गाउँले किसानका छोरा मान्छेको दिल–दिमाग जाँच्दै, श्रीमान्–श्रीमती नै उस्तै

अजय गोर्खाली

चितवन/माडीका मात्र होइनन्, चितवन र सिंगो देशकै मणि हुन् उनी । सामान्य कृषक परिवारमा जन्मिएर, गाउँकै सरकारी विद्यालयमा पढेर पछि डाक्टर बन्न सफल व्यक्तित्वबारे चर्चा गर्न लागिएको हो । डाक्टर भएर काम गरेको पनि छोटै समयमा राम्रै नाम कमाउन सफल भएका छन् । बुबा नीलकण्ठ काफ्ले र आमा दिलकुमारी काफ्लेको ज्येष्ठ सुपुत्र हुन् डा. खगेन्द्र काफ्ले । घर माडी–७, देवेन्द्रपुर । २०४१ जेठ ८ को जन्म । बाबुबाजे किसान भएपनि खगेन्द्रका सबै भाइ बहिनीले पढाइमा राम्रो गरे । माइलो भाइ इन्जिनियर, अमेरिकामा मास्टर्स लेवलको पढाइ गर्दैछन् । कान्छो भाइ इन्डियाको युनिभर्सिटीमा कम्प्युटर साइन्समा पीएचडी गर्दैछन् । बहिनी नर्सिङ अफिसर हुन्, महाकाली अञ्चल अस्पताल, महेन्द्रनगरमा कार्यरत छिन् । अहिले बुबा नीलकण्ठ ५६ वर्षको भए, आमा दिलकुमारी ५४ वर्षकी ।

माडी, देवेन्द्रपुरको राष्ट्रिय प्राथमिक विद्यालय जगन्नाथपुरबाट प्राथमिक शिक्षा हासिल गरेका खगेन्द्रले माडीकै जनजीवन माध्यमिक विद्यालय, खर्कट्टाबाट ७६ प्रतिशत भन्दा बढी अंक ल्याएर एसएलसी उत्तीर्ण गरे । अनि भरतपुरको अर्किड कलेजबाट विज्ञान विषय लिएर प्लस टु गरेका हुन् । बच्चैदेखि पढाइमा राम्रो भएका हुनाले परिवार तथा आफन्तहरुले डाक्टर बन्नुपर्छ भनी प्रोत्साहित गर्थे । र, उनी आफूलाई पनि डाक्टर बन्नु ठूलै कुरा हो भन्ने लाग्थ्यो । चितवनमा त्यो बेलामा एमबीबीएसका लागि १५ लाख जति शुल्क थियो । भरतपुरमा एक–दुई लाखमा घडेरी पाउने समयमा माडी गाउँको सबै सम्पत्ति बेचेर पनि डाक्टरी पढ्न सकिने अवस्था थिएन । त्यसैले सरकारी कोटामा नाम निकाल्ने सोच बनाए । १२ पास गरेको एक वर्षभित्र नेपालको स्वास्थ्य मन्त्रालयले लिएको छात्रवृत्ति परीक्षामा उनको सेलेक्सन पनि भयो, नाम निस्क्यो । त्यसबाट नेपालका विभिन्न मेडिकल कलेज अथवा चाइना, बंगलादेशका सरकारी मेडिकल कलेजहरुमा छात्रवृत्तिमा पढ्न पाउने अवसर प्राप्त भएको थियो ।

फेरि त्यसको केही समयमै भारत सरकारले भारतीय राजदूतावासमार्फत् लिएको छात्रवृत्ति परीक्षामा पनि उनी संलग्न भएर छनौट भए । त्यसपछि साथीभाइ र अग्रजहरुको सल्लाहमा भारतको राजस्थान राज्यको जयपुर शहरमा रहेको सवाइ मानसिंह मेडिकल कजेलमा गएर छात्रवृत्तिमा एमबीबीएसको पढाइ पूरा गरे । त्यसपछि जागिरको सिलसिलामा दिल्लीको अल इण्डिया इन्ष्टिच्युट अफ मेडिकल साइन्सेसमा गएर थोरै समय काम गरे । एमबीबीएस सकेपछि काम गर्नुका साथै एमडी गर्नु पनि प्राथमिकताको विषय भयो । यसबीच नयाँदिल्लीको लोकनायक अस्पतालमा डेढ वर्ष काम गरे । सँगसँगै मेट्रो अस्पताल लगायत अरु अस्पतालमा पनि काम गरेर उच्च शिक्षा अर्थात् एमडीका लागि चाहिने केही खर्चको जोहो गरेपछि एमबीबीएस सकेको करिब डेढ वर्षपछि भारतकै चण्डीगढमा पोष्ट ग्राजुयट इन्ष्टिच्युट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च (पीजीआई) अस्पतालमा साइकियाट्रीमा एमडी अध्ययन सुरु गरे । २०१५ मा एमडी सकेपछि नेपाल आएर चितवन मेडिकल कलेजमा मनोचिकित्सकको रुपमा कार्यरत छन् ।

