लोकसेवाले नयाँ कर्मचारी भर्ना नगर्ने, शिक्षक सेवाका परीक्षार्थी पनि प्रभावित

कोभिड–१९ प्रकोप र लकडाउनले मुलुक आर्थिक संकटमा पर्ने भएपछि सरकारले प्रशासनिक खर्च कटौती गर्न सबै सरकारी सेवामा नयाँ कर्मचारी भर्ना बन्द गरेको छ ।

सरकारले तत्कालै निजामती सेवा एंव सुरक्षा निकाय तथा संगठित संस्थाहरूको भर्ना प्रक्रिया रोक्दा झण्डै ८ हजार नयाँ कर्मचारीहरुको भर्ना प्रभावित हुने भएको छ । निजामती सेवाका झण्डै तीन हजार बढी, सुरक्षा निकायका ५ हजार हाराहारी र अन्य संगठित संस्थाहरूको कर्मचारीहरुको भर्ना प्रक्रिया अवरुद्ध हुन पुगेको छ । गत १४ वैशाखको मन्त्रिपरिषद् बैठकले सरकारले लोकसेवा आयोगलाई पदपूर्तिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्न अनुरोध गरेको थियो ।मन्त्रिपरिषद्ले वैशाख १४ मा राज्य कोषबाट तलबभत्ता पाउने र सरकारी लगानी रहेका सार्वजनिक संस्थानसहित सबै संगठित संस्थामा नयाँ कर्मचारी भर्नामा रोक लगाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले अत्यावश्यकबाहेकका कर्मचारी भर्ना र दरबन्दी थप एवं मिलानका लागि नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्नसमेत अर्को व्यवस्था नभएसम्म रोक लगाएको छ ।

रिक्त दरबन्दी पदपूर्ति गर्न लोक सेवा आयोगबाट भएको विज्ञापनअनुसार परीक्षा सञ्चालन हुन बाँकी रहेका र पदपूर्तिका लागि विज्ञापन आव्हान गर्न बाँकी रहेका सम्पूर्ण पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि हाललाई स्थगित गर्न लोक सेवालाई सरकारले अनुरोध गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा सरकारले यस्तो निर्णय गरेको हो । सरकारले पदपूर्तिसम्बन्धी कार्य अर्को व्यवस्था नभएकासम्म हाललाई स्थगित गर्न लोक सेवा आयोगलाई अनुरोध गरेको छ । यसबाट निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थाहरूको भर्ना प्रक्रिया प्रभावित हुने भएको छ ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुग्ध विकास संस्थाको भर्ना प्रक्रिया पनि अवरुद्ध भएको छ ।

तीनै तहका सरकारका निजामतीका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, शिक्षक सेवा, विश्वविद्यालय सेवा, सरकारको लगानी रहेका सार्वजनिक संस्थान, विकास समिति र संगठित संस्थाले अब नयाँ कर्मचारी भर्ना गर्न पाउने छैनन् । यिनमा साढे ६ लाख हाराहारी दरबन्दी छ । यी सेवामा हरेक वर्ष ६० हजारभन्दा बढीले सेवा प्रवेश गर्छन् । उमेर अवधि, पदावधि, राजीनामा या मृत्युका कारण ६० हजारभन्दा बढी पद रिक्त हुन्छन् । ती पदमा हरेक वर्ष नयाँ पुस्ताले प्रतिस्पर्धाबाट प्रवेश पाउने गरेका छन् ।

LEAVE A REPLY