“दिल्ली र नेपालको शक्ति मिलेर मलाई हटाउन खोज्दैछन्”

‘म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन"

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदमा बसिरहन मन नभएको बताउँदै ‘खोसिएको जमिन फिर्ता गर्न खोजेको र आफूले कुनै गल्ती नगरेको’ बताएका छन् । प्रधानमन्त्री ओलीले नक्सा सच्याए वापत आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालभित्रैका शक्तिहरु अहिले लागिपरिरहेको आरोप लगाएका छन् ।

मदन भण्डारी फाउन्डेसनद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दिल्लीका सञ्चारमाध्यम सुन्नुस्, त्यसैले देखाउँछ, यहाँका होटेलमा भइरहेका गतिबिधि हेर्नुस्, एम्बेसीको सक्रियता हेर्नुस्, त्यसले बताएको छ ।’ उनले थपे, ‘नेपालको राष्ट्रियता यति कमजोर छैन नक्सा छापे वापत, यस देशको प्रधानमन्त्री हटाउँछस भनेको छ भने, यो नसोचे हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने,अहिले केपी ओलीलाई नहटाई हुँदैन भनिएको छ । संविधान संशोधन गरेर नक्सा सच्याउने अपराध गर्नेलाई राख्नै नहुने भनिएको छ । यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्ने आँट गर्ने छैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ ।’‘त्यसैले म आफ्ना लागि होइन, देशका लागि हो । हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता वहकाऊमा फस्ने छैन । कोशिस गर्नेलाई गर्न दिउँ ।’म आजका लागि मात्र होइन, भोलिका लागि पनि हो । जननेता भण्डारीको विचारबाट निर्देशित हाम्रो पार्टी र संसदीय दल यति कुरा नबुझ्ने खालको छैन । हामीले कुनै भुलचुकमा नक्सा छापेका होइनौँ । हामी यसबाट पछाडि हट्दैनौँ । हाम्रो भूमि फिर्ता लिएर छाड्छौँ । विगत दुई सय चार वर्षदेखि हाम्रो रहेको र ५८ वर्ष मिचिएको हाम्रो भूमि फिर्ता लिन गाह्रो छैन । अन्तिममा सत्यको विजय हुने ओलीले बताए ।
उनले आफू शासन गर्नका लागि नभई देश जनताको सेवा गर्न राजनीतिमा होमिएको बताउँदै हुन त विरोधीहरुले मार्क्स र भण्डारीको पनि विरोध गर्थे । मेरो पनि गरेका छन् तर म शासन गर्न राजनीतिमा लागेको होइन । जनता र देशको सेवा गर्न लागेको हुँ । म मेरा साथीहरुलाई मलाई नजिकैबाट हेरेर ममा कुनै दाग, धब्बा र छिटाहरु भए आलोचना गरिदिन आग्रह गर्छु ।

LEAVE A REPLY