दिल्लीमा काम गर्ने सिलसिलामा शाहदरा भन्ने ठाउँमा रहेको इभास हस्पिटलका बिरामीहरुसँग एक्स्पोज हुने मौका पाएका थिए । त्यहाँ उनले बिरामीहरुको उपचार गरेपछि आउने आत्मसन्तुष्टि साइकियाट्रीमा धेरै देखे । त्यहाँ कडा खालका मनोरोगका बिरामीहरु थिए । केही पनि गर्न नसक्ने, पूरै अरुमा निर्भर । सडकबाट उठाएर ल्याएका बिरामी हुन्थे । नांगै हिँड्ने, जेपनि बोल्ने । आफ्नो केयर गर्न नसक्ने । त्यस्ता बिरामीहरु पुलिसले समातेर अथवा परिवारले बाँधेर अस्पताल ल्याएर छोड्ने गर्थे । दुई–चार हप्ताको उपचारपछि तिनीहरु एकदम सामान्य भएर आफ्नो जागिर गर्न सक्ने, परिवारसँग बस्न सक्ने, विवाह हुने, पढाइ राम्रोसँग गर्न सक्ने हुन्थे । यति धेरै इम्प्रुभ्मेन्ट कि त्यही बिरामी पछि ठिक भएर अरु बिरामीहरुलाई उपचारमा ल्याउने गरेको पनि उनले देखे । ‘जसलाई हामी पागल भयो, बहुलायो भनेर छोड्ने गर्छाैं, तिनीहरुलाई त रोग लागेको हुने रहेछ । इभास अस्पतालमा एक–दुईपटक जाँदा नजिकबाट यस्तो अनुभूति गर्न पाएँ । उपचार गरेपछि तिनीहरु त एकदम नर्मल लाइफमा आउन सक्दा रहेछन् भन्ने बुझें’, उनी भन्छन्, ‘त्यसैले त्यसमा झुकाव लागेर एमडी गर्ने बेलामा सुरुमै साइकियाट्री विषयलाई चुज गरी त्यसैमा इन्ट्रान्स दिएँ ।’

