पुष्कर पन्त :- विदेशको मान,स्वदेशमा गुमनाम

नेपालको खेल क्षेत्रमा बर्सेनि अर्बाै लगानी भइरहेको छ । यद्यपि प्रतिभावान खेलाडीहरू किन यहाँ टिक्न सक्दैनन् ? हरपल आँशु पिएर बाँच्न किन र कसरी बाध्य हुन्छन् पुष्कर पन्तजस्ता क्षमताका धनी खेलाडी ?
लाग्छ, उनको मन मस्तिष्क र मुटुमा रगत होइन, खेल बगेको छ । आजभन्दा साढे चार दशकअघि नेपालको विकट बैतडी जिल्लामा जन्मिएका हुन् पन्त । नाताले सांसद उर्वादत्त पन्तका भाइ, उनकै भतिज हुन् नयाँ पत्रिकाका खगेन्द्र ।
तर, पुष्करले यो बीचमा मनकै कुनामा पोको पारेर राखेका पीडाका पहाड  पोखेका छन् ।

स्कुले जीवनका सात कक्षासम्म दैनिकी घण्टौं पैदल हिँडेर एउटा गाउँबाट अर्काे गाउँमा पुगी विद्या हासिल गरे । त्यसपछि परिवार नै बसाइँ स¥यो महेन्द्रनगरतिर । पिता प्रहरी सेवामा । महेन्द्रनगर माविबाट फलामे गेट मानिने एसएलसी पार लगाए । पढाइमा सदैव अब्बल । बुबाआमाको छोरालाई डाक्टर बनाउने लक्ष्य थियो तर पुष्करको मन त्यतिखेर युटर्न भयो जतिखेर घरबाट क्याम्पस जाँदा बाटैमा कभर्ड हलमा खेलाडीले प्रतिस्पर्धा गरिरहेको देखे । त्यही पछि हो डक्टर बन्ने सपनालाई तिलाञ्जली दिएर खेलाडी बन्ने अभियानमा होमिएको । बुबाआमालाई आग्रह गरे । तर, कुनचाहिँ नेपाली बुबाआमा चाहन्छन् र छोरा खेलाडी बनोस् !


मनको कुनामा खेलाडी बन्ने दृढ इच्छाशक्ति जागिसकेको थियो तर कसरी ? भन्छन्, जहाँ इच्छा त्यहाँ उपाय । पुष्करको दिमागमा उपाय फुरिहाल्यो अब होस्टलमा बसेर पढ्ने । बुबाआमालाई इच्छा सुनाए । लालमोहर लाग्यो । होस्टल बसेर पढ्न थालेपछि फुक्काफाल भए । मनमौजी ढंगबाट चल्न पाए । अब उनका पाइला विज्ञानका क्लासमा कम र कभर्ड हलतिर बढी पर्न थाल्यो । तर, बुबाआमाको आँखा कतिञ्जेल छल्न सकिन्थ्यो र ? चाल पाइहाल्नुभयो । वैज्ञानिक, प्रोफेसर बन्ला भनेको छोरा मुक्केबाज बन्न थालेको बुवा–आमालाई पचेन । तर, नपचे पनि के गर्नु ?
०४९ सालताका राष्ट्रियस्तरको प्रतियोगिता भइरहेको थियो बक्सिङतर्फ । रिजनल टुर्नामेन्टमा गोल्ड मेडल हात लाग्यो । पुष्करमा त खुशीको सीमा थिएन तर बुबाआमा……. ?
डक्टर पढ्न पठाएको छोरा मारकाटको खेलमा लागेको चाल पाएपछि छिमेकीले अनेकथरी कुरा काटे । फलानको छोरा बिग्रिएछ । पिट्ने पिटाउनेतिर पो लागेछ भन्दै एक कान दुई कान हुन थाल्यो । आफन्त र घरपरिवार उनको पक्षमा थिएनन् । त्यही कारण पुष्करका पाइला घरमा टिकेनन् र लम्किए अन्धकारमै काठमाडौं ।

तर, कहाँ प्रिय छ र काठमाडौं ! एक दिन गोरखापत्रको एउटा विज्ञापनमा आँखा ठोकिकयो । बक्सिङ खेलाडीको लागि अवसर भन्ने विज्ञापन छापिएको थियो त्यही विज्ञापनले डो¥याउँदै ल्याइपु¥यायो कान्तिपुरी नगरी ।
तिनताक प्रकाश गुरुङ बक्सिङ संघको अध्यक्ष । उनैले विज्ञापन निकालेको । राम्रै प्लेटफर्म पाएँ भन्ने मात्र सोचेनन्, कल्पनामा उड्न थाले । अबको दुई वर्षभित्रै राष्ट्रिय स्तरमा छाउँछु । तर, यहाँभित्रका खुराफात, जालझेलबारे थोरै पनि ज्ञान थिएन । त्यहाँ भेटे, मदन गुरुङ र पहिलो कोच सुरेश सिंह आलेलाई । काठमाडौं छिरेपछि आड–भरोसा थिए ठूलोबुबाका छोरा उर्वादत्त पन्त । उनको भित्री इच्छा थियो भाइ एकेडेमिक ज्ञान हासिल गर्नतिर लागोस् । त्यही कारण बागबजारतिर कम्प्युटर इन्स्टिच्युटमा लगेर भर्ना पनि गराइदिए ।

