लोक गीत सुन्ने स्रोताका लागि निकै मनपर्ने नाम हो राधिका हमाल । लोक, भजन, तीजलगायत ५ हजार बढी गीतमा स्वर दिइसकेकी राधिका स्टेजमा पनि लोकप्रिय छिन् । डेढ दर्जन बढी मुलुकको भ्रमण गरिसकेकी राधिका तीजमा सबै भन्दा धेरै ब्यस्त हुने गर्छिन । ‘दुई वर्ष अघि तीजको अवसरमा मात्रै ५६ वटा गीत गाएँ ‘ राधिकाले भनिन् ।
अरु वेला पनि फुर्सद सार्है कम हुन्छ । सबै शैलिका लोक गीत (मारुनी, मालश्रीलगायत)मा स्वर दिने राधिका पछिल्लो समय लोकसंञगीत सुन्ने स्रोता बढेकोमा भने खुसी थिइन् । ‘केही वर्षअघिसम्म हाम्रो गीतलाई पश्चिमा गीतले थिचेको थियो तर, अहिले हाम्रै गीत सुनेर रमाउने संस्कार सुरु भएको छ ।’ उनले भनिन् ।पश्चिमा संगीतको प्रभाव घटाउनमा दर्शक एवं स्रोताले अहं भुमिका खेले जस्तो लाग्छ उनलाई । भन्छिन् ‘हाम्रा दर्शक स्रोता वास्तवमै महान हुनहुन्छ । नेपाली गीतलाई बृहत बनाइदिनु भयो ‘
तीजले छोपिसक्यो
गाउँघरमा राम्ररी पानी नपरेर कतिपयले एकोहोरो मकै गोड्न भ्याएका छैनन् तर, शहरमा तीजको चहल पहल सुरु भैसक्यो । ‘होे स्टुडियोमा तीज सुरु भैसक्यो । यसपाली तीजकै लागि १३ वटा गीत गाईसकेँ ‘ राधिकाले भनिन् । पोहोर परार जस्ता जताततै देखिने भने योजना छैन उनको । ‘नयाँ बैनिहरु पनि धेरै आउनु भएको छ । त्यसकारण यसपाली अलि थोरै गीत गाउने विचारमा छु ‘ उनी भन्छिन् ‘यसपाली स्तरीय गीतहरु मात्रै गाउने छु’
त्यसो त यसपाली तीजमा उनको आफ्नै भिडियो पनि आउने छ । ‘कहाँ गइन् राधिका’ भनेर टाईटल राख्ने तयारीमा छिन् । तर, यो गीत आफ्नो नामसँग सम्बन्धित नभएको उनको भनाई छ । जतिवेला उनी सानो थिइन् उनको आमा काकीहरुले गाउथे ‘कहाँ गइन् राधिका सुन्य भो देश’ यो गीत भगवान श्रीकृष्णसंग सम्बन्धित थियो भने, लोकलयमा हुन्थ्यो । राधिका आमाहरुले गाएको शैलिलाई आफ्नो स्वर मार्फत अहिलेका पुस्ताका दर्शकसम्म ल्याउने प्रयाशमा छिन् ।
गायिका राधिका हमाल पुनले यसपालिको तीजलाई एक दर्जन गीत रेकर्ड गराएकी छन् । दुई दर्शकदेखि तीज गीत गाउँदै आएकी गायिकाको हमालले विगतमा एकै वर्षमा ५६ वटासम्म गीत रेकर्ड गराएकी थिइन् । तर, पछिल्लो समय तीज गीत गाउने कलाकार थपिँदै गाए । गीत बाँडिदै गएपछि संख्या घट्दै गएको उनको कथन छ ।
२०५८ सालतिरका तीज भाकाको सम्झना गर्दै यी गायिकाले भनिन्, ‘त्यतिबेला क्यासेट अर्थात् चक्का बेच्ने जमान थियो । टलक्कै ऐना टल्कियो ख्यालखालमै जोवन ढल्कियो‘गीतको लाखप्रति भन्दा बढी चक्का बिकेको थियो ।’ त्यतिबेला आफ्नो थुप्रै गीत लाखौंको संख्यामा चक्का बिक्री भएको पनि उनले सम्झिइन् । त्यो समय तीज गीतको क्यासेट बिक्री र स्टेज कार्यक्रमबाट निकै राम्रो कमाइ हुने गरेको सम्झँदै राधिकाले भनिन्, ‘तीज गीत गाउने हामी थेरै कलाकार थियौं । तीज सुरु हुनुभन्दा १५ दिन अघिदेखि तिज नसकिँदासम्म देश विदेशमा भ्याइनभ्याइ स्टेज कार्यक्रममा सहभागी हुन्थ्यौं ।’ यसरी आफूले त्यो समयमा तीज गीतको क्यासेट बेचेर स्टेज कार्यक्रमको कमाइले काठमाडौंमा घडेरीसमेत किनेको उनले स्मरण गरिन् ।
