संसार बदल्नकोे लागि हाम्रो भावना

कृष्णहरि देवकोटा
मानिस नै त्यस्तो प्राणी हो, जसले यो धर्तीलाई नर्क पनि बनाइदिन्छ र फेरि यो धर्तीलाई स्वर्गमा रुपान्तरण गरिदिन पनि सक्दछ । मानिस बाहेक अरु कुनै पनि प्राणी छैन, जसले संसारलाई बदल्न सकोस् । हामी बदलिए हाम्रो संसार बदलिन्छ । हामीलाई बदल्ने भनेकै हाम्रो सोच, विचार र दृष्टिले हो ।
हामी जे सोच्छौं, त्यही गर्छौं । जे देख्छौ, त्यही गर्छाैं । त्यसैले जहिले पनि हाम्रो विचार र हाम्रो हेराइ सही हुनुपर्छ । विचार अनुसारको व्यवहार र दृष्टि अनुसारको सृष्टि हुने हो । राम्रो सोचिरहनेले राम्रै कार्य गर्दछौं । नराम्रो मात्र सोच्नेहरुले नराम्रो नै गर्दछौं । नराम्रो देख्नेले नराम्रै र राम्रो देख्नेले राम्रै सृष्टि गर्दछौं । राम्रो र नराम्रो सोच्ने अरु कोही हैन हाम्रो आफ्नै मन हो । मनको कामै सोच्ने मात्र हो । सोच कस्तो हो भनेर पारख गर्ने काम बुद्धिको हो । मनले सोचेका भावनाहरु राम्रा पनि हुन्छन् र नराम्रा पनि । तर सो अनुसार गर्ने या नगर्ने भनी पारख गरी सुझाउने काम बुद्धिको हो । सुझाए अनुरुप काम गरिदिने हाम्रा इन्द्रियहरु हुन् । इन्द्रियहरु जहिले पनि आदेश पर्खेर बस्ने इमानदार गोठालाहरु हुन् ।
हाम्रो मन संसारको सबै वस्तुहरु भन्दा चलायमान हुन्छ । मनले छिन भरमा धेरै कुराहरु सोच्ने गर्दछ । सोच राम्रा पनि हुन्छन् र नराम्रा पनि । त्यसको पहिचान तथा पारख गर्ने काम हामीभित्रको विवेक वा बुद्धिको हो । संकल्प आएपछि मात्र मानिसले कार्य गर्ने हो । संकल्प आउना साथै कार्य गर्न लागियो भने परिणाम जस्तो पनि आउन सक्दछ । संकल्पलाई व्यवहारमा उतार्नु भन्दा पहिले बुद्धि लगाएर निर्णय गर्नु पर्दछ ।
हाम्रो शरीर पञ्च भौतिक तत्व पृथ्वी, जल, वायु, अग्नि र आकाशबाट बनेको छ । यो जड शरीर आफैं चल्दैन । यो भौतिक शरीरलाई चलाउने एक चैतन्य सत्ता छ । त्यो हो आत्मा । कसैले यसलाई चेत पनि भन्ने गर्दछन् । आत्मासँग तीन वटा शक्ति हुन्छन् । ती हुन् मन, बुद्धि र संस्कार । मन भनेको सोच्ने क्षमता हो । बुद्धि भनेको पारख गर्ने शक्ति हो । संस्कार भनेको हाम्रो व्यवहार, बानी, हामीले जीवनभर बारम्बार गर्दै आएको कर्म आदिबाट प्राप्त कार्यानुभूतिको अमेट छाप हो । हामीले शरीर छोडे पछि सँगै जाने यही संस्कार हो । शरीर त पञ्च भौतिक तत्वले बनेको हुन्छ । यसैमा मिल्न पुग्छ । बाँकी संस्कार मात्र चैतन्य शक्तिसँगै साथमा जान्छ । संस्कार नै बीज हो । राम्रो बीउ रोपे राम्रै फल्छ र नराम्रो बीउ रोपे फल नराम्रै मिल्छ ।
