लोकसेवा आयोगको भर्ना प्रक्रिया अन्योलमा, परीक्षार्थी चिन्तित

लोकसेवा परीक्षाको तयारीमा रहेका बैतडीका दानेश्वर भट्ट चिन्तित हुनुहुन्छ । शाखा अधिकृतको पहिलो चरणको परीक्षा पास हुनुभएका उहाँलाई हिजोआज दोस्रो चरणको परीक्षा होला कि नहोला भन्ने चिन्ता छ ।

पहिलो परीक्षा पास भए पनि दोस्रो चरणको परीक्षाको तयारी गरौँ की नगरौँ भन्ने अन्योलमा हुनुहुन्छ उहाँ । २०७६ सालको माघ महिनामा पहिलो चरणको परीक्षाको नतिजा आएपछि लोकसेवा आयोगको तालिका अनुसार दोस्रो चरणको परीक्षा २०७६ चैत १६ गतेदेखि सुरु हुने भनिएको थियो । तर कोरोना र लकडाउनका कारण अरु चरणका सबै परीक्षा स्थगित भए । २०६९ सालमा स्नातकोत्तर तह उत्तिर्ण गर्नुभएका उहाँले विभिन्न स्कुल कलेजहरुमा पढाउने काम गर्नुभयो । शिक्षक सेवा आयोगसमेत पास गर्नुभयो तर निजामतीमा अझै राम्रो हुन्छ भन्ने सोचेर लोकसेवाको तयारीमा लाग्नुभयो ।

उहाँ भन्नुहुन्छ ‘सरकारले चैतमा स्थगित गरे पनि भदौ असोजसम्म त पक्कै परीक्षा हुन्छ भनेर तयारी गरियो । तर कोरोनाका कारण परीक्षा हुने वा नहुनेमा झनै अन्योल भयो ।’ सरकारले दरबन्दी कटौती गर्ने तयारी गरेको खबरले उहाँलाई झनै चिन्तित बनाएको छ।

उहाँ मात्रै होइन, उहाँजस्तै कैयौं युवाहरुले महिनौंदेखि लोकसेवाको तयारी गरेका छन् भने कतिपय त लामो तयारी गरेर परीक्षा कुरिरहेका छन् । कतिपयले भैरहेको अरु जागिरसमेत छोडेर त्यसमै भविष्य देखेर तयारी गरिरहेका छन् । पुरुषले ३५ वर्ष र महिलाले ४० वर्षसम्म लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउँछन् । लामो समयदेखि तयारीमा रहेका धेरैमा भने उमेर कट्छ कि भन्ने चिन्तालेसमेत सताएको छ ।

कास्कीका बुद्धिसागर पराजुली पनि काठमाण्डौमा बसेर लोकसेवाको तयारी गर्दै हुनुहुन्छ । परीक्षा हुने नहुने अनिश्चित भएपछि उहाँ पनि चिन्तामा हुनुहुन्छ । कोरोनाका कारण तत्काल लोकसेवाको परीक्षा गर्न असम्भव भए पनि अवस्था सामान्य हुनासाथ यसलाई सरकारले निरन्तता दिनुपर्ने उहाँको भनाइ छ । भन्नुुहुन्छ, ‘अरु कम आवश्यकताका क्षेत्रको बजेट घटाएर भए पनि निजामतीतर्फको दरबन्दी कटाउन हुँदैन भन्ने लाग्छ ।’

अझै पनि कतिपय सरकारी कार्यालयहरुमा कर्मचारी अभावका कारण काम गर्न गाह्रो भएको, सेवा प्रवाहमा ढिलाई भएको समाचारहरु आउने गरेका छन् । सरकारले करारमा पदपूर्ति गर्ने, आफ्नो खल्तीका मान्छे राख्नका लागि स्थायी दरबन्दी रोक्ने वातावरण सिर्जना गरेको र करारमा पदपूर्ति गर्न रणनीति अपनाएको हुन सक्ने उहाँको भनाइ छ ।

उहाँ थप्नुुहुन्छ ‘एउटा इन्स्टिच्युटले एक जना विद्यार्थीसँग शाखा अधिकृतको कोर्स पूरा गरेको ३० देखि ३४ हजार रुपैयाँसम्म लिन्छ । यति धेरै खर्च गरेर निजामतीतिर लाग्न चाहनेलाई निराश बनाएको छ । यसो गर्दा एकातिर कमजोर र अयोग्य मानिसको बाहुल्यता हुन्छ भने अर्कोतर्फ क्षमतावान्ले ठाउँ पाउँदैनन् । बेरोजगारी बढ्छ ।’

कोरोना सङ्क्रमण सुरु भएयता निजी क्षेत्रतर्फ २२ दशमलव ५ प्रतिशत कर्मचारी कटौतीमा परेका नेपाल राष्ट्र बैँकको पछिल्लो सर्वेक्षणले देखाएको छ । यहीबेला सरकारी सेवामा पनि भर्ना प्रक्रिया अनिश्चित बनेको छ । यसबाट सरकारी सेवा प्रवेशका लागि दरखास्त दिएका दानेश्वर र बुद्धिसागर जस्ता झण्डै दुई लाख युवा अन्योलमा छन् ।

हजारौँ दरखास्त अलपत्र

निजामतीतर्फ ३३ हजार कर्मचारी विभिन्न तहको परीक्षामा सहभागी थिए । यस्तै, सुरक्षा निकाय र सार्वजनिक संस्थानतर्फ ५९ हजार आठ सय ३७ जना लिखित परीक्षाको तयारीमा थिए । त्यसबाहेक सेनाको ६ हजार ६७ र नेपाल प्रहरीको चार हजार ६६ पदमा कतिजना लिखित परीक्षामा सहभागी हुँदै छन् भन्ने विवरण आयोगमा पुगिसकेको थिएन ।

विद्युत् प्राधिकरण र आयल निगमका रिक्त पदमा पनि हजारौँ आवेदन परेका थिए । सबैगरी दरखास्त दिइसकेका दुई लाखजना प्रभावित भएको आयोगका अधिकारीहरूको आकलन छ । यस वर्ष नियमित भर्ना प्रक्रियासमेत रोकिँदा सरकारी सेवाका आकांक्षी निराश बनेका छन् ।

आयोगले लिने परीक्षामा सबैभन्दा बढी आव ०७३/७४ मा आठ लाख ४४ हजार दुई सय ५६ जनासम्म सहभागी भएको तथ्यांक छ । यस्तै, आव ०७४/७५ मा पाँच लाख ६७ हजारजना सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here