सम्झनामा हजुर

केशव ढुंगाना "परिवर्तन" 

ज्येष्ठ मास ।
जीवन उजाड शिशिर जस्तै भएता पनि प्रकृति भने हराभरा छ , सुसज्जित छ – ऋतुहरुको भूपति मानिने बसन्तको उपस्तिथिले । भानुका अंशुहरु सिधा परेकाले धरती  अनल जस्तै उष्ण छ । दुई महिना देखिको बन्दाबन्दीले जीउ निकै गलेको छ । दिनभरी कहिले लामो कहिले छोटो दूरिमा  डुलिरहने मेरा खुट्टाहरु महिनौँ देखि  एक कोठाभित्र थन्किएका छन् । सदा  नजिक देखि दूर दराज सम्मको वातावरण विचरण गरेर नथाक्ने मेरा नयनका झ्यालखानाहरु सीमित घेराबन्दीमै दृष्टिगोचर गरिरहेका छन् । ज्येष्ठ मासको टन्टालपुर घाममा सहारा मरुभूमि जस्तै सुख्खा भएका छन् मेरा ओठहरु – तिर्खाले आकुल भएर ।हावा चल्न थाल्छ – जोरले । बहुत जोरले – धेरै संरचनाहरु नष्ट गर्ने गरी । यो हावाले मलाई उडाएर भौगोलिक रुपले पूर्व – पश्चिमका हजुर र मेरो संगम गराइदिएको भए ? गरेर हजुरलाई अंकमाल सोध्ने थिएँ म बाट किन छुट्टिनुभयो ; राखेर हजुरलाई काखमा प्रेमको सौगात दिएर भन्ने थिएँ भन्न चाहेर पनि भन्न नसकेका मनको कुनामा गुम्सिएका अकथित कैयौँ भावनाहरु ; झिकेर मेरो मुटु हजुरको शरीरमा राखि अनूभूत गराउने थिएँ  – कसैको यादमा दिन रात  बिताउँदाको पीडा  कस्तो हुन्छ भनेर ।  स्मरण गराउने थिएँ हजुरको सम्झनामा बिताएका थुप्रै दिनहरुको – बसेर हजुरसंगै ।

प्रेम भावनात्मक विषय हो । हुदैन प्रेमको अर्थ पूर्ण कुनै शव्दमा परिभाषित गरेर । प्रेम अनन्त छ – आकाशजस्तै , जसको कुनै सीमा हुदैन । सायद यही भएर होला – धागोबाट चंगा उछिट्टिएर गएजस्तै गरी हजुर म बाट विदाई हुदा पनि मैले हजुरलाई मेरो मनको ताजमहलमा सुरक्षित राखिरहेको । दुर्भाग्य , मैले हजुरलाई हृदयको ढोकामा चुक्कुल लगाएर राख्न प्रयास गरे पनि ;  जानुभयो हजुर चुक्कुल तोडेर । बगेका छन् मेरा आँसुहरु हजुर गएदेखि आफ्नै लयमा सेती नदी झैँ ।  सुसाइरहँदा म सेती झैँ कहाँ को संग लुकामारी खेलिरहनुभएको होला हजुर ?

अहिले हजुर म संग हुनुहुन्न , तर आफ्नै आँखा अगाडि हजुरलाई हेरिरहेझैँ लाग्छ  – जसरी हावामा उडिरहेको फुलहरुको सुगन्ध हामी देख्न सक्दैनौँ , अनुभव गर्न सक्छौँ । मेरो जीवन एक्कासी आकासिएर सगरमाथा झैँ भएको थियो ; अँझ भनौँ भने पखेटा पलाएको कमिला झैँ भएको थिएँ म – हजुर साथ हुदा । तर भएको छ अहिले मेरो जीवन पखेटा भाँचिएको चराको जस्तो – हजुर पराई हुँदा ।

हो , धन दौलतको घरमा सुख सयलको जिन्दगी दिने मेरो औकात थिएन । साथै सम्पन्नताको डोली चढाएर खुशीको मनोरम स्फटिक चुमाउने हैशियत पनि मेरो कहाँ थियो र ? त्यसैले कतिबेलै हजुर पराई भएर पनि ठिकै भयो जस्तो पनि लाग्छ । तर , सक्ने थिएँ – हजुरलाई प्रेमले भरिएको मेरो मन मुटुमा राख्न । थिएँ सजाउने हजुरलाई मेरो प्रेमको फुलबारीमा । मुटु भन्दा ठूलो र सम्पन्न आश्रय स्थल अरु कुनै होला जस्तो लाग्दैन मलाई । हजुरको लागि मेरो मुटु एक सुरक्षित झुपडी हो , अनि मेरो लागि हजुरको मुटु । हजुरको सम्झनामा मैले सच्चा प्यारको आँसु बगाएको छु । मेरो मुटु भन्दा बढी सुरक्षित कसको घर होला र हजुरको लागि ? त्यसैले छु चिन्तित म ।

कैयौँ पटक सोचेँ होला – अब त हजुरलाई भुलिदिन्छु भनेर । दुर्भाग्य , जे सोचेँ त्यही छिनभरमै भुल्दो रहेछुँ । सक्दैन रहेछुँ भुल्न हजुरलाई – जसरी ग्रह उपग्रहरुले भुल्दैनन् सूर्यको परिक्रमा गर्न ।  गरिरहन्छन् निरन्तर परिक्रमा सुर्यको आफ्नो बाटो नबिराई ग्रहहरु;  गरिरहँदो रहेछु त्यसैगरी म पनि हजुरको प्रोफाइल भ्रमण – धीत नमरुन्जेल सम्म  ।  हो , म पनि त्यही ग्रहहरु मध्येकै यौटा हुँ अनि हजुर सूर्य ।

