सम्पती द्वेष

बा कहाँ जाने हो र ? मैले कुदिरहेको मेरो बाईकलाई बाटोमा हात देखाएर रोक्ने बृद्धको नजिकै रोकेर सोधेँ ।
बर्दिवास सम्म जाने हो म । बृद्ध ले विस्तारै भने ।
बा म त भिमान सम्म हिँडेको के गर्नु हुन्छ । ति बृद्धको उत्तर सकिन नपाउँदै मैले उत्तर दिएँ ।
बाबु भिमान सम्म भए पनि जाउँन लकडाउन छ अरु गाडी पाउने हैन । भिमान पुगे पछि कुनै उपाय त होलानी ।
मैले बस्नुस भने । उमेरले सत्तरी पचहत्तर काटेको एक बृद्धलाई बाटोमा त्यसै छाड्न मनले मानेन ।
मलाई पनि हतार थियो भिमान सम्म अफिसको कामले हिडेँको म अनि माथि आकाश हेर्दा ईन्द भगवानको कृपा अवश्य पानीको रुपमा बर्सने निश्चित थियो । रेडियोमा पनि विहानको छ बजेको समाचारमा अपराह्न पछी पानी पर्न सक्ने समाचार थियो। विश्वास नगर्ने पनि कुरै भएन मौसम अनुमान गर्ने प्रविधी मा अहिले खोट लाउने ठाउँ छैन । जहिले मिले कै छ अनुमान । त्यसैले हतार गर्नु स्वभाविक नै थियो । बुकाको पुल पारी भेटेका ति बृद्धलाई माईस्थान मन्दिर पुग्दा सम्म हतारले गर्दा केहि सोध्न पनि होस् आएन छ मलाई । कस्तो पुरै बुध्दु भईएछ । आफैँ देखी हाँसो लाग्यो । माईस्थान कट्ने वितिकै मनमा खस खस लाग्यो र सोधेँ बा घर कहाँ हो नि ?
मरिण खोला बाबु ।
अनि यता को थिए नि । मैले बुकामा भेटेको हुनाले अलि बुझ्ने कोशिस गरेँ ।
कोही थिएनन् । अलि थाकेको भावमा उत्तर आयो ।
ओ हो मरिण देखी हिँड्दै आउनु भएको मैले अलि छिट्टो गरी सोधेँ । बाईकको अलि छिटो कुदाईले होला खासै मेरो प्रश्न बुझे जस्तो लागेन । प्राय बाईकमा अलि बढी स्पिड हुँदा चालकले बोलेको पछाडिको मानिसले सुन्न गार्हो हुन्छ । मलाई पहिलाकै प्रश्न हु-बहु दोहोर्याउन मन लागेन अनि सोधेँ के मा आउनु भएको नि यहाँ सम्म गाढी चलेको त छैन नि लकडाउनले !
हैन खट्टार सम्म गाउँकै एकजना भाईले बाईका ल्याईदिनु भयो । भाईको त्यहाँ काम रहिछ अनि त्यहाँ बाट हिँड्दै यहाँ सम्म आएको ।
अनि बा भिमान बाट कसरी जानु हुन्छ त
खै हेरौं बाबु कुनै उपाय होला नी नभए हिँड्दै जान्छु !
किन बा लकडाउनमा पनि यस्तो दुख गर्नु भएको । को छन् र बर्दिवासमा अनि घर कहाँ हो नि मैले यी सबै प्रश्न एकै पटक सोधेँ । उत्सुक्ता लाग्यो बा को उत्तर ले पनि ।
घर त मरिण हो बाबु । छोरीको घर छ बर्दिवासमा त्यहीँ हिँडेको ।
अनि बा लगडाउनमा यसरी हिँड्न भएन नि घरमा पो बस्नु पर्छ कोरोना लागेर मरिन्छ त १
बहत्तर भईहालियो अव बाँच्न पनि मन छैन १ दुख खेपेर के बाँच्नु ।
बा को सार्है नमिठो उत्तर आयो ।
बा के भयो र त्यस्तो मैले प्रश्न गरेँ । खै के भयो ६०-६५ कि.मि. प्रति आवर कुदिरहेको मेरो बाईक अकस्मात ३०-४० को स्पिडमा आएछ मेरो सरिरमा सितिलथा छाएको जस्तो महसुस भयो । उत्तरले त नमिठो बनायो नै, बा को उमेर पहिला नै अनुमान गरे जति भएको मा भने थोरै उत्साहित गरायो ।
किन र बा अहिलै मरिन्छ त हेर्दा तगडा हुनुहुन्छ । के भयो र बा बाँच्नै मन नलाग्ने मैले सरिरमा उर्जा ल्याहेर अलि जोडले हाँसेर भने । तर मेरो हाँसोमा बा को हाँसो मिसिएन बरु झन् निराश भए झैँ आभास भयो ।
बा के भयो र भन्नु न ! भन्दा मन हलुका हुन्छ की त ।
घरायसी कुरा के गर्नु बाबु , उत्तर सकिन नपाउँदै विपरित दिशा बाट आएको सरकारी नंबर प्लेटको गाडी मा झन्डै बाईक ठोकिएन ।
बा डराएर कराउँदै भन्न लागे बाबु झन्डै मारिएन त !
