हिजोको प्रचण्ड बेहोस हुनुहुन्थ्यो कि आजको ?

– बालकृष्ण ढुंगेल, पूर्वमाओवादी नेता

ओखलढुंगाका उज्जन श्रेष्ठ दाजुभाइको हत्या अभियोगमा दुईचोटि जेल परेर छुटेका पूर्वमाओवादी नेता बालकृष्ण ढुंगेल एकीकृत पार्टीमा भूमिकाविहीन छन् । प्रचण्डले जनयुद्धको जहाज डुबाइदिएपछि आफूजस्ता सयौँ कार्यकर्ताको बिचल्ली भएको निश्कर्ष उनको छ । पछिल्लोपटक जेल परेपछि कपनस्थित डेरा खाली गराउन घरबेटीले भनेको र अरुको डेरा तथा घरमा शरण लिँदै अहिले नीलोपुलमा कोठा पाएका छन् । मिर्गौलाको समस्या छ । उपचार गर्ने आर्थिक स्रोत छैन । पार्टीको बेवास्ता र धोकाधडी उस्तै छ ।
० उज्जन श्रेष्ठ प्रकरणबारे के भन्नुहुन्छ ?
– उज्जनको परिवारले न्याय पाएन, मैले पनि न्याय पाइनँ । कि उज्जन र उनका परिवारले वा बालकृष्ण र मेरो परिवारले न्याय पाउनुपथ्र्याे । कम्तीमा एउटाले न्याय पाउनुपथ्र्याे । यहाँ दुईटै पात्रले न्याय पाएन । अदालतले फैसला ग¥यो । सरकारले सजायँ भोगायो । भुक्तमान त भोगियो, तर न्याय कसैले पाएनौं । एउटा निश्कलंक, निष्पाप, आन्दोलनमा होमिएको व्यक्तिलाई कसरी अपराधी करार गरिँदोरहेछ भन्ने नमुना पात्रको रूपमा मलाई प्रयोग गरियो ।
० तपाईंलाई खुइल्याउन पार्टीकै मान्छे लागे वा बाहिरका ?
– बालकृष्ण पाखा लागेपछि भाग पाइन्छ भनेर आन्तरिक र बाह्य रूपमै मान्छेहरू लागे । आन्दोलनभित्रका केही साथीले सपोर्ट पनि गर्नुभयो तर कतिपय साथीले एउटा चरणमा पुगेपछि बेवास्ता गर्नुभयो ।
० तर, तपाईंको पक्षमा पार्टीका नेताले वकालत गरेको–बोलेको खासै सुनिएन नि ?
– हिजो जनयुद्ध सञ्चालन गर्दा समाज रूपान्तरणका निम्ति जुन सपना देखाएर पार्टी निर्माण गरियो, त्यो पार्टी नै रहेन । अहिले सबथोक निजी छ । नेता छैन, नेताजस्तो लाग्ने नेतृत्व छ । निश्चित आफन्तको घेरामा नाता, थर, गोत्र मिल्छ वा मिल्दैन सबै केलाइन्छ । यहाँ योगदानको होइन, अनुदानको कुरा हुन्छ । समस्याको पोको लगेर हुँदैन, समाधानको पोको लैजाने मान्छे चाहिन्छ । अहिलेको परिस्थितिमा मैले दिन सक्ने स्थिति नेतृत्वले देखेन । त्यही कारण मेरालागि कोही बोल्दैन ।
० तपाईंको हिजोको लिडर प्रचण्डको भूमिकालाई कसरी मूल्यांकन गर्दै हुनुुहन्छ ?
– हिजोको प्रचण्ड बेहोस हुनुहुन्थ्यो कि आजको प्रचण्ड ? निश्कर्ष निकाल्न सकेको छैन । आजको प्रचण्ड होसमा हो भने हिजोको प्रचण्ड बेहोसमा हुनुहुन्थ्यो । हिजोको प्रचण्ड होसमा हो भने आजको प्रचण्ड बेहोसमा हुनुहुन्छ । के हो ? पत्रकार जगतले नै उत्खनन् गरून् ।
० नेकपाको विवादले आज यो रूप लिनुमा उहाँको भूमिका के देख्नुहुन्छ ?
