कहाँ -कहाँ चुक्दैछ रसुवा कांग्रेस ?

नेपाली काङ्ग्रेस रसुवालेआफ्नो सिद्धान्त र आदर्शलाई अक्षरशः पालन गरेको छ या छैन ?
अहिले नेपाली कांग्रेस रसुवाको राजनीतिले केन्द्रसम्म तातेको छ । कांग्रेसमै लागेर केस सेताम्ये पारेका पूराना र योग्यहरुलाई पाखा लगाएर आलाकाँचा अर्थात तीन चार बर्षे अघि मात्र जय नेपालको किल्लाभित्र पसेकाहरुलाई धमाधम पार्टीको जिम्मेवारी दिने तयारी चलसँगै पार्टीले आफ्नो सिद्धान्त र आदर्शलाई विर्सेको त होइन ? भन्ने प्रश्न गर्दैछन् रसुवाली कांग्रेस नेतादेखि कार्यकर्ता तथा शुभेच्छुकसम्म ।

नेपाली काङ्ग्रेस कुन सिद्धान्त र आदर्शलाई जनताबीच लगेर जनतामा स्थापित भएको हो भन्ने कुरा नेपाली काङ्ग्रेसको नेतृत्वले बेला बखतमा विर्सने गरेको तत्थ्य पनि कसैका सामु छिपेको छैन । सिङ्गो नेपाली काङ्ग्रेसको सिद्धान्त र आदर्शलाई एकातिर पन्छाएर जनताबीच जाँदाको परिणाम के हुन्छ ? यो परिणाम हामीले हिजोको दिनमा पनि देखेका र भोगेका हौं । यस्ता विगतबाट पाठ सिक्नु पर्ने कि नपर्ने । विगतका वर्षहरूमा भएका स्थानीय निर्वाचन र संसदीय निर्वाचनका परिणामहरूलाई मात्र हेरौं । नेतृत्वको कारण कांग्रेसको हविगत कहाँ पुगेर खुम्चियो ? नेपाली काङ्ग्रेस जननायक विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित सिद्धान्त र आदर्शबाट निर्देशित पार्टी हो ।

नेपाली काङ्ग्रेसले अबलम्बन गर्ने कुुनै पनि नीति र कार्यक्रम या त जनताद्वारा अनुमोदित हुनुपर्दछ या त जननायक विश्वेश्वरप्रसाद कोइरालाद्वारा प्रतिपादित हुनुपर्दछ भन्ने कुरामा कसैको पनि विमती हुन सक्दैन । प्रजातन्त्रको पुनस्थापनापछिका पछिल्ला वर्षहरूमा नेपाली काङ्ग्रेसका कतिपय नेताहरूले बीपीको आदर्श र सिद्धान्तलाई चटक्क बिर्सेको परिणाम आज नेपाली काङ्ग्रेसको यो अवस्था आएको हो ।

अझैं पनि ढिला भएको छैन् । हिजो विराएको बाटो सही ट्याकमा ल्याउनका लागि समय बाँकी नै छ । समयमै गल्तीलाई सच्चाएर सही बाटो हिड्न ढिलाई गर्नै हो भने नेपाली कांग्रेस पार्टीमाथि नै नराम्रो धब्बा लाग्ने छ । नेपाली कांग्रेस त्यस्तो पार्टीमा परिवर्तन हुनेछ जसले आमाको फरिया बेचेर परस्त्री वा परपुरुषका लागि पछ्यौरा किनी दिन्छ।आज रसुवा कांग्रेसको हविगत पनि आमाहरु पराया र परस्त्री वा परपुरुषहरु हावी हुँदै गएको अबस्था छ । यस्तो आन्तरिक खिचातानीमै रुमल्लिएको र गोलमोटलमा फसेको संगठनले रसुवालाई के नै पो देन दिन सक्ला र ? चिन्ता र चासोको बिषय छ । आउनुहोस बहस गरौ । जय नेपाल ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here