लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउन प्रधानमन्त्रीलाई ज्ञापन

घरेलु मदिरालाई ब्याण्ड गर्नुको सट्टामा ब्राण्ड बनाउनुपर्ने भन्दै किरात राई यायोक्खा खोटाङले सरकारसँग माग गरेको छ ।
केही समयअघि प्रदेश नं.१ का प्रदेशसभा सदस्य उषाकला राईले घरेलु रक्सीलाई ब्याण्ड हैन ब्राण्ड बनाउनुपर्ने एजेण्डा संसदमा उठाएपछि यायोक्खाले पनि घरेलु रक्सीलाई कानुनी मान्यता प्रदान गर्न माग गरेको हो ।

शुक्रबार प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापन पत्र र एक कठुवा रक्सी पठाउँदै आदिबासी जनजाति किरात समुदायमा जन्मदेखी मृत्यु पर्यान्तसम्म साँस्कृतिक रुपमा अनिवार्य चाहिने घरेलु मदिरालाई कानुनी मान्यता प्रदान गर्न जोडदार माग गरेको छ ।

स्थानीय उत्पादनलाई निरुत्साहित गर्दै मदिराजन्य बहुराष्ट्रिय कम्पनीहरुको हालिमुहालीका कारण विदेशी कम्पनीहरुको बजार वर्चस्व रहेकाले नेपालको अरवौ रकम विदेश गईरहदा स्थानीय उत्पादन र श्रोत साधनको उपयोग गरी उत्पादन हुने घरेलु रक्सीलाई ब्राण्ड बनाउन जोडदार माग गरिएको किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राईले बताए ।
प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र बोधार्थका लागि गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, कानून, न्याय तथा सामाजिक विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मुख्यमन्त्रीको कार्यालय तथा १ नम्बर प्रदेश सरकारलाई समेत पठाएको छ। यायोख्खाले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याएर सहयोग गर्ने प्रजिअ पौडेलले प्रतिबद्धता जनाएका छन्।

स्थानीयस्तरमा उत्पादन हुने लोकल रक्सी जफत गरेर नष्ट गरिएका विषयलाई लिएर खोटाङमा चौतर्फी विरोध भइरहेको छ। गाउँघरका महिलाले सामान्य आम्दानीका लागि उत्पादन गरेको रक्सीलाई स्थानीय प्रशासनले जफत गर्नुका साथै नष्ट गरेर विदेशी बहुर्राष्ट्रिय कम्पनीको ह्विस्की, ब्राण्डी र बियरलाई बढावा दिएको भन्दै आदिवासी जनजाति समुदायका अगुवाले बिरोध गरेका हुन्।

घरायसी रक्सी जफत गरेर नष्ट गरिएको विषयप्रति नेपाली कांग्रेस खोटाङले पनि विरोध जनाएको छ। गत चैत ६ गते जिल्ला प्रशासन कार्यालय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, करदाता सेवा कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, घरेलु तथा साना उद्योग र उद्योग वाणिज्य सङ्घ खोटाङको प्रतिनिधि सम्मिलित टोलीले दिक्तेलबजारका विभिन्न होटल तथा पसलबाट घरायसी रक्सी जफत गरेर नष्ट गरेको विषयलाई काँग्रेसले पनि विरोध जनाएको हो।

LEAVE A REPLY