– हिजो हामी एमालेलाई संशोधनवादमा पतन भएको, प्रतिक्रियावादमा जाँदै गरेको भनेर आरोप लगाउँदै झण्डै प्रचण्डवाद नै बनाउने थितितिर उन्मुख थियौं । एमाले कित्ताको समीक्षा थियो– जनयुद्ध आतंक र अपराधबाहेक केही होइन । त्यसको समीक्षाबिना पार्टी एकता गर्नु हुँदैन, यसले राम्रो गर्दैन भन्ने मेरो बुझाइ थियो । नेतृत्वले पार्टी एकता गरिसकेपछि विधि, प्रक्रिया मिल्यो वा मिलेन त्यो त उदांगै छ । कसले खाने, कसले चलाउने भन्ने विषयमा पार्टी एकता गरिएको थियो । लामो समय ओलीले चलाएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर खान पाउने गिरोह लागिहाले । यो त ‘ग्याङ वार’ हो । विचारको वार हैन । शेरै शेरको पार्टी । माधव नेपाल प्रधानमन्त्री चलाउनुभएको, १५ वर्ष पार्टी हाँक्नुभएको, झलनाथ प्रधानमन्त्री चलाउनुभएको, १३ वर्ष पार्टी हाँक्नुभएको, प्रचण्ड पनि ३२ वर्ष वैकल्पिक सत्ताको अभ्यास गर्नुभएको । अर्काे प्रधानमन्त्री छन् । भेट्न जान प¥यो भने समय मिलाउनुपर्छ । हिजो उहाँको आदत थियो अरूलाई टाइम दिएर भेट्ने । सत्ताको स्वाद, लोभ र अहंकारको विम्बमा ग्याङ वार हो । डाडु आफैँले समाउनुपर्ने, आफैँले बाँड्नुपर्ने यो कसौंडीको लडाइँ मात्र हो, अरू केही होइन ।
० प्रचण्डले माधवको ढाडमा टेकेर प्रधानमन्त्री ओलीको ढाडमा हान्न खोज्नुभएको हो ?
– मान्छेभित्रको उत्कृष्ट मान्छे हो उहाँ । मान्छेले सबैलाई धोका दिएपछि बल्ल मान्छे हुन्छ । सबै मान्छेलाई धोखा दिन सक्ने मान्छे नेता हुन्छ ।
० पछिल्लो चरणमा प्रचण्ड के कारणले कमजोर हुनुभयो भन्ने लाग्छ ?
– हिजो उहाँ होसमा हुनुहुन्थ्यो वा बेहोसमा ?
० प्रचण्डलाई पार्टी एकीकरण गर्ने के बाध्यता आइलाग्यो ?
– पहिलो, चितवनमा चुनाव हार्ने डरले । अर्काे हो, नेपालमा वाम मुभमेन्ट समाप्त पार्न पार्टी एकता नगरी नसकिने अन्तर्राष्ट्रिय दबाब ।
० माओवादी आन्दोलनका तपाईंहरूजस्ता योद्धा ओझेलमा पारिनुपर्ने कारण के हो ?
– उहाँ हिजो होसमा भएर आज बेहोसमा भएका कारण हामी विघटित भयौं । हाम्रो योगदानको मूल्यांकन भएन । मजस्ता लाखौं मान्छे सडकबाहिर छाडेर जुन ब्याटल बोकेर जानुभएको छ, त्यसले उहाँलाई रक्षा गरेको देखिँदैन । उहाँले जसलाई विश्वास गर्नुभएको छ उनीहरूले प्रयोग मात्र गरेको देखिन्छ । सहयोग गरेको देखिँदैन ।
० तपाईंको सिंगो जीवन, जवानी पार्टीका लागि लगाउनुभयो । तर, आज यो स्थितिमा हुनुहुन्छ । कत्तिको पश्चाताप लाग्छ हिजो हिँडेको बाटोप्रति ?
– प्रष्टैसँग भन्नुपर्छ, नेपालमा जुन उद्देश्यका लागि राजनीति लडियो, हाम्रो कारण त्यो उद्देश्य बांगिएको छैन । हामीले गर्नुपर्ने योगदान, त्याग, निर्वाह गर्नुपर्ने बलिदानको मोर्चामा कुनै कञ्जुस्याइँ गरिएन । संयोग, दुश्मनले नमारिदिएर बाँचेका हौँ । आफ्नो सेनाको घेरामा बसेर कमाण्ड गर्न त सजिलो हुन्छ, तर दुश्मनको घेराभित्र पसेर, १० औं वर्ष जेलमा कठोर यातना बिताएर आफ्नो निष्ठा, आस्था जोगाएर कठघराबाट बाहिर आउनु चानचुन कुरा हुँदैन । प्रचण्ड जेल परेको भए पो यातना के हो ? थाहा हुन्छ । बेल्ना लगाउँछ भन्यो भने रोटी बेल्ने बेलना हो वा अरू नै ? रोल लगाएर पेल्छ भन्यो भने उहाँहरूले थाहा पाएको क्रिम रोल, बटर रोल, चिकेन रोल । हामीले भोगेको रोल अर्कै छ । होसमा हुँदा त समीक्षा हुँदैनथ्यो, अहिले बेहोसीमा के समीक्षा होला र ?
० नेकपाको भविष्य के देख्नुहुन्छ ?