तीज गीतमा पुरुष कलाकार भिœयाउनुमा गायिका राधिका हमालको पनि हात छ । पशुपति शर्मा, बद्री पंगेनीदेखि थुप्रै पुरुष गायकसँग त्यतिबेला देखि नै तीज गीत गाउँदै आएकी यी गायिकाले सो प्रसंगमा भनिन्, ‘नारी पुरुष बराबार हो भने नारीले मात्र किन एक्लै तीज गीत गाउने, पुरुषले किन नगाउने भनेर हामीले नै तीज गीतमा पुरुष कलाकारसँग दोहोरीका रूपमा हातेमालो गरेका हौं । छोरीले मात्र गाउने तीजमा छोराले पनि गाउन थाले भनेर त्यतिबेला पनि एकथरीले विरोध गरेकै हुन् ।’ तीज पर्वमा आफ्नी चेलीदेखि श्रीमतीसम्मलाई हरेक काममा सघाउने पुरुषले तीज गीत गाउनमा पनि सघाउनुलाई नकारात्मक रूपमा लिन नहुने राधिकाको भनाइ छ । पुरुषका लागि तीज व्रत बस्ने महिलाले पुरुषलाई तीज गीत गाउन किन वञ्चित गर्ने भन्ने प्रश्न यी गायिकाले उठाइन् । तर, पुरुषले मात्र गएर तीज गीत नहुने तर्क पनि उनले राखिन् ।
यी गायिकाको नजरमा हेर्दाहेर्दै तीजको शैली फेरिएको छ । दुई दशकअघि तीज पर्व सुरु हुनुभन्दा एक÷दुई दिनअघि मात्र दर खाइन्थ्यो भने अहिले महिना दिनअघिबाट खान थालिएको राधिकाले देखेकी छन् । आफूले तीज गीत गाउन थालेको यो दुई दशकले प्रविधिले तीज गीतमा धेरै परिवर्तन ल्याएको अनुभव उनले सुनाइन्, ‘पहिलापहिला तीज भाका गाउँमा गएर संकलन गरिन्थ्यो । आमा, हजुरआमा, बजुहरूले तीज गीत लेखेर भाका हालेर हामीलाई रेकर्ड गर्न दिनुहुन्थ्यो भने आजकाल ड्रम र गिटार बजाउँदै कोठामा बसेर तीज गीत जन्माइन्छ ।’
कोठे तीज गीत सिर्जनामा पनि उनी आफूहरूलाई नै दोषी मान्छिन्, ‘हामी विगतमा गाउँगाउँ डुलेर तीज गीत सिर्जना गर्दा त्यो ठाउँका आमा दिदीहरूले यो त सुनेको गीत हो, नयाँ गाउनु भन्न थाल्नुभयो । त्यसपछि हामीले कोठामै बसेर तीज भाका तयार गर्न थाल्यौं ।’ यसरी तीज भाका खोज्नेक्रम गाउँबाट सहर हुँदै कोठामा सीमित भएको पनि राधिकाले बताइन् । यी गायिकाले यसपाली आफैंले आमाछोरी‘र घरबेटी‘गरी दुईवटा तीज भाका बजारमा ल्याइन् । उनकै स्वरमा यो वर्ष टुहरी‘घ्यु छैन बट्टामा‘ओई देउरानी‘, घरझगडा‘, जापानको सारी‘जस्ता गीत पनि आए । अहिले उनको घरबेटी गीत निकै लोकप्रिय छ ।
विगतमा क्यासेट, सिडी हुँदै भीसीडीबाट आम्दानी हुने गरेकोमा यी प्रविधि हटेपछि आजकाल आफूहरू युट्युबमा केन्द्रित हुनुपरेको उनले बताएकी छन् । क्यासेटदेखि युट्युबसम्म आइपुग्दा प्रविधिसँगै गीत पनि परिवर्तन भएको राधिकाको तर्क छ । आजकाल युट्युबमा भिडियोलाई लक्षित गरेर तत्कालै नाच्ने र सबैले टिप्ने गीत बनाउनुपर्ने अवस्था आएको पनि उनले बताइन् ।पछिल्लो समय तीज गीतमा विकृति आएको उनले स्विकारिन् । आफूहरूले यसपटक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानबाट डेढ दर्जनभन्दा बढी तीज गीतलाई शुद्धीकरण गरेको पनि उनले राधिकाले बताइन्, ‘तीजको नाममा छाडा भिœयाउनु भएर र समाजमा अश्लीलता फैलाउनुभएन । त्यसैले छाडा गीतलाई हामीले प्रतिष्ठानबाट विगतझैं यसपटक पनि शुद्धीकरण गरेका हौं ।’