यो कस्तो कानुन ? हत्या आरोपमा २७ वर्ष जेल बसेपछि निर्दोष ठहर

हत्या अभियोगमा २७ वर्षदेखि जेल सजाय भोगिरहेका एक व्यक्तिले सफाई पाएका छन् । चीनको एक अदालतले जाङ युख्यानलाई दोषी प्रमाणित गर्न पर्याप्त प्रमाण नपुगेको भन्दै मंगलबार रिहा गरेको हो ।

सन् १९९३ मा दुई युवाको हत्या गरेको आरोपमा प्रहरीले जाङलाई पक्राउ गरेको थियो । जीयाङ्सी प्रान्तस्थित जेलमा ९,७७८ दिन काटेका उनी चीनमा विनाअपराध सबैभन्दा लामो समयसम्म थुनामा परेका व्यक्ति हुन् । सन् १९९५ को ज्यानुअरीमा जियाङ्सी प्रान्तको राजधानी नान्चाङ्गस्थित एउटा अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो । तर उनले दुई वर्ष सजाय काटेपछि भने उक्त फैसलालाई आजीवन कारावासमा परिणत गर्न अनुमति दिएको थियो ।

कसरी जेल परे ?
१९९३ मा दुई बालकहरु जियाङ्सी प्रान्तको नान्चाङ शहरमा मृत भेटिए । प्रहरीले उनीहरुका छिमेकी झाङले नै हत्या गरेको आशंका गर्यो । १९९५ मा झाङलाई दुई वर्षको माफीसहित मृत्युदण्डको सजाय सुनाइयो, जसको अर्थ दुई वर्षको अवधिमा उनले अन्य कुनै अपराध गरेनन् भने मृत्यदण्डको सजाय आजीवन कारावासमा परिणत हुने भन्ने हो । तर झाङले आफु हत्यारा नभएको भन्दै माथिल्लो अदालतमा अपिल गरे, उनले प्रहरीले छानविनका क्रममा आफुलाई यातना दिएको दाबी पनि गरेको थिए । माथिल्लो अदालतले फेरि सुनुवाई गर्न आदेश दियो । तर २००१ सम्म सुनुवाई भएन । यस अदालतले पनि पुरानै फैसलालाई सदर गर्यो र पछि अपिल पनि खारेज गरिदियो । झाङ र उनको परिवारले निर्दोष रहेको जिकिर गरिरहे र अन्त्यमा गत मार्चमा जियाङसीको सर्वोच्च जनअदालतले यो घटना फेरि ब्युँतायों । मंगलबार उनी दोषी भेटिएनन् । ‘जब हामीले विषयवस्तुलाई फेरि नियाल्यौं । हामीले भेट्यौ कि झाङको संलग्नता प्रमाणित गर्ने त्यहाँ कुनै प्रत्यक्ष आधार छैन । त्यसैले हामीले अधिवक्ताहरुको सल्लाहलाई स्वीकार ग¥यौं र झाङलाई निर्दोष ठहर गरेका छौं,’ न्यायाधीश टियान गानलिनले भनेका छन् ।

ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार झाङले अब क्षतिपूर्तिका लागि निवेदन दिन पाउनेछन् । गलत अभियोगका कारण आफ्नो जीवनको उत्कृष्ट समय खेर गएको प्रतिक्रिया झाङले दिएका छन् । उनका दुई छोराहरु अहिले विवाहित छन् र उनीहरुका पनि बालबच्चा भइसकेका छन् ।
गलत अभियोग लागेर म र मेरो परिवारमाथि भइसकेको क्षतिलाई क्षतिपूर्तिले कम गर्न सक्दैन । तर अझै पनि मलाई मेरो घर मर्मत गर्न र मेरी आमाको स्याहार गर्नका लागि क्षतिपूर्ति पाउनेछु भन्ने आशा छ,’ झाङले चाईना डेलीसँग भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here