किन मनाईन्छ जनै पूर्णिमा

भोलि सोमवार जनै पूर्णिमा परेको छ । यस दिनमा व्रतबन्ध गरेका द्विजातिहरूले जनै फेर्ने गर्छन् । सनातन हिन्दू धर्मका १६ संस्कारमा उपनयन संस्कार अन्तर्गत जनै लगाउने गरिन्छ । यसलाई यज्ञोपवीत संस्कार भनिन्छ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

जनै धारणको धार्मिक र वैज्ञानिक महत्त्व

धार्मिक महत्त्वको कुरा गर्दा द्विज बालकले जनै लगाएपछि नै यज्ञ तथा स्वाध्याय गर्ने अधिकार पाउँछ । द्विजको अर्थ हुन्छ अर्को जन्म । जनै तीनवटा पवित्र सूत्रबाट बन्छ । यसलाई देब्रे काँधमाथि तथा दाहिने हातमुनि लगाइन्छ । तीन सूत्रले ब्रह्मा, विष्णु र महेशलाई प्रतीक बनाएका छन् । देवऋण, पितृऋण र ऋषिऋण अनि सत्त्व, रज र तमको प्रतीक पनि यसलाई मानिन्छ । यी तीन सूत्रहरू गायत्री मन्त्रका तीन चरणको र तीन आश्रमको पनि प्रतीक हो ।

जनैको लम्बाइ ९६ औंला हुन्छ किनकि जनै धारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ । बत्तीस विद्या चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौ अरण्यक मिलेर बन्छन् । चौसट्ठी कलामा वास्तु निर्माण, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण लगायत पर्छन् ।

येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू/भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।

आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।

परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ ।

साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आजभोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।

यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातिय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।

LEAVE A REPLY