कोरोना संक्रमित मन्त्रीले भेटेका थिए गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई, मन्त्रीहरुलेनै लगाएनन् मास्क

कोरोना संक्रमण पुष्टि भएका प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्मलाई भेट गरेको खुलेको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएको हो । उनले पछिल्लो एक हप्तामा ‘भिभिआइपी’ लाई भेटेको खुलेको हो । उक्त बैठकमा प्रधानमन्त्री ओली, गृहमन्त्री थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार र प्रहरी महानिरीक्षक भेला भएका थिए । यस्तै, यादवले कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेसँग पनि भेटघाट गरेको खुलेको छ । जनकपुरमा उनको सम्पर्कमा रहेका मानिसमा गरिएको परीक्षणमा मन्त्रालयका अन्य सात जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै मन्त्रि यादव धनुषामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएका थिए । मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा बुधबार बेलुका उनको रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनी मन्त्री निवासमै आइसोलेशनमा छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुले जाँच गराउन आग्रह गरेका छन् ।

मास्क छैन
यादवले गृहमन्त्री, कानुनमन्त्री र प्रधानमन्त्री ओलीलाई गरेका सबै भेटघाटमा उच्च पदस्थहरु कसैले पनि मास्क लगाएका थिएनन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले लापरवाही गरेमा कोरोनाले धेरै संकटमा पार्ने बताउँदै अनिवार्य मास्क लगाउन पटक पटक आग्रह गर्दै आएका छन्। गृहमन्त्रालयले बुधबार गरेको ६ बुँदे निर्णयमा पनि मास्क अनिवार्य लाउन भनिएको छ। यदि मास्क नलगाइ सार्वजनिक स्थानमा निस्किएमा उनीहरुलाई कारवाही र जरिवाना पनि गृहले भनेको छ। तर नेपालका उच्च पदस्थहरुले भीडभाडयुक्त बैठकमा पनि मास्क लगाएको देखिँदैन। यादवले गृहमन्त्री, कानुन मन्त्री र प्रधानमन्त्रीलाई भेट्दा पनि सबै उच्च पदस्थ मास्क नलगाई बैठक बसेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here