा अध्ययनको क्रममा  १४ / १५ बर्षको उमेरमा नै वेदान्त दर्शनको गहिरो अनुसन्धान एवं अध्ययन पूरा गर्नुभयो । भौतिक जीवन भन्दा अध्यात्मिक जीवनको महत्त्व छ  र अध्यात्मिक जीवन शाश्वत  रहन्छ । शास्त्र र गुरुको भनाइबाट आफूमा  अलौकिक , सामाजिक हुने स्वरुप अध्यात्म मात्रै हो रहेछ भन्ने कुराको बोध भएको सनातन भागवत रत्न पण्डित श्री भण्डारी बताउनुहुन्छ ।

जसरी सूर्य आफ्ना अनन्त किरणहरु सर्वत्र फिंजाएर अवस्थित रहन्छन् त्यसै गरी परमात्मा वा भगवान पनि सर्वत्र विद्यमान हुनुहुन्छ । भौतिक प्रवृत्ति भएको  व्यक्ति समाजप्रती आकर्षित हुन्छ तर अध्यात्मिक व्यक्तिसँग समाज नै आकर्षित हुन्छ । सांसारिक जीवनमा प्रतिद्वन्दीता , स्वार्थ र  सर्त  मात्रै हाबी भएको छ ।  संसार एउटा क्षेत्र हो र क्षेत्रज्ञ अर्थात मानिसको व्याख्या स्वयं भगवानले गर्नुभएको छ । उहाँले क्षेत्रज्ञका क्रियाकलापलाई जान्ने बिधिको पनि वर्णन गर्नुभएको छ । ‘ज्ञेय ‘ अर्थात् जान्नयोग्य विषयको व्याख्या पनि प्रारम्भ गर्नुभएको छ ।
जान्नयोग्य विषयहरु भनेका , आत्मा र परमात्मा हुन् । आत्मा र परमात्मा: यी दुबैको ज्ञान पाएर मानिसले जीवनको अमृत चाख्न सक्दछ । सांसारिक जीवन नै प्रतिद्वन्द्वीता , सर्त र स्वार्थको उपज हो । मानिसको शारीरिक संरचनामा पनि प्रतिद्वन्दीता छ । अध्यात्मिक  भएपछि मात्र सर्त र स्वार्थ सकिन्छ र  द्वन्द्व समाप्त हुन्छ । अध्यात्ममा द्वन्द्व शुन्य रहन्छ  , धर्ममा मात्रै द्वन्द्व हुन्छ । धर्म सम्प्रदायसँग गाँसिएको हुन्छ , संस्कृतिसँग जोडिएको हुन्छ ,  द्वन्दसँग निकट  हुन्छ , वर्गसँग सम्बन्धित  हुन्छ ।

अध्यात्मिक बन्ने एउटा आधार ( माध्यम ) धर्म पनि हो तर धर्म मात्रै होइन अर्थात धर्म साध्य होइन साधन मात्र हो । अध्यात्मिक बन्ने आधारहरु सत्सङ्ग , सतगुरु , सतशास्त्र हुन् , अध्यात्मिक जीवनमार्ग अपनाएको व्यक्ति स्वभावैले भौतिकवादी मानिसहरुसँग संगत गर्न चाहँदैन । अध्यात्मको पहिलो खुट्किलो  चिन्तन , मनन र निधिध्यासन हो । कुनै पनि सज्जन धर्मको माध्यमबाट स्वरुपान्तरण भएर चिन्तनको अवस्थामा पुग्छ ( आफूलाई बुझ्ने प्रयास गर्छ , ज्ञानको मार्ग , दर्शनको अन्वेषणमा होमिन्छ , चित्तले अन्वेषण  गर्छ )  । मनले मनन  गर्छ ( चिन्तनबाट आएका विषयवस्तुहरुलाई शुद्धीकरण , आत्माअनुभुती र विश्लेषण गर्छ । ती सबै प्रक्रियाको सारवस्तु अर्थात निष्कर्ष भनेकै निधिध्यासन हो , दर्शनको प्रमाणित अवस्था अथवा आफ्नो स्वरुपको पहिचानको अवस्था । आफूलाई परमसत्यमा केन्द्रित गर्ने अवस्था हो  । भक्ति शाश्वत वस्तु हो , मानिस त्यही दृढ दार्शनिक धारणमा स्थिर रहनुपर्ने विचार राख्नुहुन्छ सनातन भागवत रत्न पण्डित दिवाकर प्रसाद भण्डारी

