अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले दुई जनालाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर नगरपालिका ५ सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालय प्रवक्ता सुरेश भुसालले जानकारी दिए।
सेवाग्राहीले मुआब्जा बापत घूस मागेको गुनासो गरेपछि अख्तियारको टोली अनुसन्धानमा खटेको थियो । सिद्धार्थनगर नगरपालिका ५ स्थित सेन्चुरी बैंकबाट उनीहरुलाई रंगेहात नियन्त्रणमा लिएको अख्तियार बुटवलका सूचना अधिकारी भुसालले बताए ।
विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ। विमानस्थलमा कार्यरत कर्मचारीले मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै चलखेल गरिरहेको गुनासो पटक पटक आउने गरेको थियो।