म उभिएको धरातलमा कोरिएका तीन हरफहरु…

शशीशेखर

शशी शेखर

मेरो देशमा के छैन ?
सबथोक छ !
मानव,महामानव मात्र होईन हिममानव पनि छ
तर,
त्योभन्दा पर
हाम्रो साझा दुश्मनका रूपमा
कहिँकतै कोहि छ भने
सबैभन्दा बढी,सबैभन्दा शक्तिवान्
यत्रतत्र,सर्बत्र
त्यही ‘अमानव’ छ।
मेरो देशमा के छैन ?
सबथोक छ !   |१|
०००००००००००००००
हिमाल छ,पहाड छ,तराई छ
जल छ,जमिन छ,जंगल छ,जडिबुटी छ
बाहुन छ,क्षेत्री छ,नेवार छ,थारु छ,मगर छ
राई छ,लिम्बु छ,र…राउटे,कुसुण्डा पनि छ,
बहुल भाषा छ, प्रकृतिपुजक धर्म छ,
सनातन संस्कृति छ
आफ्नै मौलिक र सहिष्णु जिवनदर्शन छ।
‘अनेकतामा एकता’ भित्रको
साझा फूलवारीको एक थुङ्गा
हाम्रो जिवन्त पहिचान नै छ
मेरो देशमा के छैन ?
सबथोक छ !
तर,
त्योभन्दा पर
हाम्रो साझा दुश्मनका रूपमा
कहिँकतै कोहि छ भने
सबैभन्दा बढी,सबभन्दा बलशाली
यत्रतत्र,सर्बत्र त्यही “अमानव” छ ।|२|
०००००००००००००००
मेरो देशमा के छैन ?
सब थोक छ !
राष्ट्र छ,राष्ट्रियता छ
देश खुम्चिदै छ,राज्य बढ्दै छ
क्रान्ति छ,प्रतिक्रान्ति छ
ज्ञान छ,ईतिहास छ
विकास छ,समृद्धि छ
शासन छ,सुशासन छ
नेता छ,गणनेता छ
जनता छ,जनार्दन छ
कानून छ,प्रशासन छ
लोक छ,लोकतन्त्र छ
शान्ति छ,अशान्ति छ
ऐतिहासिक संविधान छ,युगान्तकारी संघीयता छ
धर्म छ,धर्म निरपेक्षता छ
हजारौं राजा छ,करोडौं रैती छ
‘विविधतामा मौलिकता” हाम्रो दिग्भ्रमित नियति नै बनेकोछ !
मेरो देशमा के छैन ?
सबथोक छ !
तर,
त्योभन्दा पर
हाम्रो साझा दुश्मनका रूपमा
कहिँकतै कोहि छ भने
सबैभन्दा बढी,सबैभन्दा शैतानी
यत्रतत्र,सर्बत्र त्यही “अमानव” छ
त्यही “दानव”छ ।|||३||

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here