एमबीबीएसमा पनि मनोरोगमा १५ दिनको पोष्टिङ हुन्थ्यो । साढे पाँच वर्षमा अन्तिमको एक वर्ष इन्टर्नशीप/प्राक्टिकल हुन्छ । त्यो प्राक्टिकलमा चाहिँ १५ दिनको अनिवार्य र १५ दिनको ऐच्छिक पोष्टिङ थियो । ‘एक महिना पोष्टिङ भएको हो मेरो साइकियाट्रीमा । इभास धेरै ठूलो अस्पताल थियो, २००–३०० बेडको । एउटा साइकियाट्री विभागमा नै हाम्रो यहाँका मेडिकल कलेजमा जति बिरामी हुने । त्यहाँ सिरियस बिरामी मात्रै । सबैलाई थुनेर राखेजस्तो देखिन्थ्यो । त्यो इन्टर्नशीपमा हल्का खालका बिरामीचाहिँ चेक गर्न हामीलाई दिइयो । जस्तै डिप्रेसन, एन्जाइटी– त्यस्तोमा चाहिँ बिरामीहरुले शरीरका समस्या लिएर आउने । यता दुख्यो, उता दुख्यो, टाउको दुख्यो, फूर्ति भएन, उठ्नै सकिनँ, कमजोर भएँ भनेर आउने बिरामीहरुलाई डिप्रेसन भएको हुने रहेछ’, उनले भने, ‘कतिलाई त डिप्रेसन भएको छुट्याउनै नसकिने । हेर्दा शरीरको समस्या छ तर भएको छ डिप्रेसन । मुटु ढुकढुक हुन्छ, सधैं मुटुको समस्या भनिरा’छ तर एक्चुअल्ली त्यो डिप्रेसनको लक्षण हुने । शरीरहरु दुखेको, पोलेको छ, समस्या चाहिँ डिप्रेसनको हुने । यसले गर्दाखेरि यो इन्ट्रेस्टिङ र च्यालेन्जिङ लाग्यो । यसमा चाहिँ अरुभन्दा फरक छ जस्तो लाग्यो । त्यही भएर एमबीबीएस सक्ने बित्तिकै सबैभन्दा पहिले म इभासमा गएँ । इभासमा जागिर खाने भनेर अन्तर्वार्ता पनि दिइयो । जागिरको कन्फर्म गरेपछि म नेपाल आएँ । जोइनचाहिँ गरिनँ । तर मेरो साथीले त्यहाँ काम गरेर अनुभव सुनाउँदा इन्ट्रेस्टिङ लाग्थ्यो ।’ त्यसैले डाक्टरीका विभिन्न विधामध्ये आफूले साइकियाट्रीमै विशेषज्ञता हासिल गरेको उनले बताए ।
डा. खगेन्द्र चितवन मेडिकल कलेजमा मनोरोग विशेषज्ञको रुपमा कार्यरत भएको अहिले पाँच वर्ष जति भयो । सीएमसीमा औसतमा दैनिक ५० जना जति बिरामी हेर्ने गरेको उनी बताउँछन् । जति पनि बिरामी हेरिएको छ, तीमध्ये धेरैजसोलाई या त निको भएको, या त कुनै न कुनै रुपमा इम्प्रुभ्मेन्ट भएको बताउँदै उनले भने, ‘उपचार गरियो भने धेरै मनोरोगहरु ठीक हुन्छ, लाइफ चेन्ज हुन्छ । त्यही भएर सरकारी/ गैरसरकारी दुवै क्षेत्रबाट सचेतना फैलाउने र उपचार नपाएकालाई उपचारमा ल्याएर नर्मल लाइफ बिताउन सहयोग गर्नुपर्छ । गम्भीर प्रकारका मनोरोगका बिरामीहरु, जसको उपचार नै भइराखेको छैन । त्यस्ता धेरै बिरामीहरु छन् उपचार नपाएको । बाटोबाटो हिँडिराखेको, जसलाई पागल भएको, बौलाहा भएको भनेर त्यत्तिकै छोडिएको छ । वास्तवमा तिनीहरुलाई रोग लागेको हुन्छ । रोगको उपचार गरेपछि उनीहरु नर्मल हुन्छन् । कुनै सरकारी वा गैरसरकारी संस्थाहरुले समन्वय गर्न सक्नुहुन्छ भने हामी निःशुल्क सेवा दिएर तिनीहरुको जीवनमा परिवर्तन ल्याउन सक्छौं ।’
उनी भन्छन्, ‘मनोरोगमा यति धेरै रोगहरु छन् । सयौं रोगहरु । जस्तै अल्जाइमर्स रोग भन्ने छ, बुढेसकालमा लाग्छ, जसमा दिमाग सुक्दै जान्छ र उसको दिमागको क्षमता कम हुँदै जान्छ, मान्छे चिन्न छोड्छ । आफूलाई केयर गर्न छोड्छ । ब्रेनले गर्नसक्ने जति पनि काम छ, हराउँदै जान्छ । बिस्तारै बिस्तारै कसरी खाने ? खानै बिर्सिन्छ मान्छेले । आफैंलाई बिर्सिन्छ, आफ्नै नाम बिर्सिन्छ । त्यस्तोमा केलाई हामीले केयोर गरेको भन्ने ? त्यसलाई उपचार गरेर मेमोरीलाई फिर्ता ल्याउने अथवा पहिलाको जस्तै स्थितिमा ल्याउन सकिँदैन । त्यसमा ट्रियटमेन्ट गर्ने भनेको उसको लाइफलाईचाहिँ सजिलो बनाउने हो । त्यो रोगले गर्दा बिरामीलाई भएको समस्या र परिवारलाई भइरहेको गाह्रोपन कम गर्ने हो । जस्तै मन्द बुद्धि भएर जन्मिएका हुन्छन् कोही । त्यस्तोमा हामीले गरेको उपचारबाट पूरा बुद्धि आउने होइन । उसको बुद्धिलाई कति सम्म हामीले युजफुल बनाउन सक्छौं उसको क्यापसिटीलाई बढाउने मात्र हो । निको हुने विभिन्न रोगहरु छन्, जुन औषधिले लगभग पूरै निको हुन्छ, त्यो पनि भएकै हुन्छ । कुनै समस्या, रोगहरु यस्ता छन्, जुन दबाइले सुधार ल्याउँछ र बिरामीलाई सजिलो बनाइदिन्छ जिन्दगी जिउनलाई ।’
धेरैथरी रोगहरु मध्ये सिजोफ्रेनिया चाहिँ कडा मनोरोगमा पर्ने बताउँदै उनले भने, ‘मानवजातिलाई हुनसक्ने सबैभन्दा कडा रोगमध्ये एउटा मानिन्छ । त्यसमा मान्छेलाई म बिरामी छु भन्ने नै थाहा हुँदैन । एकजना बिरामी हुनुहुन्थ्यो, ब्याचलर लेबलमा इन्जिनियरिङ पढ्दै गर्नुभएको, पढ्दापढ्दै उहाँमा बिरामी सुरु भयो । उहाँलाई सिजोफ्रेनिया भन्ने रोग लागेपछि भ्रमहरु उत्पन्न हुन थाल्यो । उहाँलाई बिस्तारै यस्तो लाग्न थाल्यो, उहाँको टाउकोमा कसैले चिप्स जोडिदिएको छ । इलेक्ट्रोनिक डिभाइस जोडेको छ, जसबाट टाढाको कुनै दुश्मनले उहाँको सबैकुरा मोनिटर गरिरा’छ स्क्रिनमा । उहाँलाई टाउकाभित्र केही भएको, बजेको फिल हुन्थ्यो । उहाँलाई पूरै विश्वास थियो कि टाउकोभित्र त्यो उपकरण छ भन्ने । परिवारका मान्छेलाई यस्तो कुरा भन्दा परिवारका मान्छेहरुले उहाँलाई उडाउँथे । सुरुमा सुरुमा चाहिँ पत्याएनन् । त्यसले गर्दा सोचेर बस्ने, काम गर्नै छोड्ने, पढाइ पनि छोड्नुभयो । परिवारका मान्छेहरुले झारफुक गर्न लैजानुभयो । पछि बिरामी एकदमै रिसाउने, आवेगमा आउने, मारपिट गर्ने गर्न थाल्नुभयो । सबै मान्छे माथि शंका गर्न थाल्नुभयो, सबै मान्छे मिलेर मलाई मार्न थालेका छन्, मेरो चियोचर्चाे गरेका छन् । मेरो मर्डर हुँदैछ, किडन्याप हुँदैछ । घरमा पनि क्यामेरा लगाएको छ, एउटा यन्त्र त मेरो दिमागभित्र फिट भइसक्यो । उहाँको यति समस्या बढ्दै गयो, ५/६ महिनापछि उहाँले त्यो यन्त्र आफैं निकाल्छु भनेर चक्कुले टाउकोमा आफ्नै छाला कोट्याउँदै जान थाल्नुभयो ।