हामीले हाम्रो जीवनभर गरेका काम र हामीले देखाएको व्यवहार अनुसार संस्कारहरु पनि राम्रा र नराम्रा हुन्छन् । शरीर काम गर्ने माध्यम हो । काम गराउने चेतनशक्तिले हो । कल्प–कल्पमा अथवा जन्म–जन्ममा चेतनशक्ति (आत्मा) द्वारा गरिएका काम र व्यवहारहरुबाट नै संस्कार बन्ने हो । हाम्रो संस्कार अनुसार मनमा भावनाहरु अथवा संकल्पहरु आउने गर्दछन् । हामीभित्रको खराब संस्कारले खराब विचार (संकल्प) पैदा गराउँछ । त्यो खराब विचारलाई नियन्त्रण नगरी कार्य गरेमा त्यसले हाम्रो व्यक्तिगत जीवनलाई त बर्बाद पार्दछ नै साथै अरुको जीवनलाई पनि त्यसैगरी बर्बाद पार्न सक्दछ । परिणाम यति भयावह पनि हुन सक्छ कि सिंगो मानव समाज र विश्वलाई नै बर्बाद पार्न सक्दछ । दुर्मतिबाट नै दुर्गति हने हो । मानिसको नकारात्मक सोचका कारण नै मानिसले दुःख, पीडा, भय र आतंक भोग्न परिरहेको छ । मानिसको गलत कार्यको कारण मानिसले मात्र हैन तमाम जीवात्मा नै प्रताडित बनेको हुन्छ । आतंक, कोलाहल, हिंसा, व्यभिचारको चपेटामा पर्दछ ।
हाम्रो मनमा रहेका विकारहरु अथवा क्लेसहरु जस्तै काम, क्रोध, लोभ, मोह, अहंकार, द्वेष, इष्र्या आदि नै कुसंस्कारहरु हुन् । दया, स्नेह, करुणा आदि हामीमा रहेका असल संस्कारहरु हुुन् । असल संस्कारहरुले संकल्पहरु पनि राम्रै पैदा गर्दछन् । जसको कारण राम्रा कार्यहरु हुन जान्छन् । यसको परिणाम पनि राम्रै हुन्छ । जसले गर्दा हामी खुशी र आनन्दित हुन सक्दछौं । साथै अरु व्यक्तिहरुलाई पनि आनन्दित तुल्याउन सक्दछौं । मानवताको हित, प्राणी जगतको भलो, समाजको सुख, शान्ति, प्रगति, समुन्नति चिताउनेहरुले नै समाजमा सुखशान्ति र समृद्धि ल्याउन सफल हुन्छौं ।
मनको काम त सोचिरहने हो । विचारहरु दिने हो । यो विचार पैदा गर्न मद्दत गर्ने हामीले लिएर आएको वा बनाएको संस्कारले हो । खराब संस्कारले भरिएको आत्मामा रहेको मनले नकारात्मक विचारहरु नै ज्यादा पैदा गर्ने गर्दछ । असल संस्कारले भरिपूर्ण आत्माको मनभित्र सकारात्मक विचारहरु नै ज्यादा निस्कन्छन् । सकारात्मक भावनाहरु मात्र निकाल्ने मानिसहरुबाट राम्रा कामहरु हुने गर्दछन् । मनमा सकारात्मक, नकारात्मक दुवै किसिमका विचार तथा भावनाहरु आउँछ । कुन विचारको कार्यान्वयन गर्ने भन्ने कुरा बुद्धिको हो । मनलाई बुद्धि लगाएर नियन्त्रण गर्न सकियो भने हामीबाट नराम्रा कार्यहरु हुन सक्दैनन् । सकारात्मक संकल्पहरु मनमा आइरहुन् भन्नको लागि हामीले आहारविहार, व्यवहार, सत्संग, सोध–अध्ययन्, ज्ञान, ध्यान, चिन्तन–मनन्, शील, अनुशासन आदिलाई ध्यान दिनु पर्दछ । मनमा रहेका क्लेशहरुलाई काट्ने प्रयास गर्नु पर्दछ ।
यसको लागि विशेषगरी खानामा ध्यान दिनु पर्दछ । अन्न अनुसारको मन भनिन्छ । आहारविहार अशुद्ध रहे यसले मनलाई प्रभाव पार्छ । मनले गलत संंकल्प गर्न थाल्छ । गलत संकल्पले हाम्रो दृष्टि पनि गलत बनाइदिन्छ । गलत दृष्टिले गलत सृष्टि हुन जान्छ । हामीले गर्ने कार्यहरु गलत हुन्छन् । निर्माण भन्दा विनाश वा तोडफोड हुन सक्छ ।
त्यस्तैगरी संगतले मानिसलाई महान पनि बनाउँछ र रक्षानमा तथा रसातलमा पनि पु¥याइदिन्छ । ज्ञानी मानिसको संगतले र असल सत्संगले महान पनि बनाइदिन्छ । फटाहा, दुव्र्यसनी, जँड्याहा आदिको संगतले उनीहरु जस्तै बनाइदिन्छ । त्यस्तै असल मानिसले लेखेका किताबहरु पढ्नाले हामीलाई सुमार्गमा लाग्न प्रेरित गर्दछ भने अश्लील र उट्पट्याङ लेखहरु पढ्नाले मनको चिन्तनलाई नै बिगारी दिन्छ, हामीमा भड्काउ आउँछ, मन दिग्भ्रमित बन्छ र यसले हामीलाई गलतमार्ग रोज्न उक्साउँछ । यसले आप्mनो जीवनलाई बर्बाद त गर्दछ नै अरुलाई पनि सताउँछ । शान्ति अमनचयनमा रमाउन चाहने व्यक्तिहरुलाई पनि रमाउन दिँदैन ।