मैले हाँस्दै भने मर्न मन लागेको मान्छेलाई के डर मर्न देखी हजुर त मर्न मन गरेको मान्छे । झन्डै छिट्टै मर्न मन नभएको युवा चाहिँ सहिद नभएको मैले उत्तर दिँदा आफैँ तिर केन्द्रीत गरेँ ।
कहाँ बाबु साँचै मर्न मन भएको भए मरिण तिरै मरीहाल्थेँ नि किन छोरीको मा जानु पर्थो र !
अँ साँच्चै बा किन यसरी विचल्ली भएर हिँडेको ? केही भन्नु भएन त !
छोरा बुहारीले वास्ता गर्दैनन् झर्की र फर्की गर्छन् । छोरीको घरमा हिँडेको । गाडि पनि चलेन अनि जहाँ सम्म गाडी जान्छ जान्छु नभए हिँडेर जान्छु भन्ने सुरले हिँडेको ।
उमेरले अनुहार चाउरिएका बृद्ध बा का उत्तर दिई रहँदा निधार पुरै चाउरिए होलान अनुमान गरेँ । अलि अलि भएको कान्ती सबै निस्तेज भयो । मलाई पनि नमज्जा लाग्यो । कुरा गर्दा गर्दै भिमान आईपुगी सकेको थियो मैले भिमानको प्रतिक्षालय को छेउमै बाईक रोकेँ। अनि भनेँ बा म त यहिँ सम्म हो के गर्नु हुन्छ । बुढा केहि नबोलि झरे । मलाई म सँग बोल्नको लागि सायद मेरा लागि शब्द छैनन् झैँ भयो ।
बाबु यता खाने कुरा पाहिन्छ किरु केही खाएकै छैन होटल नै खुलेको छैन कतै । खान पाए त राति १० बजे सम्म छोरीको घर हिँडेर पनि पुग्थेँ होला ।
मैले हड्बडाएर सोधेँ बा अनि २ बज्यो त भोक लागेन ! म बुझ्छु है भन्दै ‌बाईक छाडेर अलि वर पर हेरेँ उनि के के भन्दै थे मैले वास्ता गरिन मलाई त केवल होटल खोज्नु थियो तर सबै प्रयास ब्यर्थ भयो । होटल खुल्नु त पर जावस् मान्छेको आवात जावत भने पनि लगडाउनले निकै कम थियो ।
बा होटल त खुलेको छैन के गर्ने ? मैले नरम हुँदै सोधेँ ।
बाबु हुन्दिनुस् म हिँड्दै अगाडी जान्छु कतै घर भेटीए मागेर खानु पर्ला ! विस्तारै जान्छु आज नपुगे भोली पुग्छु बर्दिवास ।
माया लाग्यो । यसो सोचेँ बरु अफिसको काम आएर गरौँला यहाँ मानवियता भन्दा ठुलो के छ र !
जे होस् बरु बर्दिवास सम्म पुर्याईदिन्छु यहाँ बाट बर्दिवास जम्मा १८ कि.मि. त हो । तर अर्को फसाद पर्यो भिमान सम्म त आफ्नै कार्यक्षेत्र अफिसको आई.डी. कार्ड चल्छ तर बर्दिवास सम्म जाँदा पुलिसले लकडाउनमा कहाँ हिँडेको भनेर भाटा हाने भने के गर्ने । मनमा आँट गरेँ उहाँ सम्म यि बृद्भलाई पुर्याईदिएँ भने त धर्म हुन्छ समाते भने पनि विरामी लिएर हिँडेको भनौँला । ति बा को छेउमै गएँ बाईक स्टार्ट गरेँ भने बा बस्नुस ।
उनले अक्कमक पर्दै मलाई सोधे कहाँ जाने र बाबु ?
म बर्दिवास पुर्याईदिन्छू ।
उनका आँखा रसिला भए केही नभनी बाईक मा चढे ।
म बाईकलाई बिस्तारै चलाउन थालेँ र सोधेँ बा मुख्य समस्या चाहीँ के हो तपाईँको भन्नुन ! मन हलुका हुन्छ कि ।
के हुनु बाबु छोरालाई अंश दिँदा छोरीलाई सानु टुक्रा दिएको निउँ त्यही हो । बुढाको बोलिमा गला अबरुद्ध भएको पुरै आभाष हुन्थो ।
बा अनि छोरीलाई नि अंश दिनु भएको थियो रु मैले उत्सुकता साथ प्रश्न गरेँ ।
अंश त छोरालाई जति बराबर दिएको भए अंश भन्छन् । दुई विधा जग्गा मा जम्मा दुई कठ्ठा दिएको हो त्यही निहुँले सार्रै दुख पाएँ बाबु । मेरा लागि त छोरा छोरी बरावर हुन् ।
किन बा छोरा बुहारीले राम्रो गर्दैनन् ?