उहाँले घरका मान्छेलाई भन्नुहुन्थेन । घरका मान्छेले दाहिनेतिर कन्चटमा घाउहरु देखेपछि सोध्दा यन्त्र जडान भएको छ, यसलाई आफैं निकालेर फाल्छु भनेर चक्कुले आफैं काट्दै ब्लिडिङ हुन थालेपछि अस्पताल ल्याइनुभयो । उहाँलाई चाहिँ हामीले भर्ना गरेर उपचार सुरु ग¥यौं । दुई–तीन हप्तापछि उहाँलाई औषधिले काम गर्न थाल्यो । उहाँलाई यस्तो होइन भनेर सम्झाएर हुने अवस्थै थिएन किनभने उहाँलाई रोग लागिसकेको थियो । लगभग एक महिनामा बिरामी ८०/९० प्रतिशत ठिक हुनुभयो । अलिअलि भ्रम त उहाँलाई अझै थियो तर त्यो कम हुने क्रममा थियो । अब आफैं औषधि खानुहुन्छ भन्ने बुझेपछि डिस्चार्ज ग¥यौं । त्यसपछि ती बिरामी काठमाडौं जानुभयो । पछि हामीले काठमाडौंको साइकियाट्रिकलाई फलोअप गराउनुस् भनेर त्यहाँ कन्ट्याक्ट दियौं र पछि पाँच–६ महिनापछि काठमाडौंको जो साइकियाट्रिक हुनुहुन्छ, उहाँले फलोअप गर्नुभाथ्यो । उहाँसँग सम्पर्क गरेर मैले कुरा बुझ्दा बिरामी पूरै ठिक भएको र अहिलेचाहिँ कुनै ठाउँमा सुपरभाइजरको जागिर खान थालेको बुझिएको छ । उहाँको परिवार पनि एकदम खुशी हुनुभा’छ भनेर काठमाडौंको डाक्टरसा’पले मलाई जानकारी गराउनुभयो । त्यो एउटाचाहिँ एकदम खुशीको क्षण हो मेरो लागि ।’
‘मलाई यस्तो लाग्छ, म अरु विधाको डाक्टर भइदिएको भए यतिधेरै रिवार्डिङ अथवा आत्मसन्तुष्टि वा धन्यवाद पाउँथिन् होला’, डा. खगेन्द्र भन्छन्, ‘त्यस्ता धेरै उदाहरणहरु छन् ।

