बनारसमा नेपालीलाई दुर्व्यवहार गर्ने एकजना पक्राउ

भारतको बनारसमा एक नेपालीको कपाल मुन्डन गरी नेपालविरुद्ध गाली गलौज गर्ने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न सन्तोष पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । अन्यको खोजी जारी राखेको प्रहरीले जनाएको छ । उक्त भिडियो पाण्डेले नै बनाएको प्रहरीले जनाएको छ । उनको मोबाइलबाट भिडियोसमेत बरामद गरिएको र अन्य केहीलाई हिरासतमा लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्नलाई कठोर कारबाही गरिने जनाएको छ ।

विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए । साथै उनलाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध नारा लगाउन लगाएका थिए । त्यो भिडियो विश्व हिन्दु सेनाका अध्यक्ष अरुण पाठकले फेसबुकमा सेयर गरेका थिए । त्यसपछि प्रहरीले पाठकसहितका व्यक्तिहरुविरुद्ध भेलुपुर थानामा एफआईआर दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । सो क्रममा सन्तोष पाण्डे नामका एक जना युवक पक्राउ परेको बनारस प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा बनारस प्रहरीका एक अधिकारीले दिएको जानकारीअनुसार पाण्डेले नै सो भिडियो बनाएका थिए । उनको मोबाइलमा पनि सो भिडियो रहेको बताउँदै बनारस प्रहरीले भनेको छ, ‘छिमेकी देशका राजनीतिक वा अन्य व्यक्तिविरुद्ध गरिएको आपत्तिजनक टिप्पणीलाई प्रहरीले गम्भीरतापूर्वक लिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here