गर्दैनन् बाबु बिरामी छु श्रीमती खसेको १० बर्ष भयो । श्रीमती खसे पछी बाट जहिले छोरा बुहारी ले कराउन थाले उपचार गर्न लैजाउन भन्दा तेरी छोरी लाई भन अंश देको हैनस् उसैले उपचार गराउँछे होलानी भन्थे । जहिले खाना खाने बेलामा कराउँथे । पाँच बर्ष भयो छोरीको मा बस्न थालेको लगडाउन अगाडी नाति नातिना भेट्न मन लागेर आएको के खोज्न आएको यहाँ भन्न लागे अनि पन्ध्र दिन बसेर हिँडेको कसैलाई नभनी ।
मनमा कस्तो कस्तो महसुश भयो । अनि प्रश्न गरेँ कस्ले ल्याईदियो लगडाउन अगाडी मरिण सम्म बा ?
ज्बाईँले ल्याईदिनु भएको । अहिले सम्म त छोरी ज्वाईँले राम्रो गरेका छन् बाबु ! म बुढोलाई मिठो बोलेर खान दिए र विरामी हुँदा उपचार गर्दे भने भै हाल्यो नि ! मलाई पेटको समस्या छ अस्तिनै दुई पटक जति अप्रेशन गर्दा पन्ध्र लाख जति खर्च भयो सबै छोरी ज्वाईँले नै गरे । अहिले नि ज्वाईँ लिन आउनु हुन्थ्यो होला तर अर्का को छोरालाई पनि बचन लगाए भने के गर्नु त्यसैले खबर नै नगरि हिँडेको ।
बुढाले सबै उत्तर एकै पटक मा दिए । सायद मैले अब प्रश्न नगरोस् भनेर होला तर मैले प्रश्न गर्न छाडिन। त्यसैले प्रश्न गरेँ बा छोरो के गर्नु हुन्छ ?
छोरा बुहारी नै सरकारी जागिरे हुन् । यति उत्तर दिँदा बुढाको बोली केही तगडा लाग्यो । मैले सजिलै अनुमान गरेँ बाको अनुहार मा उज्यालो छायो मानौँ उनि धेरै भाग्यमानी मानिस हुन् जसका छोरा बुहारी नै जागिरे छन् , सम्पन्न छन् । उनको अनुहारको उज्यालो सायद छोरा बुहारीको प्रगतिको लागि होला अनुमान मात्र गरेँ तर सोधिँन ।
ए बा यहीँ खाजा खाएर जाउँ है !  बर्दिवास मा पनि होटल खुलेको छैन होला ? मैले उनलाई आग्रह गरेँ ।
बाईक रोकेँ उनले टाउको हल्लाएर मात्र सहमती जनाए । बर्दिवास बाट करिब नौ किलोमिटर वरतिर जंगलको विचमा एउटा ठेलामा पसल राख्छन् । जहिले म बर्दिवास जाँदा तथा फर्किँदा चिया खाएर हिँड्छु । त्यहाँको दाई संग कुरा गर्न मज्जा लाग्छ । धेरै गाडी त्यहाँ रोकेर चिया तथा पानि पिउँछन् । अर्को गज्जबको कुरा त्यहाँ ठुलो पाईपमा सधैँ पानि आईरहन्छ ।
ए दाई ! ए दाई ! यो पाईपको पानी कहाँ बाट ल्याएको हो ?  किन नस्ट गरेको ?