एकजना ओसिडीको बिरामी हुनुहुन्थ्यो, ५०/५५ वर्षीय । उहाँलाई मुखबाट फोहोर शब्द निकाल्छु कि भनेर डर लाग्ने । त्यसैले मुखमा पानी राखेर बस्ने । समस्या यति बढ्दै गयो कि उहाँ आफ्नो दोकानमा पनि बस्न सक्नुभएन । पछि गर्दागर्दा यति धेरै भयो कि घर भित्र बस्दा पनि मुखमा पानी हालेर बस्न थाल्नुभयो । पछिपछि मुखमा पानी मात्र हालेर पनि नहुने जस्तो लागेपछि घरमा कोही मान्छे आउने बित्तिकै लुक्न जाने । समस्याचाहिँ पुरानै थियो । पछि नियमित औषधि खान थालेपछि अहिले उहाँ आफ्नै दोकानमा बस्न थाल्नुभा’छ । मुखमा पानी हाल्न पनि लगभग छोड्नुभा’छ । बाहिर निस्किनु हुन्छ, घुम्नु हुन्छ । भर्खरभर्खर उहाँको उपचार चलिराको हो ।’


डाक्टर खगेन्द्रले २०७३ सालमा भरतपुरकी सृजना भुर्तेलसँग मागी बिहे गरेका हुन् । सृजना पनि डाक्टर हुन्, मानसिक रोग विशेषज्ञ नै । बिहे गर्ने बेला सृजनाले एमबीबीएस सकेर साइकियाट्रीमा एमडीका लागि भर्खर भर्ना गरेकी थिइन् । चितवनको पुरानो मेडिकल कलेजबाट एमबीबीएस सकेकी सृजनाले धरानको बीपी कोइराला इन्ष्टिच्युटबाट एमडी गरेकी हुन् । यसअघि तनहुँको एक प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अफिसर भएर काम गर्थिन् । अहिले भरतपुर अस्पतालमा कार्यरत छिन् । खगेन्द्र र सृजनाको अहिले सात महिनाकी एउटी छोरी छ, एल्विना ।
बुबाआमा दुवै डाक्टर भएपछि बच्चालाई पनि डाक्टर नै बनाउने सोच छ कि के छ ? भन्दा उनले भने, ‘बच्चालाई यस्तो बनाउने भनेर बाबुआमाले सोचिन्छ । त्यो नै गलत कुरा हो । उनीहरुको आफ्नो इच्छा, इन्ट्रेस केमा छ ? त्यसैमा बच्चा बढी सक्सेसफुल हुन्छ । अहिले त हाम्रो बच्चा सानो छ । यतिखेर बच्चालाई कसरी राम्रो बच्चा बनाउने भन्ने ध्यान छ । कसरी शारीरिक मानसिक रुपमा स्वस्थ बनाउने भन्ने ध्यान दिएका छौं ।’
पछि पति–पत्नी मिलेर मानसिक रोगको उपचार गर्ने आफ्नै अस्पताल वा क्लिनिक खोल्ने सोच छ कि छैन ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘आफ्नो अर्काको भन्दा पनि उपचार महत्वपूर्ण हो । अहिले पनि हामीले काम गरिरहेका छौं । श्रीमती सरकारीमा, म निजी क्षेत्रको हस्पिटलमा काम गरिराखेको छु । तत्काल त्यस्तो कुनै योजना त छैन । तर मेरो मनमा रहेको एउटा के छ भने गम्भीर प्रकारका मनोरोगका बिरामीहरु, जसको उपचार नै भइराखेको छैन । बाटोबाटो हिँडिराखेको, जसलाई पागल भएको, बौलाहा भएको भनेर त्यत्तिकै छोडिएको छ । वास्तवमा तिनीहरुलाई त रोग लागेको हुन्छ । रोगको उपचार गरेपछि उनीहरु नर्मल हुन्छन् । त्यस्ता बिरामीहरु जुन उपचारको अभावमा बेवारिसे रुपमा रहेका छन् । कुनै सरकारी–गैरसरकारी संस्थाहरुले समन्वय गर्न सक्नुहुन्छ भने हामीले निःशुल्क सेवा दिएर तिनीहरुको जीवनमा परिवर्तन ल्याउन सकिन्छ कि भन्नेमा चाहिँ हाम्रो ध्यान छ ।’

LEAVE A REPLY