पद पाएर मात्रै पुग्यो त !

प्रगतिशील आन्दोलनका लागि असीमित ऊर्जा दिने गीत हो– ‘गाउँ गाउँबाट उठ बस्ती–बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ ।’ गीतकार तथा लयकार हुन्, श्याम तमोट ।

हामीलाई लाग्छ, यस्तो युगान्तकारी गीत रचना गर्ने गीतकारले मौका पाए देशको मुहार नै फेर्लान् । जीवनको करिब आधा उमेर भोजपुरको एउटा सरकारी विद्यालयमा मास्टर र हेडमास्टर भएर काम गरेका उनले पछिल्लो समय एउटा सानो आइएनजिओमा काम गरे । भोजपुरमा कमाएको पैसाले स्वयम्भूमा घर बनाए । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सदस्य सचिवको नियुक्ति पाए । सम्बन्धित क्षेत्रका सबैलाई आश लागेको थियो– प्रगतिशील सांगीतिक आन्दोलनका चर्चित गीतकारले काम देखाउने अवसर पाए, अब परिवर्तन देखाउलान् । तर, सबैको अपेक्षामा तुषारापात भयो ।

नियुक्ति पाएको दुई वर्ष पुग्नै लाग्दा पनि काम देखाउन सकिएको छैन । ७ महिनाअघि एक जना संगीतकर्मी तथा अन्वेषक बडो उत्साहित हुँदै ‘प्रदेश १ का मौलिक लोकभाकाहरू’को खोज, अध्ययन, अनुसन्धानसम्बन्धी प्रस्ताव लिएर तमोटकहाँ पुगे । प्रस्ताव अध्ययन गरेर जवाफ दिन्छु भनी उनले ती प्रस्तावकलाई फर्काइदिए । एक महिनापछि प्रस्तावबारे बुझ्दा तमोटले, ‘तपाईंको प्रस्ताव गीतबारे रहेछ, संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानले गीत विधामा काम गर्न मिल्दैन, सांगीतिक विधामा मात्रै हो काम गर्ने’ भनिदिँदा ती संगीतकर्मी चकित परे । यो त एउटा सानो उदाहरण मात्रै हो । यस्ता दर्जनौँ व्यवहार र पदीय दायित्वको छेउटुप्पो थाहा नपाउँदा सरकारले संगीत नाट्यलाई गरेको करोडौँ लगानी बालुवामा पानी सावित भइरहेको बताउँछन्, सम्बन्धित क्षेत्रका विज्ञहरू !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here