– जनताको स्तरबाट नेकपालाई माया गरेकै देखिन्छ । सरकारसँग यति धेरै ताकत (बहुमत) हुँदा पनि राम्रो निर्णय गर्ने, ऐनले पारेका समस्या चुड्कीको भरमा संशोधन गरेर लैजान सक्नेजस्ता काम नगरेपछि उतिसाह्रो उज्ज्वल भविष्य देखिएको छैन ।
० आगामी चुनावी परिदृश्य कस्ता देख्नुहुन्छ ?
– कति बागी, कति दागी र त्यागी उठ्ने हुन् । पार्टी जुट्ने वा फुट्ने हो– टुंगो छैन । परिणाम त पटक–पटक नेपाली जनताले देखाइदिएका छन् । ०६२ को आन्दोलनपछि माओवादीलाई तागत दिएर मुसाको छोरी मुसैलाई भनेझैं बनाइदिए । अहिले एकता गर्दा जनमोर्चा र एमालेबीचको एकताझैं हो । माओवादी र एमालेबीच एकता हुन सकेको छैन । अहिले पनि एकले अर्काेलाई खुइल्याउने, एकले अर्काेको अवमूल्यन गर्ने, हामीजस्तालाई सडकमा फालेर चुनावमा जाँदा फेरि परिणाम त निस्किहाल्छ । लामो कम्युनिष्ट आन्दोलनमा म पूर्णकालीन भएर हिँड्दा नसमेटिएका मान्छेहरू आज नेता, विद्वान्, विशेषज्ञ बनाइएका छन् । केन्द्रीय कमिटीको बैठकमा पृथ्वीनारायण शाहले काटेको नाकको पैचाँै तिरिन्छ, तिनको पनि नाक काटिन्छ भन्नेहरू कम्युनिष्ट पार्टीको नेता छन् । ती नेता भएका ठाउँमा बालकृष्ण ढुंगेलजस्ता पात्रको योगदान, इतिहासको कदर गर्नुपर्छ भनेर प्रचण्डकहाँ कुरा लाने मान्छे छैन ।
० कम्युनिष्टको संगठन, संरचना कत्तिको मेल खाएको देख्नुहुन्छ ?
– नेपालमा ५ वटा बच्चा जन्मियो भने तीन जना आफैं कम्युनिष्ट विचारधाराको हुन्छ । कसैले माक्र्सवाद सिकाइरहनु पर्दैन । यो जिनमा आएको कुरा हो । नेपालीहरू किन विद्रोही हुन्छन् ? किन लेफ्ट मुभमेन्ट चाहन्छन् ? फेरि स्वभावैले कम घात गर्छन् । भान्सामा लगेर विष हाल्ने काम गर्दैनन् । अहिले यो जिनै समाप्त पार्नका लागि अभ्यास भइरहेको समयमा संरचनागत समस्या हल हुन्छ भन्ने लाग्दैन ।
० भारतले भरमग्दुर प्रयास गर्दा पनि मिलाउन नसकेका मधेसी दल हठात् आएको एउटा अध्यादेशका कारण एक भए । यससँगै मधेशमा नेकपाले झण्डै पचास सिट गुमाउने देखिँदै छ । पहाडतिर कांग्रेसले आफ्नो उपस्थिति बाक्लो बनाउँदै छ । अब नेकपाको भविष्य कस्तो देख्नुहुन्छ ?
– नेपालमा वामपन्थीय मुभमेन्ट विघटन गर्नतिर नेताहरू लागेका छन् ।
० हामीकहाँ दण्डहीनताको अवस्था कस्तो देख्नुहुन्छ ?
– न्याय हराएको, न्याय बिक्री भएको देशमा दण्डहीनताको स्थिति कस्तो होला ? हिजो सर्वाेच्च अदालतले कानुन, आफ्नो नजिर सिरानीमा हालेर मेरो न्यायमाथि बलात्कार गरेको पात्र हुँ भनेर बोल्दा संसार नै मलाई लखेट्न लाग्यो । ०६२÷६३ पछिको रायमाझी आयोगको प्रतिवेदन गायब पार्नु नै नेपाली जनतामाथि धोका दिनु हो । आज प्रचण्ड, बाबुराम, ओली, देउवा कसैलाई त्यो आयोगको प्रतिवेदन चाहिएको छैन । जनताको आवेगलाई निस्तेज पार्नका लागि आयोग बनाउने ? रायमाझी आयोगको प्रतिवेदनमाथि ओथारा बसेर खिलराज रेग्मी र लोकमानसिंह कार्कीजस्ता चल्ला जन्माउने ? अनि तिनै नेताले यो देशको विकास गर्छाैं, निकास दिन्छौं भन्दा हामीले पत्याइदिनुपर्ने ? बालकृष्ण ढुंगेलजस्ता लाखौं पात्र साइड लागिसके, अब किनारा नलागेका लाखौं पात्र साइड लाग्छन् । उहाँहरूको न्यायिक यात्रा हो भने रायमाझी आयोगको प्रतिवेदन सार्वजनिक गर्नुप¥यो । नभए रायमाझी आयोग बनाउनु गलत थियो भनेर जनतामाझ सार्वजनिक रूपमा माफी माग्नुप¥यो ? बालकृष्ण ढुंगेललाई जेल हाल्न नांगै जुलुस निकाल्ने मानव अधिकारवादी रायमाझी आयोगको प्रतिवेदनका लागि किन नांगिन तयार छैनन् ? नागरिकले ऐनमा पाएको माफीको सुविधासमेत दिनुहुँदैन भनी सनक्रिम दलेर बबरमहलमा उर्लने शुद्धतावादीहरू आज किन रायमाझी आयोगको प्रतिवेदन खोज्दैनन् ?
