कांग्रेस सभापति शेरवहादुर देउवाले गठन गरेको ‘लगानी, पूर्वाधार र रोजगार विशेष समिति’ मा मनाङका २ सदस्य चयन भएका छन् । समितिमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ र संघीय संसदमा मनाङका सदस्य कर्मा घले चयन भएका हुन् ।
विश्वब्यापी महामारीको रुपमा आएको कोरोना भाईरस कोविड १९ को प्रभावले देशका विभिन्न क्षेत्रमा परेको असरको अध्ययन गरी त्यसको समाधानका लागि आवश्यक कार्य गर्न गत बैशाख १७ गते विभिन्न समितिहरु गठन गर्ने निर्णयअनुसार पार्टी सभापति देउवाले लगानी, पूर्वाधार र रोजगारको दृष्टिोकोण एवं दीगो परियोजना केन्द्रि विशेष समिति गठन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
विनोद चौधरीको संयोजनमा गठित उक्त १५ सदस्यीय समितिमा नेपालका लगानी र रोजगार क्षेत्रका प्रखर अनुभवि व्यक्तित्वको रुपमा परिचित मनाङका नेताद्वय पूर्व श्रम तथा रोजगार राज्यमन्त्री गुरुङ र सांसद घलेसहित रोजगारदाता एवं सफल उद्योगपतिहरु दिपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, जिपछिरिङ लामा र छत्र गिरि रहेका छन् । त्यसैगरी सूर्यबहादुर के.सी. मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा सो समितिमा चयन भएका छन् ।