सकारात्मक प्रतिक्रिया खै ?

 

‘मलाई तिम्रो न्यानो अंगालोमा बेस्सरी कस न ’
‘पर जाउनुहोस, यस्तो गर्मीमा कसरी अंगालोमा बेरिन सकिन्छ ? ’
‘तिम्रो गालामा ओठ जोड्छु है ?’
‘नाइँ’
‘उसो भए, ओठमा ओठ जोड्छु ।’
‘पदैन ।’
‘छातिमा टाउको राखें ल ।’
‘ल ल भयो, गफ हैन, धेरै आफू यहाँ दिनभरको कामले हैरान भएको छु, निद्रा लाग्यो, सुतें बाइ ।’
आज पनि कुनै सकारात्मक सन्देश दिइनन ।
विदेशमा भएको साथीलाई आज के भएछ कुन्नि, श्रीमतीसँग भएको कुराकानीको स्क्रिन सट पठायो । उसको रसिक कुराकानी गरेर, रातलाई रंगीन बनाउने योजना आज पनि असफल भए पछि निराश भएर च्याट गरिरहेको थियो । रातको ११ बजिसकेको थियो । साथी आज बेस्सरी खुल्ने ‘मुड’मा रहेछ । साथीको कुरा सुन्न केही घण्टा निद्रा माया मार्न मलाई के आपत्ति । स्क्रिन सटमै टेकेर कुराकानी अघि बढ्यो ।
‘म्यासेञ्जरमा नखुलेकी होलिन नि भाउजू, बेडमा पूरै ?
‘कहाँ हुनु नि यार, म्यासेञ्जरमा त त्यत्ति कुरा गरिन, सँगै हुँदा त यो विषयमा कुराकानी नै हुँदैन, तयार बनाउनै सकिन्न, एकतर्फी मात्रै हुन्छ ।’
‘आगोको अघि घ्यू पग्लिन कत्तिबेर लाग्छ र ? ’
‘न उनी कहिल्यै आगो भइन, न त म आगो हुँदा घ्यू भनेर पग्लिइन ।’
‘शरीर हैन, पहिले मन जित्नु पर्छ नि साथी ।’
‘१२ वर्ष भयो, छोराछोरी हुर्किसके, तर मैले उनको मनमा ठाउँ बनाउन सकिन । १२ वर्षमा खोलो फर्कन्छ भन्छन, तर श्रीमतीको मन फर्किएन ।’
‘रुची नै नहुने हो कि, उपचार खोज्ने हो कि ?’
‘मान्छे हो यार, रुची नै हुँदैन भन्नेमा म अलिकति पनि विश्वास गर्दिन ।’
‘अपवाद हुन सक्छ ।’
म्यासेज सिन भएन, साथी मोबाइलमा चार्ज कम छ भन्थ्यो, सायद अफ भयो होला । सायद उसले लेख्ने जवाफ अपवाद नै भए पनि मेरो ‘भाग्य’मै किन ?भाग्यवादी साथीलाई दिने जवाफ पनि हुने थिएन । साथीको मोबाइलको चार्ज नसकिएको भए पनि कुराकानी त्यही सकिन्थ्यो ।
विवाह भनेको अहिले राज्यको संयन्त्र जस्तै हो । संघ, प्रदेश र स्थानीय तह । जसरी यी तिनै तहबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनु आवश्यक छ, त्यसरी नै विवाह पनि हुनु आवश्यक छ । श्रीमान श्रीमतीबीच दिवाकालीन कार्यमा मात्रै हैन, रात्रीकालीन कार्यमा पनि सहकार्य हुनु आवश्यक छ । यसमा त छन, सहअस्तित्व स्वीकार्नै पर्छ । विवाहसँगसँगै ‘यौन’ पनि जोडिएर आउँछन । कसैले यसलाई सृष्टिको ‘सुन्दर’ रचना भन्छन, कसैले ‘कुरुप’ चित्र देख्छन । आखिर जस्तो दृष्टि उस्तै सृष्टि हुने हो । कस्तो बनाउने व्यक्तिको हातमा भर पर्छ ।
∞∞
गुरू ! एउटा सल्लाह चाहियो, कुरो अलि गम्भीर छ, कुराकानी गर्न मिल्ने हो । निकै हतास र हतारिएरबोलिन ।
‘किन, डिभोर्स दिन लाग्या हो कि क्या हो ?
‘हो, हो क्या थाहा पाउनु भयो ?’
तिमीहरु आफूलाई महिला अधिकारवादी भन्ने अतिवादी, उग्रवादीहरुले मिलाउने भन्दा बढी टुटाउने त काम गर्छौ नि ।’
‘कत्ति थिचिएर, दविएर, हेपिएर बस्नु त ?’
‘ए उसो भए, आज पनि हजुरले अलग्गिने सल्लाह दिन भ्याइसक्नु भयो ?’
‘अलग्गिने हैन, माइत गएर बस्ने सल्लाह चाहिँ दिएँ ।’
‘कथा के हो त ? ’ (घटनालाई कथा भन्ने बानी जो लागेको छ ।)
एक रात साथीको साथीले श्रीमानको मोबाइल हेरिछन । श्रीमान मस्त निद्रामा थिए । मोबाइल प्याटन र सेक्युरिटी कोड दुवै श्रीमानले शेयर गरेका रहेछन । म्यासेन्जरमा एउटा अनसिन म्यासेज आएको रहेछ–‘सुतिसक्नु भयो, मिस यू, अनि लाष्टमा लभ रियाक्ट ।’ के चाहियो ? यत्ति देखिएपछि । सबै म्यासेज हेरिछन । दुवै विवाहित थिए, दुबैका छोराछोरी भइसकेका । साथीको श्रीमान पनि राम्रै कमाउने, साथी पनि राम्रो कमाउने । तर श्रीमानलाई चाहिँ दुई कौडीको महिलाले मिस यु र लव यू भनेर म्यासेज पठाउने कस्ले सहन्छ ? यो विषयमा भोलिपल्ट श्रीमानसँग ठण्डा दिमागले कुरा गरिछन । श्रीमानले गल्ती भएको भनेर माफी मागेछन ।

