लेखापालको धन्दा : गाउँपालिकाको २५ लाख बजेट खुसुक्क श्रीमतीको खातामा

गाउँपालिकाको २५ लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा रुकुमपहिचमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् । उनले श्रीमती र भतिजोको खातामा अनधिकृतरुपमा लाखौँ सरकारी रुपैयाँ जम्मा गर्ने गरेको भेटिए पछि ती लेखापाल पक्राउ परेका छन् ।

त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाइ विकास केसी, भतिज भिमशेन केसी र सोही पालिकामा करारमा सह लेखापाल समेत रहेका भतिज सुवास केसी लगायत ४ जनालाई राति गाउँपालिको कार्यालयबाट पक्राउ गरिएको हो ।

बिहीबार राति गाउँपालिकाको कार्यालयमा हिनामिना गरेको रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । लेखापाल केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको आरोपमा उनीसहित लेखा सहयोगी तथा लेखापालका सहोदर भतिजा सुवास केसी, भाइ विकास र अर्का भतिजा भिमसेनलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिएका छन् ।

रातको समयमा गाउँपालिकाको कार्यालयमा बाहिरबाट ताला लगाई कागजात मिलाउँदै गरेको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेर जिल्ला सदरमुकाम ल्याएको छ ।

लेखापाल केसीमाथि गत वर्ष २०७६/०७७ को बजेटबाट २४ लाख ९२ हजार ३७२ रुपैयाँ आफ्नो, श्रीमती र भतिजा सुवासको खातामा जम्मा गरेको आरोप छ । घटनाको पर्दाफास भएपछि विभिन्न शीर्षकमा अनाधिकृत रुपमा आफ्नो र परिवारका सदस्यको खातामा जम्मा गरेको उक्त रकम केसीले गाउँपालिकाकै खातामा फिर्ता गरेका छन् ।

विना कुनै प्रयोजन व्यक्तिका खातामा सरकारी रकम जम्मा भएको थाहा पाएपछि गाउँकार्यपालिकाले समेत चासो व्यक्त गरेको थियो । यो कुरा बाहिरिएपछि जिल्ला प्रशासन कार्यालयले छानविन थालेको छ ।

अहिले उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ । आरोप प्रमाणित भएमा कानुन बमोजिम कारबाही गरिने प्रजिअ पौडेलले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here