यो पाईपको हावा फाल्नको लागि राखेको हो त्यसैले सधैँ यस्तै हो दाई । अनि के छ तपाईको खबर ? धेरै दिनमा भेट भयो त उनले प्रश्न गरे ।
उनने पनि मलाई दाई भनेर सम्वोधन गर्छन् जहिले पनि मैले पहिलै दाई भनेको हुनाले भाई भन्न गार्हो भएर होला जहिले दाई चल्छ दुबै तिर बाट ।
लगडाउन छ नि त ! त्यही नि बर्दिवास आउनु पर्ने काम नै छैन आजकल । मैले उत्तर दिँए ।
चाउचाउ बनाउन लगाएँ दुबै जनाले मज्जाले खायौँ । ति ठेलावाला दाई भिडीयो खेल्ने भएकाले भिडियो अव कहिले आउँछ भन्ने बारेमा जानकारी लिएँ र खाजाको पैसा दिएर फेरी हाम्रो यात्रा बर्दिवास तिर लम्मकियो ।
बा अनि ज्वाईँको नम्बर छ नी चोक सम्म लिन बोलाउनु कि चोकमै हो घर ? मैले बाईक एकछिन कुदेपछी फेरी प्रश्न गरेँ ।
नम्बर त छ कागजमा अहिले बर्दिवास पुगे पछी लगाईदिनु न है बाबु तपाईँको बाट । त्यहीँ नजिकै हो ज्वाईँको अफिस लिन आउनु हुन्छ अनि सँगै घर जान्छु ।
मैले ल ! भनेँ ।
अनि बा तपाईँको नाम के हो नि ! मैले त सोध्नै बिर्सिएछु ।
लाल बहादुर । उनि यतिमै रोकिए ।
मैले थर केहो भनेर सोधिनँ । यति भनौँ मलाई थर सम्म पुग्न मन लागेन ।
कुरा गर्दा गर्दै बर्दिवास पुगियो । मैले बाईक रोकेर उनको ज्वाईँलाई फोन गरेँ । ज्वाईँ पाँच मिनेट मा आई पुगे । मैले ज्वाईँलाई ति बुढा बाको स्वास्थयको बारेमा चासो राखेँ । ज्वाईँले एक पटक फलोअफ मा हस्पिटल लिएर जाने कुरा गरे । बा ले मरिण देखि बर्दिवास सम्म आउने काम भएकाले मैले मरिण देखी नै ल्याहिदिएको हो भनेर भन्नु भनेकाले मैले त्यसै भनेँ । ज्वाईँ पनि खुसि भए । म जान्छु भने उनले आँखा भरि आँसु पारेर धन्यवाद भने मैले उनलाई बर्दिवास आउँदा भेट्ने बाचा गरेँ । बा को छोराको नाम सोधेँ । ज्वाईँको नम्वर मोबाईलमा सेभ गरेँ अनि सिन्धुली फर्किएँ ।
म त्यहाँ बाट फर्किए पछी आफ्नै दिनचर्यामा नै हराएँ । करिब दुई महिना पछी ति बा लाई फोन गरौँ जस्तो लाग्यो । फोन गरेँ ।
उता बाट बा को ज्वाईँले फोन उठाए । मैले बाको बारेमा प्रश्न गरेँ । उनको उत्तरले मेरो गला अबरुद्ध भयो । मैले बर्दिवास पुर्याएको दश दिनमा नै ति बुढा बाको मृत्यु भएछ काठमाण्डौं मा उपचार गर्दा गर्दै । मैले कसले लगेर उपचार गर्यो भनेर प्रश्न गर्दा आफु र श्रीमती ले लिएर गएको भने । मैले केहि नबोली फोन राखेँ । बुढा बाको छोराको नाम उनीसँग छुटीने बेलामा सोधेको ले आज काम लाग्यो जस्तो लाग्यो । फेसबुक खोलेँ उनको छोराको नाम सर्च गरेँ । एउटै नाम धेरै देखियो । मैले सिन्धुलीकै भएकाले धेरै म्युचल फ्रेण्ड भएको आईडी खोलेँ । तिनै बाको फोटो सहित को फोटो छोराको प्रोफाईल राखिएको रहिछ । क्याप्सन लेखिएको रहेछ मेरो जीबनको अमुल्य मान्छे !  अचम्म लाग्यो लभ रियाक्ट गरेँ । कमेन्ट गर्न मन लागेन गरिन पनि । छोराको पुरै फोटा अपलोड  गरेको हेरेँ । सेतो लुगा लगाएर बुवाको नाम मा एक लाख रुपैयाँ दान गरेको फोटो पनि देखेँ । फेसबुक बन्द गरेँ । सबै छोरा खराव र सबै छोरी सहि भन्न खोजेको हैन । यहाँ धेरै सही छोरा तथा छोरीहरु छन् । केही मात्रामा कर्तब्य बाट भड्किएका होलान् त्यो फरक कुरा हो । बा आमालाई माया नै नगर्ने छोरा छोरी कमै भेटीएलान् । छोरा छोरीले बा आमाको सम्मती पाए पछि मात्र बा आमा को सेवा गर्नु पर्छ भन्ने पनि हैन । सकुम्बासी बाबु आमाको सन्तानले पनि बाबु आमा को राम्रो सेवा गरेका छन् । तर ती बाको कुरा गर्दा समाजको नजरमा पाँच दिन जुठो बारेर जीवनको अन्त्य सम्म पाल्ने छोरी महान कि १३ दिन  कोरा बसेर बर्ष दिन सेतो लुगा लगाउने छोरो महान । मनमा कुरा खेलि रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here