वि.सं.  २०४६ साल असार १३ गते विवाह बन्धनमा बाँधिएका सनातन भागवत रत्न पण्डित दिवाकर प्रसाद भण्डारीकि पत्नी उषा आचार्य ( भण्डारी) हुनुहुन्छ ।  शन्यासी हुनु भाग्यको फल , प्रारब्ध कर्मैको फल हो । मानिसले आफ्नो जीवन अबधिमा  चारवटा ऋण तिर्नुपर्छ ( पितृऋण , देवऋण , ऋषिऋण , पुत्रऋण ) यी ऋणहरु तिर्नको लागि पनि गृहस्थआश्रम सहितको जीवन जिउनु जरुरी छ । सन्याशी अर्थात  ‘स’ को अर्थ   इन्द्रियका वृत्ति ( व्यवसायहरु) , न्याशीको अर्थ छोड्नु , परित्याग गर्नु हो  । इन्द्रियहरुलाई नियन्त्रण गर्नु नै सन्याशी जीवनको सार्थक रुप हो , भन्नुहुन्छ सनातन भागवत रत्न पण्डित दिवाकर प्रसाद भण्डारी । वि.सं. २०४६ साल बैशाखबाट व्यासआसनमा बसेर श्रीमद्भागवत  प्रवचन सुरु गर्नुभएका सनातन भागवत रत्न पण्डित दिवाकर प्रसाद भण्डारी भागवत भित्रको अध्यात्म अझै धेरैलाई सुनाउन बाँकी छ , भागवत एउटा सिङ्गो युगको वर्णन  हो , अध्यात्म हो , जीवन जिउने कला सहितको ज्ञान् हो, सृष्टिको स्वरुप हो भन्नुहुन्छ । चार प्रकारका सृष्टि छन् ती सृष्टिको संविधान नै भागवत हो । अण्डज, स्वेडज ,उद्भिज , जरायुज । अण्डज – अण्डाबाट उत्पादन हुने प्राणी , स्वेडज – पसिनाबाट उत्पादित जीव , उद्भिज – बनस्पतिहरु , जरायुज – सालनालबाट जन्मिनेहरु  । यी भन्दा बाहेक अरु  सृष्टि छैन । यी सबैलाई एकबद्धसँग चलाउने सृष्टिको संविधान श्रीमद्भागवत  मात्रै हो । सनातन भागवत रत्न पण्डित दिवाकर प्रसाद भण्डारीका अनुसार  जीवनका अरु शिक्षाहरुको  आधारभूत  शिक्षा भनेको नै अध्यात्मिक शिक्षा हो ।

वि.सं. २०४६ साल बैशाख महिनाबाट नै शिक्षण पेशामा समेत  संलग्नता जनाउनुभएका सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद भण्डारीले वेद , श्रीमद्भागवत बाहेक आइ. कम. , बि.कम., बि.एड.  र एम.एड. सम्म अध्ययन गर्नुभएको छ । सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद भण्डारी  हालसम्म पनि अध्यापन पेशामा  हुनुहुन्छ ।सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद भण्डारीले वि.सं. २०६६ साल भाद्र ८ गते त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको स्थापना गरि सत्सङ्गको विश्वव्यापी प्रचारप्रसारको अभियान पनि सञ्चालन गर्नुभयो ।  हिन्दु जागरण र अध्यात्मिक चिन्तनको क्षेत्रमा पुर्याएको अतुलनीय योगदान स्वरुप सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद भण्डारीलाई विश्व हिन्दु महासंघ युवा अन्तर्राष्ट्रिय  महा-समितिले सनातन भागवत रत्न उपाधीबाट सम्मानित गर्यो ।

हाल  त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका प्रमुख संरक्षक समेत रहेका सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद
भण्डारीलाई उक्त संस्थाले  वाचन शिरोमणि पदकबाट समेत सम्मानित गरेको छ । यस संस्थाको उदेश्य नेपाल भूमिमा बृन्दावन , बृन्दावन भित्र जेष्ठ नागरिक आश्रमको स्थापना हो ।

गोकर्णेश्वर नगरपालिका धार्मिक समितिका संयोजक समेत रहनुभएका सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद भण्डारी नगरपालिकासँग आबद्ध भएर सो क्षेत्रको धार्मिक पर्यटन विकासमा सक्रिय हुनुहुन्छ । उहाँकै नेतृत्वमा गोकर्णेश्वर महादेव मन्दिरदेखि    उत्तर बाहिनीको कान्तिभैरव मन्दिरसम्मको क्षेत्रलाई उत्तरगया धाम सर्किट बनाउने ऐतिहासिक योजना तय गरिएको छ ।

समाजलाई  अध्यात्म चेतनाको स्तरमा प्रवेश गराउने , मानिसहरुलाई सांसारिक द्वन्द्वबाट निरुत्साहित गराउने , अध्यात्मलाई प्रयोगात्मक बनाउने तथा वेदान्त सुत्र सहितको पाठ्यक्रममा विकास गराउने र सबैलाई पूर्ण दिव्य ज्ञानमा स्थिर गराउने अभियान बोकेका सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद भण्डारीको भक्ति र कर्मलाई भावस्निग्ध नमस्कार । सबैलाई  दिक्षित  गराउने , शिक्षित  गराउने अनि प्रशिक्षित गराउने  योजनाका नायक आदरणीय  सनातन भागवत रत्न पण्डित श्री दिवाकर प्रसाद भण्डारीलाई सधैं साथ र सहयोग रहनेछ  ।  श्रुति ज्ञानबाट संसार रुपान्तरण गर्न हातेमालो गरौं ।

लेखन तथा अन्वेषण : ज्योतिषी, साहित्यकार तथा संवाददाता  रवीन्द्र ढुङ्गेल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here