गाविस सचिवको आम्दानी २६ करोड

एक जना गाविस सचिवले जागिरे अवधिमा २६ करोड कमाई गरेको फेला परेको छ । जसमध्ये १७ करोड ८३ लाख रुपैयाँ बराबर सम्पत्तिको श्रोत खुल्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अर्यालले ०३९ साल साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा नियुक्ति लिई ३७ वर्ष सेवा गरेको थिए । अर्यालले २०७६ सालमा शाखा अधिकृतबाट अवकाश पाएका व्यक्ति हुन्। यो ३८ वर्षे सेवाकालको वैध आम्दानी जोड्दा उनको कमाइ आठ करोड ७७ लाख २७ हजार रूपैयाँ हुन्छ। तर उनको नाममा २६ करोड ६० लाख ६९ हजार रूपैयाँ अख्तियारले फेला पारेको छ। उनको नामको कुल सम्पत्तिबाट वैध आय घटाएपछि बाँकी रहेको १७ करोड ८३ लाख ४१ हजार रूपैयाँ उनले भ्रष्टाचार गरेर कमाएको अख्तियारको आरोप छ। कालो धनलाई सेतो बनाउनका लागि दान र सापटी नै ४ करोड दिएको हिसाब देखाएका छन्। उनले छोराछोरीको विवाहमा २८ लाख र उनीहरूको अध्ययनमा २० लाख ३२ हजार खर्च गरेको देखिन्छ। घर तथा जग्गा खरिदमा उनले ५ करोड ४४ लाख, शेयर खरिदमा ९ करोड १३ लाख, न्यु लिङ्क कापी उद्योग र एलडी इन्टर प्राइजेज फर्ममा ४ करोड ४२ हजार लगानी गरेको अख्तियारले जनाएको छ।
सुन खरिदमा ४ लाख १० हजार खर्च गरेका उनले दान र सरसापटी व्यहारमा ४ करोड ५० लाख ३३ हजार खर्च गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ।उनलाई २ वर्षसम्म कैद र विगो बमोजिमको जरिवाना हुनुपर्ने माग गर्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा चलाएको छ।

LEAVE A REPLY