“हामी नेकपा फुटाउन दिन्नौं”

रामकुमारी झाँक्री

हामीले पार्टी एकताको पक्षमा ६३ जना सांसदको हस्ताक्षर सार्वजनिक गरेपछि त्यसमा सहभागी हुन चाहने साथीहरुको संख्या बढ्दो छ । पार्टीभित्रको विवादलाई शीर्ष नेताहरुले सचिवालय र स्थायी समितिमा अनिर्णयको स्थितिमा राख्नुभएको छ । यति महत्वको विषयलाई यति लामो समयसम्म हल गर्न नसक्ने आदरणीय नेता कमरेडहरुले भोलि हामीलाई सांगोपांगो रुपमा पार्टी हस्तान्तरण गर्नुहुन्छ, पुस्तान्तरण गर्नुहुन्छ भनेर कसरी पत्याउने ?

हामी हस्ताक्षर संकलनमा अग्रसर हुनुको मुख्य कारण हो, पार्टी विधि–पद्धतिसंगत ढंगले चलाउनुपर्छ भन्ने मान्यता । असहमति, अन्तरसंघर्षहरुलाई कमिटी प्रणालीबाटै हल गर्नुपर्छ । डेडलकमा पारेर बस्नुहुँदैन । विधि र पद्धतिमा असहमति, अन्तरसंघर्षहरुलाई टुंग्याउनुपर्छ । त्यसो गर्नका निम्ति नेताहरु सार्वभौम हुनुहुन्छ । हामीले यही गर भनेर बिचौलियाको भूमिका खेल्ने, अप्सन दिने होइन, दिदैनौँ पनि । हामी यो वा त्यो नाम र बहानामा पार्टी विभाजनलाई प्रेरित गर्ने वा प्रेरित हुने कसैको पनि पक्षमा छैनौँ ।

केपी ओलीले असारको १४ गते मलाई भारतीयहरुले हटाउन खोजे भनेपछि प्रचण्डले तपाईंलाई भारतले हैन, हामीले हटाउन खोजेका हौँ भनेर स्थायी कमिटीमा कुरा राख्नुभयो । त्यसपछि हतार–हतार डमी पार्टी दर्तालगायतका काम अगाडि बढाइयो । पार्टी फुटाउँछु, संसद बिघटन गर्छु भन्दै राष्ट्रपति, प्रधानन्यायाधीशसँग बाक्लो भेटघाटको सिलसिला शुरु भयो । भोलि पार्टी विभाजन नै भएछ भने कानुनतः संसदीय दल एउटा निकायका रुपमा रहने भयो । के यसमा हाम्रो कुनै भूमिका हुन्न रु सचिवालय, स्थायी कमिटीहरु अनिर्णयको बन्दी भए भन्ने नाममा हामीले केन्द्रीय कमिटी बैठक वा संसदीय दलमै केही गर्न नपाउने रु संसदको विकास समितिमा गणेश पहाडी, यज्ञराज सुनुवार, विशाल भट्टराई, सुरेश राईहरु मिलेर केही गरौँ भन्नेतिर लाग्नुभयो । म पनि सदस्य रहेको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले पनि पार्टी फुटाउने कुरालाई लिएर सुवास नेम्वाङसँग भनाभन नै गर्नुभयो । अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा रहनुभएका डा।दीपकप्रकाश भट्टहरुसँग पनि छलफल भयो ।

अहिले हाम्रो पार्टीभित्र क. केपी ओली, क. माधव नेपाल र क.प्रचण्ड गरी कम्तिमा तीन प्रकारका गुट वा विचार समूह छन् । ती सबैका गरी ३०–३० जनाको दरले हस्ताक्षर गरेर ९० जना बनाऔँ भन्ने इच्छा राख्यौँ । त्यसो गर्दा कतै पनि बहुमत पुग्दैन । तर, हामीमध्ये कोही पार्टी सचिवालय र स्थायी कमिटीमा हुनुहुन्छ भने उहाँहरुले त्यहाँ फरक मत राख्नुपर्ने, मत विभाजनमा सरिक हुनुपर्ने स्थिति रहला भनेर उहाँहरुको हकमा अलिक लचिलो बन्ने भयौं । मन्त्री भएका साथीहरुलाई यसमा सहभागी नगराऔँ भन्ने सोच्यौं । पार्टी विभाजनका लागि शुरुदेखि नै उद्वेलित भएर लाग्नुभएका साथीहरुलाई पनि यसमा राख्नुको कुनै अर्थ नहुने निश्कर्षमा पुग्यौँ । त्यस्ता साथीहरुलाई यसमा सरिक गराइयो भने अभियानलाई तुहाइदिन्छन् भन्ने हाम्रो निश्कर्ष थियो ।

यो काम असारमै शुरु गरेका हौं । तर, बीचमा पार्टीको बैठक स्थगन भइरहेको थियो । र, हामी यत्तिकै सेलायौँ । ४२–४३ जनाको हस्ताक्षर गराएर त्यसै थन्क्याइरहेका थियौँ । अहिले कृष्णप्रसाद दाहाल, सुरेश राई, मसहितका साथीहरु बसेर हामीसँग कुनै हतियार छ भने त्यो समयमै प्रयोग गरौँ भन्ने सल्लाह भयो । हामी जनप्रतिनिधि हौँ । जनताकोबीचमा जवाफ दिँदै जानुपर्छ । त्यसकारण यो काम गरौँ भनेर शुक्रबार केही साथी बसी पत्रकार सम्मेलन गर्ने भन्नेमा पुग्यौं ।

फेरि पनि हामीले आ–आफ्ना देउरालीमा पाती–धुप चढाउने भनेर लाग्दा त्यो अभियान साझा हुँदैन । किनभने, हामी सबै कुनै न कुनै गुटमा छौँ, थियौँ । गुटका मठाधीशले यस्तो काम गर त भन्दै भन्दैनन् । भने पनि उनका अनुकूलमात्र गर भन्छन् । त्यसपछि आइतबार दिउँसो २ बजेतिर हामीले हस्ताक्षर सार्वजनिक ग¥यौँ । त्यसो गर्नका लागि पनि तीन बुँदे आचारसंहिता बनायौँ ।

हाम्रो एकमात्र सरोकार पार्टी विभाजन नहोस् भन्ने हो । त्यो काम कसरी गर्ने भन्ने नेताहरुकै जिम्मामा छ । हामीले ६३ जना साथीहरुको हस्ताक्षर सार्वजनिक गरिसकेपछि सरिताकुमारी गिरी, सरला यादव र पवित्रा निरौला खरेललगायतका थुप्रै साथीले पछि आएर हस्ताक्षर गर्नुभएको छ । हामीले अहिले हस्ताक्षर सार्वजनिक गरेका हौँ । कतै बुझाएका हैनौँ । यो दबाब हो । भोलि विभाजनका लागि कतै हस्ताक्षर गर्नुपर्ने भयो भने हाम्रो हस्ताक्षर प्रयोग हुँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here