आउनुभएथ्यो ग्रहको जीवनमा सूर्य भै चकमन्न उजेली लिएर , पार्नुभएथ्यो चम्किलो मलाई हजुरका प्रेमरुपी रश्मिहरुले , थियो पार्नुभएको मलाई न्यानो  हजुरको असीमित माया ममताले ; र जानुभयो मलाई चटक्कै छोडेर  – कालो अपारदर्शी वस्तु ब्लाक होल झैं पारेर ।   परिणत गराइदिनुभयो मलाई – ग्रहबाट ब्लाकहोलमा ।

एक अर्थले त्यो ब्लाक होल र म बिच समानता नै छ । किन्तु त्यही भएर त म बाट दूर हुनु भएको हैन ? हो ,   त्यो कालो अन्धकार  छ , म पनि । त्यो प्रकाशविहीन छ , म पनि । ठूलो झण्डै गृनल्याण्ड जत्रो प्वाँल परेको छ त्यसमा ,  मुटुमा मेरो पनि  । आकारले त्यसको प्वाँल ठूलो होला , मेरो मुटुमा परेको प्वाँल त्यहाँको भन्दा धेरै धेरै विशाल छ – अनुभूतिले ।

अँ केहि दिन पहिले मात्रै सुनेको – टालियो रे ब्लाकहोलमा परेको प्वाँल पनि । किन टालिएन मेरो मुटुमा परेको प्वाँल ? पुरिएन किन हजुरले मेरो मुटुमा तिरैतिरै रोपेर  पारेको दाग ? मेरो हृदयमा बसेको हजुरको फोटो अनि मगजमा रहेका हजुरका यादका सुनामीहरु किन हराउँदैनन् ? हजुरले अन्तै बाटो मोडेपछि हजुरको सम्झनामा यात्रारत यादका भुइँचालाहरु सिमलको भुँवाझै मेरो मस्तिष्क बाट उडेर जानु पर्ने होइन र ? तर , गएनन् । सायद माया भन्ने यही होला – एकपटक कसैलाई सकारात्मक तरिकाले हृदयको अतल गहिराई देखि प्रेम गरेर बास बसाइसके पछि सकिन्न रहेछ मनै देखि हटाउन ।

ल मानेँ  , नहुन सक्छ थाहा मलाई – मन पराउनु र माया गर्नु बिचको फरक । तर , ” हजुरको हातमा खटिरा आउँदा म एक्लै रोएको थिएँ ; मेरो मुटुमा चिराचिरा पर्दा पनि हजुरले मलाई सम्झनु भएन । ” हजुरको मौनतालाई मैले बुझेको थिएँ , बुझ्नु भएन हजुरले मेरो मौनता लाई । मेरो लागि रुने हजुरका नेत्रहरु अचेल कसको लागि रोइरहेका छन् ? हुन त हाँसिरहनु भएको होला है ? म मात्रै होला रुने त । यस्तै रहेछ संसार , यौटा रुँदा अर्को हाँस्ने । यस्तै रहेछ प्रेम – एउटा हात थाप्ने , अर्कोले हात अर्कैलाई सुम्पिने ।  दिनभरी रातभरी म संग कुरा गर्न व्यस्त हुने हजुर अचेल को संग व्यस्त हुनुहुन्छ होला ? हुन त अब सोधेर  औचित्य नहोला – तर मान्दैन रहेछ मन ।

आजको युग विज्ञान र प्रविधिको युग हो । प्रविधिको यस युगमा मर्नै लागेका मान्छेलाई समेत निको पार्ने औषधि बनाइसकेका छन् , वैज्ञानिकहरुले । मृत व्यक्तिको मुटु समेत प्रत्यारोपण गरिसके चिकित्सकहरुले । यतिका औषधि बनाइसक्ने विज्ञान प्रविधिले कसैको याद मेटाउने ओखतीको आविष्कार किन गर्न सकेन ? कोरोनाको औषधि भन्दा पहिले हजुरलाई दिमाखदेखि हटाउने दबाई बनाओस् विज्ञान प्रविधिले । कोरोनाले त भौतिक रुपले नै अक्सिज्न च्युत होला व्यक्तिको । तर , कसैको यादले म जस्ता थुप्रैलाई मर्नु न बाँच्नुको अवस्थामा  छोडेर मन मनै मारेको छ । नमरेर पनि मरेको जस्तै हुनुभन्दा मरेकै वेश लाग्छ मलाई ।

दूरिमा जति टाढा थियौँ , त्यो भन्दा धेरै टाढा भएँ हजुरको मन देखि म । म हजुरको नजिक नजिक आउन खोज्छु , हजुर भने जति म नजिक आएँ , त्यति नै टाढा जान थाल्नु भो ।  किनकि हजुर गगन बाट वर्षा भै खोलो नभएरै एकैपल्ट  निकै पर समुद्र सागर सम्म पुगिसक्नुभएको रहेछ । मैले अब एक्लै चित्त बुझाउनु शिवाय अर्को विकल्प छैन ।  तस्वीर हजुरको जसले खिचेपनि पृष्ठभूमिमा आकृति मेरै देखियोस् ; हजुर महान् बन्नुभयो भने भोलि लेखिने हजुरको जीवनीमा कहिँ कतै नाम मेरो पनि समेटियोस् ।

LEAVE A REPLY