राम्रो विचार मनमा ल्याउनु, सकारात्मक चिन्तन गर्नु, गलत सोच र नकारात्मक चिन्तनलाई मनमा नल्याउनु वा आफ्नो भलो सोच्नु र अरुको पनि भलो नै होस् भनेर सोच्नु नै शुभभावना हो ।
हामीले आफ्नो त भलो चाहन्छौं तर अरु सबैको भलो होस् भनेर भने हामीमध्ये थोरैले मात्र सोच्ने गर्दछौं । ज्ञानीहरुले मात्र सबैको भलो सोच्दछन् । तिनीहरु यति महान हुन्छन् कि उनीहरुको मनमा शुभ संकल्पहरु नै ज्यादा चल्दछन् तर अशुभ संकल्प आउँदै आउँदैन भन्ने चाहिँ हैन । अशुभ संकल्पहरु वा नकारात्मक कुरा पनि मनमा आउँछन् तर बुद्धिको सहयोगले पारख गर्दछन् । गलत चिन्तनलाई हटाई शुभ संकल्पहरुलाई बढाई रहन्छन् र व्यवहारमा उतार्न कोसिस गर्दछन् । यसले उनीहरुको पनि कल्याण गर्दछ साथै अरुको पनि कल्याण गर्दछ ।
हामी सबैले बिहान सबेरै उठेदेखि नै सबैभन्दा पहिले आजको मेरो दिन शुभ रहोस्, मैले मेरो हितमात्र हैन अरुहरुको हितको लागि पनि कल्याणका काम गर्न सकुँ, मैले मानवको मात्र हैन प्राणी जगतकै हितमा केही गर्न सकुँ, धर्ती मातालगायत चराचर सबैको लागि राम्रो कार्य गर्न सकुँ, परिवारका सदस्य, वरपरको समाज, देश र विश्वका सबै प्राणीको कल्याण होस् भन्ने संकल्प मनमा राख्यौं भने वातावरण नै राम्रो हुन्छ । यसको लागि केही मेहनत पनि छैन र केही खर्च पनि हुँदैन । सबैले यो संकल्प गर्ने हो भने त्यसको तरंग हाम्रो वरपरको वातावरण, वायु मण्डल र आकाशमा फैलिन जान्छ र विश्वलाई नै प्रभाव पार्न सक्छ । सबै जगतको सुख, शान्ति, समानताको लागि मनमा पैदा हुने सद्भावले सबैलाई बदलिदिन्छ । तर हाम्रो मनमा पैदा हुने अशान्तिले, हामीले सोच्ने प्रतिशोध, इष्र्या, डाहा, लोभ, लालच, अहमता आदि भावनाले वातारण नै बिगारिदिन्छ । सिंगो प्राणी जगतलाई आतंकित र भयभीत बनाउँछ । अरुको कुभलो सोच्नाले त आफैंलाई पनि शक्तिहीन र कमजोर बनाउँछ ।
हामीले सोच्ने गर्छांै– साथीभाई, परिवारका सदस्यहरु र समाज बदलिदिए हुन्थ्यो । संसारमा व्याप्त यो दुःख, अशान्ति, कोलाहल, आतंक हटेर सुख, शान्ति, प्रेम, अमनचयन कायम भइदिए हुन्थ्यो भनेर । आफू कस्तो छु । म भित्र के–के कमी छ । कमीलाई कसरी हटाउने भनेर सोच्ने भन्दापनि अरु राम्रो भइदिए हुन्थ्यो । राम्रो व्यवहार देखाइदिए हुन्थ्यो भनेर सोच्दछौं । अरुलाई बदल्न सकिएला, नसकिएला पहिले आफैं त बदलिऊँ । हामी बदलिए हाम्रो प्रभावले अरु पनि बदलिन सक्छन् । अनिमात्र संसार बदलिन्छ । संसार बदल्ने हाम्रो भावनाले हो । हाम्रै संकल्पशक्तिले हो । शुभ संकल्प र शुभभावनाको तरंग चारैतिर लहराउन थाल्यो भने सोही तरंगद्वारा संसारको रुपान्तरण हुन्छ । यो धर्ती नै स्वर्गमा बदलिन्छ । मानव लगायत सबै प्राणीहरु सुखी हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here