पुष्कर जहाँ छिर्छन्, त्यहाँ अब्बल भएर निस्कछन् । जुन काम गर्छन् मनैदेखि गर्छन् । कम्प्युटरमा पनि किरा भएर निस्किए, ट्रेनिङ लिँदालिँदै ट्रेनिङ दिने भए । तर, उनको मन कम्प्युटरमा कम र बक्सिङतिरै बढी थियो । कम्प्युटरसँगै ६ महिनापछि प्रोफेसनल बक्सिङका लागि ट्रेनिङ हुँदै थियो । सेमी प्रोफेसनल टेष्ट म्याचमा सेकेण्ड राउण्डमै प्रतिष्पर्धीलाई नकआउट गरे । त्यहाँबाट खेलकुद यात्रा शुरु भयो । काठमाडौं डबलीमा टुबोर्ग कप आयोजना भइरहेको थियो । कृष्णमान श्रेष्ठ तत्कालीन कोच । उनैलाई आग्रह गरे । प्रतिद्वन्द्वीले साउथ एशियन गेम खेलिसकेका । उनीसँगै भिडे र तीनवटै राउण्ड जिती मेडल उचाले । यसरी राष्ट्रियस्तरको पहिलो गोल्ड मेडल जिते ।
दोस्रो राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता ०५४, टुबोर्ग राष्ट्रिय बक्सिङलगायत प्रतियोगिता जिते । बीचमा चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगञ्जमा भयो । ओपन टुर्नामेन्टमा उनलाई खेल्नै दिएनन् । रोए, कराए, मन्त्रालय, खेलकुद परिषद्मा निवेदन दर्ज गराए । कोचका आसेपासेले मात्र खेल्ने अवसर पाए । उनको पक्षमा बोलिदिने कुनै कोच भएनन् । चाकडी गर्न जानेनन् ।
फेरि एसियाड हुने भयो । त्यसका लागि प्रतिस्पर्धामा उत्रिए । सेलेक्सन भए । राष्ट्रिय स्तरका च्याम्पियन । तैपनि, पुष्करको नाम काटियो । उनीसँग खेल्न अरु पनि डराउँथेँ । प्रोफेसनल बक्सिङ खेलेको आरोपमा एकपछि अर्काे अवसरबाट वञ्चित गरियो तर उनीसँगै प्रोफेसनल खेलेका र उनले हराएका साथीहरू त्यहाँ सहभागी थिए । १३औँ एसियाडमा सहभागी हुनबाट वञ्चित भए । बीचमा खेलाडीका नाममा गैरखेलाडी बाहिर पठाउने धन्दा चल्यो । प्रोफेसल बक्सिङ बन्द भयो । अरू खेलमा उनले खेल्नै नपाउने । यो समय डिप्रेसनबाट गुज्रिए । शरत्सिंह भण्डारी, पूर्णबहादुर खड्का मन्त्रीसम्म कुरा पुग्यो तैपनि कहीँ–कतैबाट सुनुवाइ भएन ।


