सगरमाथा

विष्णुप्रसाद न्यौपाने

विष्णु प्रसाद न्यौपाने

 

म यो धरती नियाल्छु
चारैतिर नजर घुमाउँछु
अनि मुस्कुराउँछु
आहा क्या गज्जब भो

म प्रफुल्लित छु, म चम्किरहेछु, चम्किरहन चाहन्छु।
हे मानव ,
तिम्रा ज्यादतीले म आजित भैसकेको छु,
नाराज छु तर पनि विवश छु,
तिम्रा बुटहरु मेरो छातीले धेरै सहिसके
हे कोरोना धन्य गरिस् तैँले,
थुन्दे यी मानवहरुलाई बन्दी बनाईदे
आफ्नै घरभित्र

मेरो अस्तित्व नै मेटाउन खोज्नेहरुको
ल्याकत नियाल्दै छु म आज,
म खुशी छु, म मुस्कुराईरहेछु।

मैले युध्द देखेको छु
मैले बुध्द पनि देखेको छु
मैले देखेको छु राम र हरामका कथाहरु
म टुलुटुलु हेरिरहेछु कृष्ण चरित्रहरु
युग युगको साक्षी भएर म
नियालीरहेछु यो धरती
आज म खुशी छु मुस्कुराईरहे छु
मेरो मुस्कानको आभाले धरती सुन्दर देखिएकी छे
म यो धरती सुन्दर देख्न चाहन्छु
मलाई मुस्कुराउन देऊ।

LEAVE A REPLY