सत्तारुढ दल नेकपाकी राष्ट्रिय सभाको सांसद शारदा शारदा भट्टले प्रधानमन्त्रीका मान्छेले धम्की दिएको गुनासो पोखेकी छिन । ओली निकटकी गौरी ओलीले सांसद शारदा भट्टलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा हस्ताक्षर नगरे जे पनि हुन सक्ने धम्की दिएको खुलासा गरेकी हुन। घरमै बसिरहेकी भट्टलाई ओलीले अहिले कुनै बहानावाजी नगर्नुस् बालुवाटार तुरुन्त पुगेर ओलीको पक्षमा हस्ताक्षर गर्नुस् भनेर दबाब दिएको जनाएकी छिन ।
सांसद भट्टको जवाफ थियो- “म कतै हस्ताक्षर गर्दिन । नेताहरुले राम्रो काम गरिरहेका छैनन् । मलाई यताउता जान त्यति सञ्चो पनि छैन । आफू कतै पनि नजाने र यो अभियानमा नलाग्ने जबाफ फर्काए पछि गौरीले राम्ररी बस्नुहोला, तपाईंलाई धेरै अप्ठेरो होला भोलिको दिनमा, मैले भन्दिएको कुरा हो, धेरै सतर्क भएर बस्नु भन्दै धम्कीपूर्ण रुपमा फोनबाट थर्काएको जनाएकी छिन । ७० वर्ष उमेर पार भएकी भट्टले नातिनी उमेरकी गौरी ओलीले निक्कै तल्लो स्तरमा उत्रिएर थर्काएको उनको गुनासो छ । भट्ट ०३४ सालदेखि पार्टीमा क्रियाशील नेतृ हुन । उनले जिल्ला, अञ्चल र अखिल नेपाल महिला संघमा पनि काम गरेकी छन् । गत माघमा राष्ट्रिय सभाको सदस्य छानिएकी र मनमोहन अधिकारीको मार्क्सवादी समूहबाट संगठित भएकी हुन् ।