साथीकै अगाडि फेसबुकमा ब्लक गरेछन, मोबाइल नम्बर पनि ब्ल्याक लिष्टमा राखेछन । लगत्तै श्रीमती अफिसको कामले एक हप्ता विदेश गइछन । विदेश जाँदा पनि श्रीमतीको मन नेपालमै थियो । विदेशबाट फर्किइन । त्यसैगरी श्रीमानको मोबाइल चेक गरिन । फेसबुक ब्लक गरेको आइडी खुल्ला थियो, मोबाइलमा पनि कुनै नम्बर पनि ब्लक थिएन । श्रीमानमाथिको शंका झन बढ्यो । म्यासेज आदनप्रदान भए नभएको भित्र पसेर हेरिनन । अघिल्लो पटक जस्तै श्रीमानसँग कुरा गरिन । तर श्रीमानको प्रतिक्रिया अघिल्लो पटकभन्दा फरक आएछ, म फेसबुकमा कसैलाई पनि ब्लक गर्दिन र मोबाइलमा पनि कसैलाई ब्ल्याक लिष्टमा राख्दिन । यो घटनाले साथीलाई ठूलो चोट पुगेको छ । के गरौं कसो गरौं भन्ने दोधारमा परेर, मसँग शेयर गरेकी रहिछन । के सल्लाह दिउँ ?
सिम्पल, छ उपाय, शंका घटाउने विश्वास बढाउने, जब शंकालाई विश्वासले जित्छ सम्बन्ध राम्रो हुन्छ, जहाँ शंका बढी विश्वास कम हुन्छ त्यहाँ सम्बन्ध टुक्रिन्छ ।’
‘तपाईंबाट राम्रो सल्लाह आउला र साथीलाई सुझाव दिउँ भनेको चित्त बुझ्दो जवाफ आएन बाइ ।’
‘बाइ’
विवाह मात्रै हैन, हरेक सम्बन्ध विश्वासले नै जोगाउँछ । शंकाले तोडाउँछ । तर विश्वास बनाउनु निकै कठिन काम हो । विश्वास गर्न र विश्वास दिलाउन सहजै सकिन्न । त्यहि भएर परिवार बचाउन विश्वास चाहिन्छ, चाहिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here