जालझेल र अत्याचारको पनि सीमा हुन्छ । एउटा शिखरमा पुगेको व्यक्तिलाई फेरि शून्यमा झर्न बाध्य तुल्याइयो । च्याम्पियन, राष्ट्रिय स्तरमा जितेको व्यक्तिलाई तपाईलाई खेल्न दिइन्छ तर जिल्ला र क्षेत्रबाट जितेर आउनुस् भनियो हिम्मत हारेनन् । जिल्ला, महेन्द्रनगरबाट छनोट भए । पाँचौं राष्ट्रिय खेलकुदको तयारी हुँदै थियो । दुर्भाग्य जुन दिन प्रतियोगिता हुँदै थियो त्यही समय दरबार हत्याकाण्ड भयो । त्यसपछि लाग्यो अब खेलकुदको जीवन सकियो ।
निराशाको ग्राफ यसरी चुलिँदै गयो कि घरमा आमाबुबाले भनेको किन नमानेको होला, दाइले हप्काउँदा पनि किन नटेरेको होला ? न त पढाइमा फर्कन सक्ने न त खेलकुदमै सफल हुन सक्ने । साथीहरू सोध्न थालिसकेका थिए, साफ कहिले खेल्नुभयो ? तर किन साफ खेल्न पाइन भन्ने दुःखको पहाड उनी कसरी बिसाउन सक्थे र साथीहरूसँग !
कठिन परिस्थितिमा पनि गलत बाटो रोजेनन्, हिँडेनन् । तनावले शरीरको रोम–रोम गाँजेको समयमा पनि पुगे आरोग्य आश्रम । भेटे त्यहाँका सञ्चालक डा. प्रमोद गौतमलाई । र, बिसाए दुःख । त्यहाँबाट तीन महिनाको तालिम लिएपछि एकपटक ऊर्जा आयो । म आफू कमजोर होइन । किन डिप्रेसन भइरहेको छु भन्ने प्रश्न उठ्यो । र, मनको कुनामा क्लिक भयो देशमा अवसर नपाएर के भयो, अब अन्तर्राष्ट्रिय रूपमा अवसर खोज्छु ।
तर, नेपाली खेल क्षेत्रमा यस्ता–यस्ता भाइरस छन् जसले पुष्करलाई कहीँ–कतै टिक्न दिएन । यताबाट विदेशमा मेल पठाए । युएस बक्सिङ संघको महासचिवले मेलको रेस्पोन्स गर्दै जवाफ फर्काए– यदि तिमी राम्रो खेलाडी हौ भने ६ महिनाको स्कलरसिप दिन सक्छौं, आऊ खेल्न । उसको शर्त थियो त्यसका लागि ओलम्पिक कमिटीबाट लेटर लिनुपर्ने । ओलम्पिक कमिटीमा रुक्मशमशेर राणा प्रमुख । ६ महिनासम्म झुलाए तर लेटर दिएनन् । देशले त अवसर दिएन नै व्यक्तिगत प्रयासबाट बाहिर जान्छु भन्दा पनि पाइएन, कारण थियो राजनीति लेफ्ट मुभमेन्टतिरको हुनु ।
चौधौँ एसियाडको मुखमा कृष्ण श्रेष्ठहरूकै आग्रहमा ओपन च्याम्पियनमा खेल्ने अवसर पाए । आर्मीको प्रतिद्वन्द्वी थियो यद्यपि उसलाई तीनवटै राउण्डमा हराए । चिफ कोचले त्यही खेलाडीकै भीडमा बोले– आखिर शेर शेरै हुँदो रहेछ ट्रेनिङ गरे पनि नगरे पनि । अबचाहिँ एसियाडमा सहभागी भएर देशको नाम राख्छु भन्ने सोच्न नपाउँदै फेरि पनि जालझेल गरियो, उनले अघिल्ला गेमका हराएका मान्छेलाई एसियाड पठाइयो । जो रिगमै नगई हारे । त्यही एसियाड थियो, जहाँ गएका ६ खेलाडी विदेशतिर पलायन भए ।


कराँतेको एक जना अग्रज जनक सुवेदीले उनको खेल हेरेका रहेछन् । यसर्थ करातेमा आउन आग्रह गरे । ११ महिनाको तालिमपछि ब्ल्याक बेल्ट पाए । पछि व्यक्तिगत रूपमा युरोपतिर कोसिस गरे । स्पेनमा भएको सो गेममा २१ वटा देशले भाग लिएका थिए । जहाँ फाइनलमा पोर्चुगलसँग १ स्कोरले पराजित भएर उनी दोस्रो भए । त्यो स्वर्णिम क्षण रह्यो उनका लागि । स्वदेशले पुष्करको प्रतिभा चिनेन त के भयो ? विदेशमा आफ्नै तवरबाट प्रयास गरेर थुप्रै मेडल र उपाधि हात पारेका छन् । पोर्चुगलको कोचले तपाईं यहींबाट खेल्नुहोस्, राम्रो सुविधा दिन्छु भन्ने प्रस्ताव राखे । तर, उनको मन, मुटुमा स्वदेशप्रतिकै अगाध प्रेम थियो र फर्किए स्वदेश । पुनः जर्मनी पुगेर त्यहाँको टुर्नामेन्ट जिती फर्किए । रसियाबाट वल्ड च्याम्पियसनसिपमा उपाधि जितेर फर्किए । जापानले पुष्करको प्रतिभालाई चिनेर उनलाई प्रतिमहिना २ लाख येनको दरले कन्ट्रयाक्ट ग¥यो तर त्यहाँ दोस्रो दर्जाको नागरिकजस्तै व्यवहार भएपछि गहु्रँगो मन बनाएर स्वदेशै फर्किए । धेरै खेल विदेशमा खेले पनि व्यक्तिगत मात्र भएको कारण स्वदेशमा ओझेल परे ।
व्यक्तिगत प्रयासमै उपलब्धि हासिल गरेका पुष्करहरूले अहिले स्पोर्ट प्रमोसन अर्गनाइजेसन खोलेका छन् च्याम्पियसन जन्माउने योजना अभियानअनुरूप । योग र खेलकुदलाई सँगसँगै जोडेर लैजाने योजनाअनुरूप सिटिइभिटिइबाट मान्यता लिएर काम अघि बढाइरहेका छन् । गिरोहकै कारण नेपाली खेलकुद क्षेत्र उठ्न नसकेको उनको निश्कर्ष छ तर हिम्मत हारेका छैनन् । नेपाली खेलकुदलाई माथि उठाएरै छाड्ने अठोट बोकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here