० यी सबै परिदृश्य देख्दा एउटा योद्धामा फ्रस्टेसन आउँछ कि आउँदैन ?
– फ्रस्टेसन आएर त हो, लोकेन्द्र विष्टजस्ता नेता ड्रागन खेती गरेर बस्नुपरेको । उहाँको योगदान, उहाँले भोगेका यातनाका डाम सोध्नुस् त ! म त सम्हालिँदै छु । खराब भए फेरि पनि संग्ल्याउनेमा पर्छु । माधव नेपाल र गिरिजाहरूको आफ्नै घरलाई ज्ञानेन्द्रले भद्रगोल जेल र गोलघर नबनाउँदासम्म उहाँहरूको बुद्धि फिरेको थिएन । प्रचण्ड सुटकेस बाँधेर, टाई लाएर, दही खाएर हिँड्न ठिक्क पर्दा पनि अष्ट्रेलिया जानबाट किन रोकिनुभयो ? बालकृष्ण सानो डिल्लीबजार जेलमा कैद भए, प्रचण्ड ठूलो जेलमा कैद हुनुहुन्छ ।
० प्रधानमन्त्री ओलीका गुण र अवगुण के–के देख्नुहुन्छ ?
– उहाँलाई लाग्या कुरा फ्याट्ट भनिदिने हो । कूटनीति होइन, राजनीति गर्ने हो । ०६२/६३ को आन्दोलनयता माओवादी आन्दोलनलाई समर्थन गरेर आजसम्म एक ठाउँमा बोल्नुभएको र कुनै नेताको चाकडी–चाप्लुसी गरेको पनि थाहा छैन । एकता कसरी भयो पनि थाहा छैन । प्रचण्डले मैले गर्न सकिनँ भनेर पोको मिसाएको हो वा बग्दै बग्दै जाँदा दोभान आइपुगेर मिलन भएको हो । ओलीले आजसम्म म गणतन्त्रवादी नेता हो भन्नुभएको छैन । उहाँ आफ्नो मिसनमा इमान्दार ढंगले लाग्नुभएको छैन । अवगुण थाहा पाउनका लागि त संगत गर्नुपर्छ । मैले संगत गरेको छैन । टाढाबाट हेर्दा त हिमाल हेरेझैँ देखेको छु । खाली खुट्टाले, फाटेको जाँघे लगाएर हिमालसँग संगत गर्न पाएको भए थाहा हुन्थ्यो कि हिमाल कति बेइमान रहेछ ।
० तपाईं सुगर, प्रेसर, मुटुको रोगले थलिनुभएको छ । आफ्नै व्यक्तिगत जीवन, खाइजीविका कसरी चल्दै छ ?
– श्रीमती र छोरी जागिरे, पैतृक सम्पत्ति मासिएको छैन । थोरै अनाज त्यताबाट आउँछ । रवाफिलो जीवनशैली छैन । साधारण जीवन, तर कष्टकर तवरले बाँचिरहेको छु । मभन्दा धेरै कष्टकर जीवन बाँचिरहेका श्रमिकहरू पनि हेरेको छु । अहिलेसम्म कोही–कसैको चित्त दुखाएर एक गाँस भात खाएको छैन । १४ थरी औषधि खान्छु । तर, स्लिपिङ ट्याबलेट प्रयोग गर्नुपरेको छैन । आफैं निदाउन सक्छु । यो पृथ्वीमा आफैं निदाउन सक्ने मान्छे थोरै हुन्छन् । तीभित्र म पनि परेको छु । जिन्दगीलाई पछाडि फर्कंदा आत्मग्लानि गर्नुपर्ने ठाउँ कतै छैन । त्यसकारण नमीठो फिल भएको छैन । जे जस्तो छ, जिन्दगी चल्दैछ । देख्नु र भोग्नु अनेक परे पनि अचानोझैँ छातीलाई सहनशील बनाएको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here